काठमाडौं । बृहत् पाशुपत पदयात्रा २०८२ का सङ्कल्पकर्ता स्वामी रमणानन्द गिरिले पदयात्रा सम्बन्धी पञ्चसूत्रीय सङ्कल्प पत्र जारी गर्नुभएको छ । शङ्कराचार्यमठ पशुपतिमा हिजो आयोजित पदयात्रा सम्बम्धी विमर्श सभामा सभाध्यक्ष स्वामी रमणानन्द गिरिले प्रस्तावित पाँचसूत्रीय सङ्कल्पपत्र बारे जानकारी गराउनुभएको हो ।
प्रस्तावित पाँचसूत्रीय सङ्कल्पपत्र
‘बृहत् पाशुपत पदयात्रा तथा पशुपतिघोषणा पत्र
राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ र जगज्जननी गुह्यकाली युगलरूपमा विराजित पवित्र पाशुपतक्षेत्र सम्पूर्ण ज्योतिर्लिङ्गहरूको शिरोभाग र आध्यात्मिकताको सहस्रारस्थानको रूपमा वैदिक सनातन धर्मावलम्बीका लागि सबैभन्दा पवित्र तीर्थक्षेत्र रहेको तथा शिवको जिह्वाबाट अमृतद्रवको रूपमा प्रकट भएकी वाग्वती ९वाग्मती० को महिमा भागीरथीगङ्गाभन्दा पनि सय गुणा बढी रहेको पौराणिक तथ्यलाई मनन गर्दै पाशुपत क्षेत्रलाई विगतकै भव्यतम पौराणिक स्वरूपमा संरक्षित गर्न राज्य र जनस्तरमा विविध अभियान सञ्चालन गर्ने सङ्कल्पका साथ प्रस्तुत पशुपति घोषणापत्र पारित गर्दछौँ ।
प्रस्ताव नं. १-क्षमायाचना
वाग्वतीलाई मलीन ९प्रदूषित० बनाई शिवजीलाई नित्य रुद्राभिषेक गर्न नसक्ने बनाउने र पाशुपत क्षेत्रलाई दलीय गुटबन्दीको शिकार बनाउने जस्ता कुकृत्यहरूले गर्दा समग्र राष्ट्रलाई शिवापराध लागी राष्ट्रमा परस्पर विद्वेष, हिंसा र असहिष्णुता सँगै राष्ट्र(विप्लवको खतरा बढिरहेकाले यसको क्षमापनका लागि सबै मिली राष्ट्रदेवसँग क्षमायाचना गर्ने ।
प्रस्ताव नं. २-राज्यलाई खबरदारी
पाशुपतक्षेत्रलाई फोहोरजन्य मानवीय प्रदूषण र राजनैतिक प्रदूषणबाट मुक्त राखी विश्वभरिकै वैदिक तीर्थाटनको केन्द्रविन्दु बनाउन विविध योजना कार्यान्वयन गर्नका लागि राज्यलाई खवरदारी र पृष्ठपोषण प्रदान गर्ने ।
प्रस्ताव नं. ३-आध्यात्मिक समन्वयको सन्देश
शिवको किराँतीरूप किराँतेश्वरदेखि वर्षमा एकपटक अवलोकितेश्वरका रूपमा बुद्धको मुकुट चढाउने प्रचलनसमेत यही पाशुपत क्षेत्रमा मात्र रहेकाले विश्वभरिका धार्मिक द्वन्द्वरत राष्ट्र र सङ्गठनहरुलाई आध्यात्मिक समन्वयको सन्देश दिने गुरुराष्ट्रको रूपमा नेपाललाई नेतृत्व दिलाउन पहल गर्ने ।
प्रस्ताव नं.४- व्यवस्थाको अनुगमन
पाशुपत क्षेत्रमा स्थापित विविध मन्दिर र देवविग्रहहरूको नित्यपूजा, श्रीयुतशिवको पूजामा शुद्ध पञ्चामृत र जलको प्रयोग एवम् तपस्वी साधुसन्तहरूको साधनात्मक निवासको समुचित व्यवस्था गर्न प्रेरणा दिने उद्देश्यले अधिकार प्राप्त संस्थाहरूसँग अन्तःसंवाद तथा अनुगमन गर्ने ।
प्रस्ताव नं. ५-अभियान सञ्चालन
चौसट्ठी सिद्धलिङ्ग दर्शनसहितको पूर्ण पाशुपतक्षेत्र परिक्रमा र वाग्मती परिक्रमा लगायत यस क्षेत्रका सिद्ध पीठहरूको दर्शन-यात्राका साथ जनजनमा आस्था वृद्धि गर्ने उद्देश्यले साधुसन्तहरूको अगुवाइमा पदयात्रा, रथयात्रा, महोत्सव आदि विविध अभियान सञ्चालन गर्ने ।
कार्यक्रमका सभाध्यक्ष स्वामी गिरिले समस्त ज्योतिर्लिङ्गका शिरोभाग तथा महाज्योतिर्लिङ्ग भगवान् श्रीपशुपतिनाथलाई राष्ट्रदेवका रूपमा पाउनु हामी नेपालीको अहोभाग्य हो भने सोही पशुपतिक्षेत्रलाई राजनीतिक नेतृत्व र पशुपतिको रूद्राभिषेकका लागि शिवजीको जिह्वाबाट अमृतद्रवका रूपमा निस्किएकी वाग्वती (वाग्मती) नदीलाई मानवीय गतिविधिबाट प्रदूषित बनाउनु हामी नेपालीको अक्षम्य अपराध हो भन्ने हृदयङ्गम गर्दै शिवापराध क्षमापनका लागि यही चैत्र १६ गते (आदिलिङ्ग कुशेश्वर पूजन) देखि ६४ सिद्धलिङ्गको दर्शन तथा ‘पाशुपत-पदयात्रा’ आयोजना गर्न लागिएको बताउनुभयो ।
२०५० को दशकको प्रारम्भ देखि वाग्मति प्रदूषित भएको र त्यही प्रदूषित जलले समेत पशुपतिको जलाभिषेक गरिएकाले नेपालीलाई शिवापराध लागेको अनि शिव शिव रूष्ट भएकाले दरवार हत्याकाण्ड, राजनीतिक खिचातानी, हत्या( हिंसा, आपसी वैमनस्य, बेमेल, विद्वेष, प्राकृतिक प्रकोप (बाढी, पहिरो, भूकम्प, कोरोना आदि) जस्ता समस्याले राष्ट्र आक्रान्त भएको हुन सक्ने साधु अन्तस्स्तलमा आभास तथा अनुभव हुनगएकाले रूद्रस्वरूप भगवान् पशुपतिनाथ समक्ष क्षमायाचना गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको पाशुपत-पदयात्रा तथा चतुस्षष्ठी ज्योतिर्लिङ्गको दर्शनको आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रकै अपराधले गर्दा देश र देशवासीले भोग्नु परेका दैवी विपत्ति तथा प्राकृतिक प्रकोप एवम् राजनीतिक विषम परिस्थितिको उपशम (शान्ति) का लागि राज्य र जनस्तरबाट क्षमायाचना (माफी(प्रार्थना) गर्नु अनिवार्य भएकाले यस महा(अभियानमा तैँले वा उसले आयोजना गरेको भन्ने नठानीकन सबै धार्मिक संघ(संस्था, राज्यका सम्बन्धित निकाय र समस्त नेपाली सहभागी हुन पर्ने धारणा स्वामी रमणानन्द गिरीले राख्नुभयो ।
विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाको प्रतिनिधिमूलक सहभागिता रहेको उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, आध्यात्मिक अभियन्ता डा. वासुदेव कृष्णशास्त्री, अनुसन्धाता सूर्य माखिम, शोधार्थी श्यामकृष्ण सुवेदी, हिमवत्आर्ष प्रज्ञाकी अध्यक्ष कल्पना घिमिरे, नेपाल वेदविद्याश्रमका पूर्व प्रधानाध्यापक विष्णुप्रसाद पोखरेल, वाल्मीकि विद्यापीठका उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरे, महेश-छात्र परिषद्का प्रतिनिधि पं. राममणि कुइँकेल, नाद-संगीत,पशुपतिकी प्रशिक्षिका सरिता मिश्र, आध्यामिक साधिका अलका लम्साल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा श्रीपशुपति क्षेत्रविकास कोषका सदस्य सचिव प्रकाशमणि शर्माद्वारा सन्तको सङ्कल्पमा आयोजना हुन लागेको राष्ट्रिय महोत्सवरूप पाशुपत-परिक्रमालाई भव्यताका साथ सम्पन्न गर्नका लागि पशुपति क्षेत्र विकास कोषले सहयात्री तथा आयोजकका रूपमा यथाशक्य सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
योगी नरहरिनाथ तथा बालखिलेश्वर जस्ता सन्त-महात्माको उदाहरण पेस गर्दै सदस्य-सचिव शर्माद्वारा सन्तद्वारा सत्सङ्कल्पित ‘बृहत् पाशुपत पदयात्रा’ राष्ट्रका लागि महोत्सव हुँदाहुँदै संसारमै दैवी शक्ति उजागर गर्न, तत्तत् ज्योतिर्लिङ्ग, मठ मन्दिरको संरक्षण र जीर्णोद्वार गर्न, सनातन धर्म संस्कृतिप्रति नेपाली जनमानसमा जागरण ल्याउन सफल हुने धारणा राखिएको थियो ।
त्रिभूवन विश्वविद्यालयबाट ‘स्वदेशीय प्रज्ञाको अनुसन्धान’ विषयमा विद्यावारिधि-अनुसन्धानरत सूर्य माखिम लिम्बूबाट विचार-विमर्शका क्रममा हाल नेपालमा तामसिक कार्यक्रममा जनताको भिड हुने तर यस किसिमका सात्त्विक ज्ञान समारोहमा जनमानसको चासो नरहने स्थितिप्रति चिन्ता प्रकट गर्दै ६४ ज्योर्तिलिङ्गको दर्शनसहितको ‘बृहत् पाशुपत पदयात्रा’ ले सनातन प्रज्ञालाई उजागर गर्न सफल रहोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । साथै पशुपति ऊर्जालाई धार्मिक दृष्टिले मात्र नभई राजनीतिक, सांस्कृतिक, प्राज्ञिक दृष्टिले समेत व्याख्या गर्नु आजको आवश्यकता हो भन्ने विचार माखिमद्वारा व्यक्त भएको थियो ।
हिमवत्आर्ष प्रज्ञाकी अध्यक्ष तथा अध्यात्म-साधिका कल्पना घिमिरेद्वारा स्वामीज्यूको दिव्य सङ्कल्पमा पाशुपत क्षेत्र तथा वाग्मती नदीको पवित्रता तथा स्वच्छताको दीर्घकालीन लक्ष्य तथा समस्त नेपालीलाई पाशुपत क्षेत्रको महिमाबारे शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस पशुपति-परिक्रमा पशुपतिनाथको आशीर्वादले भव्यताका साथ सम्पन्न हुने विश्वास प्रकट गर्दै ‘पाशुपत पदयात्रा’ को सहजताका लागि दक्षिणास्वरूप रू।१,५०,००० (एकलाख पचास हजार) समर्पण गरिएको थियो ।
‘बृहत् पाशुपत परिक्रमा’ मूल आयोजक समितिका सचिव श्री श्यामकृष्ण सुवेदीबाट चतुषष्टी ज्योतिर्लिङ्गको शास्त्रीय महत्त्व र स्थलगत जानकारी एवम् अनुमानित ४० दिवसीय पैदल यात्राका सम्बन्धमा प्रकाश पारिएको थियो । सुवेदीका अनुसार नेमुनिको मार्गनिर्देशमा विरूपाक्षले आदिलिङ्ग कुशेश्वरबाट प्रारम्भ गरी ६४ सिद्ध लिङ्गहरूको दर्शन गरेको पौराणिक क्रम अनुसार नै यो पाशुपत परिक्रमा तथा सिद्धलिङ्ग दर्शन-यात्रा सम्पन्न हुने छ ।
‘
बृहत् पाशुपत पदयात्राका क्रममा दर्शन र पूजन गरिने ६४ सिद्धज्योतिर्लिङ्गहरू:
१। कुशेश्वर महादेव, दुम्जा, सिन्धुली
२। भीमेश्वर महादेव, दोलखा
३। काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक
४। कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक
५। स्फटिकेश्वर महादेव, फटकशिला, सिन्धुपाल्चोक
६। चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
७। धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
८। विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक
९। इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक
१०। भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक
११। गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर
१२। तिलेश्वर महादेव, लेले, ललितपुर
१३। चम्पकेश्वर महादेव, लेले, ललितपुर
१४। रामेश्वर महादेव, टीकाभैरव, ललितपुर
१५। कालेश्वर महादेव, गोटीखेल, ललितपुर
१६। नटारम्भेश्वर महादेव, ठिङ्गन, मकवानपुर
१७। उद्दालकेश्वर महादेव, छैमले, काठमाडौँ
१८। गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौँ
१९। चम्पेश्वर महादेव, विसखेल, मकवानपुर
२०। उन्मत्तेश्वर महादेव, टिष्टुङ, मकवानपुर
२१। नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर
२२। गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर
२३। पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर
२४। कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर
२५। असितेश्वर महादेव, अम्लेश्वर, धादिङ
२६। भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट
२७। ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट
२८। कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट
२९। शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौँ
३०। काकेश्वर महादेव, गागलफेदी, काठमाडौँ
३१। मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौँ
३२। योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौँ
३३। नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौँ
३४। ज्योतिर्लिङ्गेश्वर, साँखु, काठमाडौँ
३५। रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर
३६। वागीश्वर महादेव, वागीश्वर, भक्तपुर
३७। कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर
३८। वाल्मीकेश्वर महादेव, भक्तपुर
३९। मङ्गलेश्वर महादेव, उलाछें, भक्तपुर
४०। विमलेश्वर महादेव सिपाडोल, भक्तपुर
४१। अनन्तलिङ्गेश्वर महादेव, भक्तपुर
४२। विश्वरूपेश्वर महादेव, भक्तपुर
४३। सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर
४४। गोभराटेश्वर महादेव, लुभु, ललितपुर
४५। भृङ्गेश्वर महादेव, सुनाकोठी ललितपुर
४६। त्रिलिङ्गेश्वर महादेव, पाटन, ललितपुर
४७। कुपितेश्वर महादेव, पाटन, ललितपुर
४८। सर्वेश्वर महादेव, पाटन, ललितपुर
४९। गोलोकेश्वर महादेव, नैकाप, काठमाडौँ
५०। चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौँ
५१। यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौँ
५२। चण्डिकेश्वर महादेव, टोखा, काठमाडौँ
५३। धर्मेश्वर महादेव, टोखा, काठमाडौँ
५४। गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौँ
५५। कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौँ
५६। वाणेश्वर महादेव, बानेश्वर, काठमाडौँ
५७। ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौँ
५८। पर्वतेश्वर महादेव, पशुपति, काठमाडौँ
५९। जलेश्वर महादेव, पशुपति, काठमाडौँ
६०। गुह्येश्वर महादेव, गुल्येश्वरी, काठमाडौँ
६१। किरातेश्वर महादेव, मृगस्थली, काठमाडौँ
६२। भस्मेश्वर महादेव, पशुपति, काठमाडौँ
६३। भुवनेश्वर महादेव, पशुपति, काठमाडौँ
६४। रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौँ
बृहत् पाशुपत क्षेत्र पदयात्रा
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com