Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

हाम्रो नेपाल साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख १० हजार सहयोग

हाम्रो नेपाल साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख १० हजार सहयोग

बिर्तामोड, झापा। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १० हजार २९३ रुपैयाँ सहयोग गरेको छ।

संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमसहितको टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाका नागरिकको सहयोगार्थ उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ।

आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि महत्त्व दिँदै संस्थाले यो सहयोग जुटाएको हो । संस्थाका सञ्चालक समिति सदस्य कृष्णप्रसाद पोखरेलका अनुसार, हस्तान्तरण गरिएको कुल रकममध्ये ५० हजार रुपैयाँ संस्थाको सञ्चालक समितिको निर्णयानुसार उपलब्ध गराइएको हो । बाँकी रकम भने सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूको एक दिनको बैठक भत्ता र संस्थाका कर्मचारीहरूको व्यक्तिगत योगदानबाट संकलन गरिएको हो।

चेक ग्रहण गर्दै झापाका प्रमुख जिल्ला अधिकारी पोखरेलले यस्तो कार्यको प्रशंसा गरे । विपद्को समयमा नागरिकको उद्धार र पुनर्स्थापनाका लागि सहकारी संस्था, त्यसमा पनि सञ्चालक र कर्मचारीले व्यक्तिगत रूपमै अग्रसरता देखाएर गरेको यो सहयोग अनुकरणीय रहेको भन्दै उनले धन्यवाद व्यक्त गरे । 

जिल्ला प्रशासन कार्यालयमा भएको चेक हस्तान्तरण कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्यहरू कृष्णप्रसाद पोखरेल, भगिरथ आले, तुलसीराम गौतम तथा लेखा सुपरिवेक्षण समिति सदस्य श्रीप्रसाद न्यौपाने लगायतको उपस्थिति थियो ।

सो अवसरमा बोल्दै संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमले सहकारी भनेकै समुदायको सुखदुःखको साथी भएको बताए । "प्राकृतिक विपत्तिको यस घडीमा प्रभावित नागरिकको घाउमा मलम लगाउनु र राज्यलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो," उनले भने।

झापा, इलाम र मोरङ  जिल्लामा सेवाकेन्द्र विस्तार गरी ४३,५०० भन्दा बढी सेयर सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको हाम्रो नेपाल साकोसले यसअघि पनि कोभिड–१९ महामारी, भूकम्प र आगलागी जस्ता विपत्तिको समयमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ । वित्तीय सुशासन र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) लाई सँगसँगै अगाडि बढाइरहेको यस संस्थाले शिक्षा, स्वास्थ्य र विपन्न वर्गको उत्थानमा पनि नियमित काम गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार