Nov 19 2026 | २०८३, मंसिर ३ गते

Nov 19 2026 | २०८३, मंसिर ३ गते

Follow us

विश्वमेध महायज्ञ सफल भयो, नेपालीहरुप्रति आभार व्यक्त गर्दछु

विश्वमेध महायज्ञ सफल भयो, नेपालीहरुप्रति आभार व्यक्त गर्दछु

काठमाडौं । परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजले विश्वमै पहिलोपटक आयोजना गरिएको विश्वमेध महायज्ञ सफल भएको भन्दै नेपालीहरुप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले यस्तो दुर्लभ महायज्ञको सफल आयोजन गरेर नेपालले ठूलो पुण्य प्राप्त गरेको पनि बताउनुभयो । महायज्ञ आयोजनाको सिलसिलामा गएको डिसेम्बर भारतबाट नेपाल आउनुभएका महाराजले स्वेदश फर्कनुअघि गएराती धिप्री डटकमसँग संक्षिप्त संवाद गर्दै भन्नुभयो, नेपालले विश्वमेध महायज्ञ सफलतापूर्वक आयोजना गर्यो, यसमा सबै सहभागीहरुले आफ्नो संकल्प र सामर्थ्य अनुरुप तन, मन र धनले सहयोग गरे त्यसका लागि म सबैप्रति आभारी छु । महायज्ञको लाभले नेपालका आगामी दिनहरु राम्रो हुँदै जाने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । यसले नेपालको हरक्षेत्रमा उन्नति प्रगति गर्दै शान्ति र समृद्धि ल्याउन मद्दत पुर्याउने दाबी उहाँले गर्नुभयो ।

महाराजजीले भन्नुभयो, ‘अन्य विविध प्रकारका यज्ञहरु भैरहेपनि विश्वमेध महायज्ञ भने कहीकतै नभएको र यो अतिनै दुलर्भ र कठिन पनि भएकाले सबैसँग विचार विमर्शपछि पशुपतिनाथ मन्दिरको काखमा यो वर्ष गर्ने निधो गरिएको थियो । र, हामीले सफलतापूर्वक सम्पन्न गर्यौं । यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’ खासगरी प्युठानको स्वर्गद्वारी आश्रमका पीठाधीश डा. स्वामी रुद्रानन्द ब्रह्मचारी (ध्रुबश्री), विक्रम पाण्डे आदिको सहयोग उहाँले स्मरण गर्नुभयो ।

महायज्ञको समापनमा पनि महाराजजीले यही विषय उल्लेख गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘‘विश्वमै भाग्यशाली मुलुक नेपाल हो किनकि विश्वमेध यज्ञ अहिलेसम्म अन्त कहीं भएको छैन । म भारतमा बस्छु जो आफैंमा पुण्यभूमि हो तर विश्वमेध यज्ञ आयोजनाको श्रेय नेपाललाई नै प्राप्त भयो ।’ आगम परम्पराभित्र रही पहिलोपटक नेपालको काठमाडौंमा विश्वमेध महायज्ञ सम्पन्न भएको भन्दै महाराजजीले भन्नुभएको थियो, ‘विना कुनै विघ्न महायज्ञ समापन भएको छ । यसमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।’

सत्ययुगमा भगवान दतात्रेयले गरेको विश्वमेध महायज्ञमा परशुराम, बशिष्ठ, दुर्वासा आदि सहभागी भएको बताउँदै उहाँले कलियुगमा भने नेपालमै पहिलोपटक सफल आयोजना गरेर नेपालले पुण्य कमाएको बताउनुभयो ।

नेपालमा शान्ति, समृद्धि र जनकल्याणको पावन उद्देश्यले आयोजित उक्त महायज्ञ परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजीको सत्संकल्पमा २०८२ माघ २३ गते देखि आज फागुन ४ गते सम्म पवित्र पाशुपत क्षेत्र अन्तर्गत वनकालीस्थित वेद विद्याश्रमको प्राङ्गणमा आयोजना गरिएको थियो ।  

आगम मार्ग (विद्या) र ग्रन्थबारे भारतको काशी लगायत विभिन्न स्थानमा विद्धत गोष्ठीका प्रवचक महाराजजीले भन्नुभयो, ‘आगमका विद्धानहरुको कमी हूँदै गएको छ । छैनन् नै भनेपनि हुन्छ । साधनाको पाटोमा त झन् छदैछैनन् भने पनि हुन्छ । भारतमा र नेपालमा पनि यस्तै छ ।’

नेपाल तथा तिब्बतमा समेत ज्ञान प्राप्त गनुृभएका महाराजजीले गत वर्ष नै महायज्ञ गर्ने तयारी भएपनि विविध कारणले धकेलिएको भन्दै महाराजजीले यो वर्ष सबै साधक लगायतको साथ सहयोगले नेपालजस्तो पवित्र पुण्यभूमिमा महायज्ञ आयोजना गर्न सम्भव भएको बताउनुभयो । यो पटकको नेपाल भ्रमण पूरा गरी महाराजजी आज बेलुकी भारत प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार