मस्कट, साउन १९ । ओमानस्थित नेपाली दूतावास मस्कटको आयोजनामा नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले 'व्यापार अन्तरक्रिया तथा सम्बन्ध स्थापना कार्यक्रम' सम्पन्न भएको छ। कार्यक्रममा नेपालबाट निर्यातयोग्य उत्पादन, नेपालमा रहेका लगानीका अवसर तथा नेपाली र ओमानी व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा नेपालबाट सहभागी उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डल, ओमानका विभिन्न व्यवसायिक प्रतिष्ठान तथा हाइपरमार्केटका प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रतिनिधि, सञ्चारकर्मी तथा ओमानस्थित नेपाली व्यवसायी गरी ७० भन्दा बढीको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नेपाली राजदूत बिशेष कुमार साहले नेपालले व्यापार तथा लगानीका सम्भावना विस्तारका लागि ओमानलाई महत्वपूर्ण साझेदारका रूपमा प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नेपालबाट पहिलोपटक उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डलको ओमान भ्रमण भएकोमा खुशी व्यक्त गर्दै नेपालमा उपलब्ध लगानीका अवसर, लगानी प्रक्रिया, संस्थागत व्यवस्था तथा ओमानी लगानीकर्ताका लागि नेपाल किन आकर्षक गन्तव्य बन्न सक्छ भन्ने विषयमा प्रस्तुति दिनुभयो।
उहाँले आफ्नो मन्तव्यको अन्त्यमा सगरमाथा आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थी तथा हिमपहिरोमा परी ज्यान गुमाएका अन्य पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो।
निर्यात व्यवसारी महासंघ नेपालका अध्यक्ष गोविन्द घिमिरेले नेपालका प्रतिस्पर्धात्मक लाभ भएका निर्यातयोग्य उत्पादनहरूको सम्भावना प्रस्तुत गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि महासंघले गरिरहेका प्रयासबारे जानकारी गराउनुभयो। त्यसैगरी नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले नेपाली हस्तकलाको मौलिकता, परम्परागत सीप तथा ओमान र अन्य खाडी मुलुकमा नेपाली हस्तकला उत्पादनको बजार सम्भावनाबारे प्रस्तुति दिनुभयो।
कार्यक्रमका अवसरमा विभिन्न नेपाली उत्पादनहरूको प्रदर्शनीसमेत गरिएको थियो। सहभागी ओमानी व्यवसायीहरूले नेपाली उत्पादनप्रति चासो देखाउँदै सम्भावित व्यापारिक साझेदारीका विषयमा छलफल गरेका थिए। नेपालबाट पुगेको व्यापारिक प्रतिनिधिमण्डलले पनि सहभागी व्यवसायीहरूसँग भावी सहकार्य र व्यावसायिक सम्बन्ध विस्तारका सम्भावनाबारे अन्तरक्रिया गरेको थियो।
कार्यक्रममा नेपाली परिकार, विशेषगरी मःमसहितको रात्रिभोजको व्यवस्था गरिएको थियो। कार्यक्रमको सञ्चालन नेपाली दूतावासकी तृतीय सचिव उषा अधिकारीले गर्नुभएको थियो।
व्यापारिक प्रतिनिधिमण्डल अगस्ट ३, २०२६ मा मस्कट पुगेको हो। प्रतिनिधिमण्डलका लागि अगस्ट ४ मा लुलु हाइपरमार्केटसँग बीटुबी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो भने अन्य प्रमुख कम्पनीहरूसँग पनि यस्तै कार्यक्रमहरू सञ्चालन गरिने दूतावासले जनाएको छ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री तथा ओमान इन्भेष्टमेन्ट अथोरिटीका पदाधिकारीसँग उच्चस्तरीय भेटघाट तथा व्यापार–लगानी सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। स्वदेश फर्किनुअघि प्रतिनिधिमण्डलले ओमानस्थित नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com