काठमाडौं । स्वीट्जरल्याण्डको राजधानी बर्नबाट आधा घण्टाको यात्रामा पुगिने सानो शहरका बासिन्दा फिलिप नेपाल भनेपछि हुरुक्कै हुनुहुन्छ । त्यसैले उहाँ बेला बेलामा नेपाल आइरहनुहुन्छ । करिब १७ वर्षअघि पहिलो पटक उहाँ नेपाल आउनुभएको थियो । र, त्यो अवसर थियो अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन । शरिरभर जताततै ट्याटु रहेका फिलिप पेशाले ट्याटु आर्टिस्ट हुनुहुन्छ । र, पेशागत सिकाइ र सम्बन्ध बिस्तारको सिलसिलामा उहाँले पहिलो पटक नेपालसँग परिचित हुने मौका पाउनुभयो । आउने बित्तिकै नेपालको प्राकृतिक सौन्दर्य, आतिथ्य, यहाँका मानिसहरु, विविधतापूर्ण संस्कृति आदिबाट सम्मोहित नभइरहन सक्नुभएन । याक एण्ड यति होटेलमा भएको उक्त सम्मेलन ताका एक अमेरिकी साथीले उहाँलाई काठमाडौं शहर घुमाए । पहिलो पटकनै उहाँहरुले पशुपतिनाथ लगायत धार्मिक क्षेत्रको भ्रमण गर्नुभयो । उहाँले भन्नुभयो, 'पहिलो नजरमै नेपालप्रति माया बस्यो ।' नेपालका मठ मन्दिर मूर्ति र देवालयहरुले उहाँलाई सम्मोहित गरे । खासगरी मानिसहरुमा देखिएको आध्यात्मिकताको भावनाले उहाँलाई छोयो । मनमा गहिरो छाप बस्यो । अन्य पक्षहरुसँगै सनातन संस्कृतिप्रतिको आस्थाले फिलिपलाई पनि आकर्षित गर्यो । फलतः स्वीस नागरिक फिलिपले सनातन संस्कृति साधक बन्ने बाटो रोज्नुभयो ।
सानैदेखि अन्तर्मुखी स्वभावका फिलिप बिस्तारै आधुनिक भनिने कोलाहलपूर्ण जीवनबाट दिक्क हुन थाल्नुभयो । उहाँ शान्ति, सत्मार्ग र साधनाको खोजीमा रहनथाल्नुभयो । 'म धेरै कुराहरुमा मौन बस्ने र खाली अब्जर्भर मात्र बन्न थालेँ, टीन एजरका रुपमा झनै उहाँलाई जीवनप्रति बितृष्णा बढ्दै गयो । भौतिक जीवनप्रतिको आस्था भत्किदै गयो । तर, जाने कहाँ हो ज्ञात थिएन, 'फिलिपले सुनाउनुभयो ।
आफ्ना हजुरबुबाले आत्महत्या गरेको घटनाले पनि फिलिप बिक्षिप्त बन्नुभयो । 'जीवनभर तपाईँ दुःख गर्नुहुन्छ, अनेक तिकडम गरेर धन सम्पत्ति जोड्नुहुन्छ तर अन्त्यमा नैराश्यको अवस्थामा पुग्नुहुन्छ । मलाई लाग्यो जीवन यस्तो होइन, जीवनले सही अर्थमा काम गर्ने भनेको यसरी होइन, त्यसपछि बिस्तारै आध्यात्मिक पुस्तकहरु पढ्न थालेँ, ' जीवनको गुढ रहस्य र वास्तविक अर्थ खोजीमा उहाँ लाग्नुभयो । यस्तैमा एउटा पुस्तकले उहाँको जीवन दृष्टि र दृष्टिकोण बदलियो । त्यो थियो ए.सी. भक्तिवेदान्त स्वामीको श्रीमद्भगवतगीता ।
जर्मन भाषामा अनुवाद गरिएको उक्त पुस्तकले अन्तर्चक्षु खुलेको महसूश गर्नुभयो फिलिपले । त्यही पुस्तककै माध्यमबाट उहाँले जुरीकमा एउट मन्दिर रहेको थाहा पाउनुभयो । १९ वर्षका फिलिप उक्त मन्दिर पुग्नुभयो । दर्शन गर्नुभयो केही समय बिताउनुभयो र जब मन्दिरबाट घर फर्कदै हुनुहुन्थ्यो उहाँलाई लाग्यो मैले मेरो मुटु छोडेर जाँदैछु । एकदमै भावेग हुनुभयो । त्यसको अर्थ थियो, मन्दिरप्रति उहाँको एक किसिमको आत्मिक सम्बन्ध । एकपटक अन्तरआत्माबाट सम्बन्ध जोडिएको अनुभूति भएपछि फिलिप उक्त मन्दिरमा पटक पटक जानुभयो एक वर्षभित्र । र, जब आफ्नो डिग्री सक्नुभयो अनि उक्त मन्दिरबाट भारत तीर्थयात्रामा हिडेका एक जोगीसँग उहाँ पनि साथ लाग्नुभयो तीन महिनाका लागि । भारतका प्रमुख तीर्थस्थलहरु वृन्दावन, मायापुर, अयोध्यादेखि धेरै ठाउँमा पुग्नुभयो । र, त्यसले त झनै सनातन धर्म र आध्यात्मिकतातिरको आकर्षणलाई बढायो । र, तीर्थयात्राबाट स्वदेश फर्किएपछि जीवनका भौतिक पक्ष त्यागेर केवल केही कपडा र अत्यावश्यक चीजसहित त्यही मन्दिरमा बस्न थाल्नुभयो । अर्थात्, जोगी बनेर करिब ७ वर्ष बिताउनुभयो ।
सन् १९७८ को डिसेम्बरमा जन्मिनुभएका फिलिपले त्यो सात वर्ष जीवनको सबैभन्दा महत्वपूर्ण समय भएको बताउँदै त्यसले आफूलाई भगवत भक्तिमा लीन हुन पर्याप्त अवसर प्रदान गरेको उल्लेख गर्नुभयो । प्रत्येक मिनेट म भगवानलाई दिन सक्थेँ । त्यति मात्र होइन, त्यो बसाइले जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिएको उहाँको दाबी छ । मांसहारी मात्र होइन लागूऔषधको दुर्व्यसनमा समेत लाग्नुभएका फिलिप ती दुबै चीजबाट त्यसयता मुक्त हुनुभएको छ । भन्नुहुन्छ म प्रभुपथमा लागेँ । आफूले आफूलाई चिन्ने एकदमै ठूलो समय र अवसर पाएँ । भगवान कृष्णलाई चिन्ने अवसर पाएँ । त्यही बसाइका भोगाइ र सिकाइहरु अहिलेसम्म मेरो मन मुटुमा प्रतिध्वनित भैरहन्छन् । अनन्त प्रेम बसेको छ भगवान कृष्णसँग मेरो ।
उहाँ भन्नुहुन्छ, 'हाम्रा लागि जीवनको महामन्त्र भनेको हरेकृष्ण हरेकृष्ण, हरेकृष्ण हरेहरे, हरेराम हरेराम, रामराम हरेहरे हो । कलियुगको धर्म भनेको भगवानको पवित्र नाम उच्चारण गर्नु हो । भगवानको नामको सही अर्थ बाँच्नु हो । र हामी धर्मको नाममा विधिमा र बाहिरी कुराहरुमा भुल्यौ भने त्यो सही हुँदैन । त्यसले मानिसहरुका धर्म संस्कृतिप्रति विकर्षण बढाउँछ । धर्म भनेको धारण गर्ने चीज हो । बाहिरी आवरणमा वा विधिमा होइन भित्री रुपमा जीवनबोध आवश्यक छ । भगवानले पनि त्यही भन्नुहुन्छ ।'
हिजो मंसिर २ गते बुधबार बिहानीको समयमा गुह्येश्वरी मन्दिर नजिकको भगवानको मुर्तिमा फूलमाला नरिवल अबिर आदि चढाउँदै केही मन्त्रोच्चारणसहित पूजा आजा गर्नमा व्यस्त फिलिपसँग म नबोलिरहन सकिन । सामान्य भलाकुसारी पछि उहाँ धिप्रीसँग संवाद गर्न तयार हुनुभयो । र, यो संक्षिप्त भिडियो संवाद बनेको छ । प्रस्तुत छ, उक्त भिडियो संवादको सम्पादित अंश:
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com