Nov 19 2026 | २०८३, मंसिर ३ गते

Nov 19 2026 | २०८३, मंसिर ३ गते

Follow us

अखण्ड साकोसको १८ औं वार्षिक साधारणसभा सम्पन्न, सुशासन र वित्तीय सुधारमा प्रतिबद्धता

अखण्ड साकोसको १८ औं वार्षिक साधारणसभा सम्पन्न, सुशासन र वित्तीय सुधारमा प्रतिबद्धता

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १४, कलंकीमा अवस्थित अखण्ड बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १८ औं वार्षिक साधारणसभा सदस्यहरुको उल्लेख र सक्रिय सहभागिताबीच आज सम्पन्न गरेको छ । प्रतिकूल मौसमका बाबजूद पनि आजको साधारणसभामा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहकारी कानून तथा नियामकीय निर्देशनहरुको अधिनस्थ रही अखण्ड साकोसले समयमै र अतिथिरहित ढंगबाट साधारणसभा सम्पन्न गरेको हो । संस्थाका संस्थापक अध्यक्ष प्रमोद अधिकारी मुख्य व्यक्तित्व रहनुभएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष दामोदर लम्सालले गर्नुभएको थियो । 

सभाका मुख्य व्यक्तित्व संस्थापक अध्यक्ष अधिकारीले आफ्नो संस्थाका बारेमा सबै शेयर सदस्यहरुले जानकारी राख्नुपर्ने भन्दै समयसमयमा संस्थामा पुगेर के कस्तो काम गरिरहेको छ, लगानी र उठौती के कसरी भैरहेको छ भन्ने विषयमा जानकारी लिनुपर्ने बताउनुभयो । साथै उहाँले सहकारी सञ्चालन सदस्यहरुद्धारा नै हुने भएकाले ऋण लिएका सदस्यहरुले समयमै ब्याज र किस्ता नबुझाउँदा अन्य सदस्यहरुको बचत सुरक्षामा असर पर्ने भन्दै असल सदस्य बन्न सबैलाई सुझाउनुभयो । साथै, उहाँले अखण्ड साकोसको संस्थागत छवि उजिल्याउन सबै सदस्यहरुले आफ्नो दायित्व र भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सञ्चालक समिति र व्यवस्थापनलाई आफूले जानेबुझेको विषयमा सल्लाह सुझाव दिइरहने वचत समेत संस्थापक अध्यक्ष अधिकारीले बताउनुभयो ।

_DSC3599_11zon.jpg
undefined

सभाका सभापति एवम् संस्थाका अध्यक्ष दामोदर लम्सालले अखण्ड साकोसलाई आगामी दिनमा प्रविधिमैत्री बनाउँदै लाने बताउनुभयो । उहाँले नीति, विधि तथा नवीनतम प्रविधिहरुको प्रयोगमार्फत संस्थाको वित्तीय अवस्था तथा सुशासनलाई थप मजबूत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले लगानीको विविधिकरण र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिइने भन्दै ऋण असुलीलाई प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘सदस्यहरुको बचत सुरक्षालाई ध्यानमा राख्दै लगानी भएका ऋणहरु समयमै उठाउन विशेष रणनीति अवलम्बन गरिने भन्दै हाल भएका केही भाखा नाघेका ऋणहरु उठाउन विशेष टास्क फोर्स निर्माण गरेर अघि बढ्ने जानकारी गराउनुभयो । अध्यक्ष लम्सालले भन्नुभयो, ‘अखण्ड साकोसलाई सुरक्षित, विश्वासिलो र सदस्यमैत्री बनाउने दिशामा अझ दत्तचित्त भएर लाग्ने प्रण गर्दछु ।’

यसैगरी, उहाँले सदस्यहरुलाई निरन्तर शिक्षा र सचेतना कार्यक्रम सञ्चालन गर्ने, आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबूत पार्दै पारदर्शिता र सुशासनको परिचायन बनाउने अनि समुदायसँग विभिन्न गैरवित्तीय क्रियाकलापमार्फत हातेमालो गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

_DSC3766_11zon.jpg
undefined

२०६५ साल कार्तिक १७ गते विधिवत रुपमा स्थापित अखण्ड साकोसले ‘बचत गर्नाले भविष्य उज्ज्वल हुन्छ’ भन्ने आदर्श वाक्यलाई सदस्यको जीवनमा व्यावहारिक परिवर्तनका लागि काम गर्दै आएको अध्यक्ष लम्सालले  बताउनुभयो । साथै उहाँले सदस्यहरुबाट प्राप्त जिज्ञासा र सुझावहरुको समेत सम्बोधन गर्नुभएको थियो ।

सभाका अन्य वक्ताहरुले भाखा नाघेको ऋण असुलीमा थप तदारुकताका साथ काम गर्नुपर्ने भन्दै सञ्चालक समिति तथा व्यवस्थापनको ध्यानाकर्षण गराउनुभएको थियो । पछिल्लो समय धेरै सहकारीहरुमा विभिन्न किसिमका समस्याहरु आइरहेको सन्दर्भमा त्यस्ता विषयहरुलाई गम्भीरताका साथ लिई अखण्ड साकोसको साख अभिवृद्धिका लागि सञ्चालक समिति र व्यवस्थापनले आफ्ना निर्दिष्ट जिम्मेवारीहरुलाई थप कुशलतापूवर्कक निर्वाह गर्नुपर्ने सुझाव सदस्यहरुको थियो । 

_DSC3662_11zon.jpg
undefined

सभाले संस्थाको गत आर्थिक वर्षका वार्षिक प्रतिवेदनहरु उपर छलफल र सदस्यहरुको राय सुझाव समेत समेटेर पारित गरेको छ । अध्यक्ष लम्सालको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक गणेश प्रसाद ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदन, कोषाध्यक्ष ईन्दिरा अधिकारी कोइरालाले प्रस्तुत गर्नुभएको प्रतिवेदन लगायत प्रतिवेदन तथा प्रस्तावहरु उपर मिहिन ढंगले छलफल गरी प्राप्त रायसल्लाह सुझावहरु समेत समेटेर ध्वनिमतका साथ पारित गरेको छ । साकोसका सचिव जनक कुमार खड्काले कार्यक्रम सञ्चालन गर्नुका साथै आर्थिक वर्ष २०८२/८३को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

यसैगरी, आजको सभामा विभिन्न सम्मान तथा पुरस्काहरु समेत प्रदान गरिएको थियो । उत्कृष्ट बालबचत सम्मान (महिला तथा पुरुष), ज्येष्ठ नागरिक बचतकर्ता सम्मान (महिला तथा पुरुष) तथा इमानदार कर्मचारी  सम्मान (लक्ष्मी माली) प्रदान गरिएको थियो भने संस्थाको विभिन्न भूमिकामा रहेर योगदान गर्नुभएका पूर्व सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारहरुलाई संस्थागत पदाधिकारी सम्मान प्रदान गरिएको थियो ।

_DSC3729_11zon.jpg
undefined

सभामा संस्थाका निवर्तमान अध्यक्ष शम्भू प्रसाद अधिकारी, सल्लाहकारहरु निमिराज घिमिरे, ईन्दिरा  रिजाल, पदम प्रसाद आचार्य, डा.प्रताप छतकुली, सदस्य एवम् कृषि विकास बैंकका उपमहानिर्देशक मिनराज पोखरेल, निवर्तमान लेखा सुपरिवेक्षण समिति संयोजक विष्णु प्रसाद रिजाल, कानूनी सल्लाहकार अधिवक्ता लोकहरी दाहाल लगायतको उपस्थिति रहेको थियो । यस्तै, संस्थाकी उपाध्यक्ष चन्द्रकला पोखरेल, कोषाध्यक्ष इन्दिरा अधिकारी कोइराला लगायत सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

करिब ३२ करोड १४ लाख बढी कुल सम्पत्ति रहेको अखण्ड साकोसमा १८ करोड ७ लाख बढी बचत रहेको छ भने करिब २० करोड रुपैयाँ ऋण लगानी रहेको छ । ४ करोड ५४ लाख बढी शेयर पुँजी रहेको छ भने करिब २५ सय शेयर सदस्य छन् । अखण्ड साकोसले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ३५ करोड ३६ लाख बढी कुल सम्पत्ति पुर्याउने लक्ष्य लिएको छ ।

_DSC3859_11zon.jpg
undefined

मुलुकको संघीय राजधानी काठमाडौंको मुख्य प्रवेशद्धार कलंकी क्षेत्र र आसपास बसोवास गर्ने विभिन्न भाषाभाषी, संस्कृति, पेशा व्यवसाय भएका व्यक्तिहरुका साथै समाजमा गन्यमान्य एवम् लब्धप्रतिष्ठित व्यक्तित्वहरुको समेत आवद्धता रहेको अखण्ड साकोसले सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालनासँगै नियामक निकायहरुद्धारा जारी निर्देशनहरुको पालना गर्दै आएको जानकारी आजको सभामा गराइएको थियो । यसैगरी, साकोसले सहकारी अभियानका अभिभावक संघहरुको मार्गनिर्देशनलाई पनि शिरोपर गर्दै आएको भन्दै आज प्रस्तुत गरिएका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अखण्ड साकोसमा दामोदर लम्सालको अध्यक्षताको ७ सदस्यीय सञ्चालक समिति, गणेश प्रसाद ढकालको संयोजकत्वको लेखा सुपरिवेक्षण समिति रहेको छ भने विविध क्षेत्रका ख्यातिप्राप्त, अनुभवी एवम् बौद्धिक व्यक्तिहरु सम्मिलित ८ सदस्यीय सल्लाहकार समूह रहेको छ । यस्तै, व्यवस्थापनतर्फ लक्ष्मी प्रसाद सेढाईंको नेतृत्वमा ७ सदस्यीय कर्मचारीहरुको समूहले सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

_DSC3628_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार