Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आज लाग्दैछ खण्डग्रास चन्द्रग्रहण

आज लाग्दैछ खण्डग्रास चन्द्रग्रहण

काठमाडौं । आज मङ्गलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ। बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ। नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ।

मंगलबार साँझ  ग्रहण लागेको अवस्थामा नै चन्द्रमा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो। काठमाडौँमा साँझ ६ः ४ बजे ग्रहणसहित चन्द्रमा उदाउने छ। चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाँले ढाकिएको अवस्थामा देखिने ज्योतिषहरु बताउँछन्। 

यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ। यो चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन्। सूर्यग्रहण जस्तो चन्द्र ग्रहणबाट आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट चन्द्रग्रहण हेर्न सकिने छ। 

पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो। जब पृथ्वीको छायाँमा चन्द्रमा पर्छ, तब हामी चन्द्रग्रहण लागेको देख्छौँ। त्यसैगरी चन्द्रमाको छायाँ जब पृथ्वीमा पर्छ, तब सूर्यग्रहण लागेको देखिन्छ। यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक ग्रहण देखिन लागेको हो। यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो। चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ।

चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन्। तर, सूर्यग्रहणमा भने पृथ्वीका केही मानिसले मात्र ग्रहणको अनुभव गर्छन्। धेरै मानिसले ग्रहण लागेको देख्न नै पाउँदैनन्। 

वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन। 

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (९ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्हरु बताउँदछन् । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ ।

मङ्गलबार बिहान ९ः०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र आतुरबाहेकले भोजन गर्नु नहुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार