काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताएकी छिन् । मङ्गलबार तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘सांस्कृतिक विविधता नेपालको गौरव हो। यही विविधता नै हाम्रो ठूलो शक्ति हो’, टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भन्नु भयो, ‘तमु ल्होसारजस्ता पर्वले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन्।’
सम्बोधनको सुरुमा सम्बोधन गर्नुहुँदै उहाँले भन्नु भयो, ‘यहाँहरू सबैमा हार्दिक नमस्कार। छ्या जलो। तमु गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको यस पावन अवसरमा म यहाँ उपस्थित हुनुभएका र देशविदेशमा छरिएर रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु। सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछु।’
प्रधानमन्त्री कार्कीको सम्बोधन (पूर्णपाठ)
कार्यक्रमका अध्यक्षज्यू,
विशिष्ट अतिथिगण,
तथा यहाँ उपस्थित सबै दाजुभाइ तथा दिदीबहिनीहरू,
यहाँहरू सबैमा हार्दिक नमस्कार। छ्या जलो।
तमु गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको यस पावन अवसरमा म यहाँ उपस्थित हुनु भएका र देशविदेशमा छरिएर रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु। सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछु।
सांस्कृतिक विविधता नेपालको गौरव हो। यही विविधता नै हाम्रो ठुलो शक्ति पनि हो।
तमु ल्होसारजस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन्। यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउँछन्।
आज हामी घोडा वर्गको नयाँ वर्ष मनाउँदै छौँ। घोडा शक्ति, साहस, गति र कर्मठपनाको प्रतीक हो। यही ऊर्जा र सकारात्मक भावनालाई आत्मसात् गर्दै हामी सबैले देशको समुन्नति र समृद्धिको यात्रामा तीव्र वेगमा अघि बढ्नु पर्ने छ।
नेपाली समाजको अर्को सुन्दर पक्ष भनेको जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि हामी एकआपसमा हातेमालो गर्दै समाधान खोज्न सक्छौँ भन्ने विश्वास हो।
मतभेद भए पनि संवाद, सहमति र शान्तिपूर्ण मार्ग रोज्नु नै हाम्रो लोकतान्त्रिक संस्कार हो। हामीभित्र पीडा र असन्तुष्टिको हुन्डरी मात्र छैन, प्रेम, करुणा र आत्मीयताको गहिरो तलाउ पनि छ।
पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएका छौँ। त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै हो।
आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको छ। राजनीतिक दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएका छन्।
यसबाट निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुङ्गा पार गरेका छौँ। यसका लागि राजनीतिक दलको नेतृत्व तथा युवाहरूले देखाउनुभएको सुझबुझका लागि आभार व्यक्त गर्दछु।
साथै, यस प्रक्रियामा सामेल सम्बद्ध सबै पक्षलाई हार्दिक धन्यवाद पनि ज्ञापन गर्दछु।
आगामी प्रक्रियामा पनि यस्तै उत्साहका साथ सबै पक्ष सामेल हुने विश्वास सरकारको रहेको छ।
सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी राखेको छैन। यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको साथ, सहयोग र सक्रिय सहभागिता अत्यन्तै आवश्यक छ।
मुलुकले अब थप अस्थिरता होइन, स्थायित्व र विश्वास चाहेको छ। हामी सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प छैन।
अन्त्यमा, तमु ल्होसारको यस शुभ अवसरमा फेरि एकपटक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै, यस पर्वले हामी सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गर्दछु।
छ्या जलो। धन्यवाद।
२०८२ पुस १५
टुँडिखेल, काठमाडौँ
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com