Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आगामी वर्षको पात्रो आउँदो फागुन २ गतेदेखि बजारमा आउने

आगामी वर्षको पात्रो आउँदो फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं।  आगामी वर्ष अर्थात् वि.सं २०८३ को पात्रो (पञ्चांग) फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि विसं २०८३ को पञ्चांग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो ।

वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी तथा विभिन्न समुदायका विज्ञ, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक संघ संस्थाका प्रतिनिधिबीच घनिभूत छलफल गरी पंचांग निर्माण गरिएको समितिले जनाएको छ । 

छलफलपछि विसं २०८२ मा प्रकाशन भएका १८ वटा पात्रोलाई प्रकाशनको स्वीकृति दिने निर्णय समितिले गरेको छ । प्रकाशनका लागि सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुंगेल सूर्य, लोकराज पौडेलको आकाशदर्शन, शशीधर जोशीको बगलामुखी, दामोदर अँठोला जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ, नारायणप्रसाद नेपालको गौरीशङ्कर, केशवराज जोशीको भृगु अंगिरा, खगेन्द्रप्रसाद अधिकारीको कश्यप, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र नारायणप्रसाद निरौलाको आर्यावर्त पञ्चांग गरी १८ वटा पुराना पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको समितिले जनाएको छ । 

विसं २०८१ सम्म १४ वटा पञ्चांग प्रकाशन हुँदै आएकामा २०८२ मा चार नयाँ पात्रोले प्रकाशनको स्वीकृति पाएका थिए । यस वर्षदेखि स्वीकृति दिइएका चार पात्रोलाई दुई वर्षे परीक्षण काल राखेर स्वीकृति दिइएको समितिले जनाएको छ ।  विगत वर्षमा माघ तेस्रो साता नै अर्को वर्षको पात्रो बजारमा आउने गरेको थियो । यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ गरेका कारण पात्रो प्रकाशनका लागि स्वीकृति दिन पनि करिब १० दिन ढिलाइ भएको हो ।

मन्त्रालय अन्तर्गतको समितिलाई पञ्चांग (पात्रो), भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको स्वीकृति, चाडबाड एवं तिथिमितिको निर्णय र धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने काम गठन आदेश २०७७ ले दिएको छ । सरकारले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो । धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने गरी समितिको छुट्टै विधेयक नै मस्यौदा गर्नुपर्ने माग पनि यस क्षेत्रका अभियानकर्मीबाट हुँदै आएपनि यससम्बन्धमा केही सुनुवाई भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार