काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको छ। महिनौंदेखि जारी युद्धविरामबीच आइतबार दुई देशबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानको सरकारी सञ्चार माध्यमले दुई मुलुकबचि १४ बुँदामा सहमति हुने जनाएपनि आधिकारि रुपमा यसबारे बताइएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत इरानसँगको प्रारम्भिक सम्झौताको जानकारी गराउनुभएको हो ।
इरानी अधिकारीहरूले पनि सम्झौता भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
सम्झौता सम्बन्धी समझदारीपत्र ९एमओयू०मा भने आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने बताइएको छ। यद्यपि सम्झौताका विस्तृत सर्तहरू तत्काल सार्वजनिक गरिएको छैन।
विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने हर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा प्रारम्भिक सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन्। यो सहमतिपछि सोमबार प्रारम्भिक कारोबारमै विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ।
यसअघि दुई देशबीच युद्ध अन्त्यका लागि मुख्य मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक्समा लेख्दै सम्झौतामा लेबननसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने सहमति भएको बताएका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि सोमबार रातिदेखि लेबननसहित सबै मोर्चामा युद्ध र सैन्य गतिविधि स्थायी रूपमा रोक्ने जनाएको छ। यद्यपि अमेरिका–इरान वार्तामा सहभागी नभएको बताउँदै आएको इसराइलले सम्झौताबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
ट्रम्पले विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलमार्ग शुक्रबारदेखि पुनः खुल्ने बताएका छन्। इरानले महिनौँदेखि प्रभावकारी रूपमा अवरोध गर्दै आएको उक्त मार्ग खुलाउने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउन आफूले आदेश दिएको ट्रम्पले जनाएका छन्।
सम्झौताको समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य घटेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रारम्भिक कारोबारमा करिब ४ प्रतिशतले घट्दा अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट ९डब्ल्यूटीआई० ४।६ प्रतिशतभन्दा बढीले घटेको छ। एसियाली सेयर बजारमा भने वृद्धि देखिएको छ।
इरानका उपविदेशमन्त्री कजिम गरिबाबादीले ६० दिने युद्धविराम अवधिमा थप विस्तृत सम्झौताका लागि वार्ता हुने बताएका छन्। त्यसमा इरानमाथिको प्रतिबन्ध हटाउने विषय पनि समेटिने जनाइएको छ।
रोयटर्सका अनुसार अनुसार इरानको विवादास्पद आणविक कार्यक्रमको भविष्य पनि पछिल्ला चरणको वार्तामा टुंग्याइनेछ। इरानले आणविक हतियार बनाउने उद्देश्य अस्वीकार गर्दै आएको छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा तत्कालीन राष्ट्रपति बाराक ओबामाको समयमा सन् २०१५ मा भएको बहुपक्षीय इरान आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए।
उक्त सम्झौताअन्तर्गत इरानमाथिको प्रतिबन्ध खुकुलो बनाउने सर्तमा उसले आफ्नो आणविक कार्यक्रम सीमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गर्न सहमति जनाएको थियो।
अमेरिका सम्झौताबाट बाहिरिएपछि इरानले युरेनियम प्रशोधन तीव्र बनाएको थियो। हाल इरानसँग ६० प्रतिशत प्रशोधित ४०० किलोभन्दा बढी युरेनियम रहेको अनुमान छ। यही भण्डारको व्यवस्थापन आगामी वार्ताको मुख्य विवाद बन्न सक्ने बताइएको छ।
सम्झौता घोषणा हुनुअघि रोयटर्ससँग कुरा गर्दै एक वरिष्ठ इरानी अधिकारीले प्रारम्भिक मस्यौदाअनुसार अमेरिकाले २५ अर्ब डलर बराबरको रोक्का इरानी सम्पत्ति मुक्त गर्न सक्ने बताएका थिए।
अर्कोतर्फ अमेरिकी अधिकारीहरूले अन्ततः इरानको आणविक कार्यक्रम विघटन गरिने, उच्चस्तरको संवर्धित युरेनियम नष्ट वा देशबाहिर लगिने दाबी गरेका छन्। तर इरानले भने आफ्नै देशभित्र युरेनियमलाई कमजोर बनाउने विकल्प खोजिरहेको बताइएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com