Nov 19 2026 | २०८३, मंसिर ३ गते

Nov 19 2026 | २०८३, मंसिर ३ गते

Follow us

जलवायु परिवर्तनसँग जुध्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता र सहकार्य थप गहिरो बनाउनुपर्नेमा जोड

जलवायु परिवर्तनसँग जुध्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता र सहकार्य थप गहिरो बनाउनुपर्नेमा जोड

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ले नेपाल र भुटानले संयुक्त रूपमा प्रस्ताव गरेको पर्वतीय क्षेत्र र पृथ्वीको तापक्रम वृद्धिसँगै त्यसले हिमाली क्षेत्रमा पार्ने प्रभावसम्बन्धी विषयमा सम्मेलनमा व्यापक छलफल गर्ने बाटो खोलेको छ ।

३१औँ सम्मेलनमा अबका दुई वर्षसम्म जलवायु परिवर्तन र पर्वतीय क्षेत्रसम्बन्धी संवाद आयोजना गर्ने विषयमा सहमति भएको हो । नेपालले अघि सारेको जलवायु परिवर्तन र पर्वतीय क्षेत्रसम्बन्धी एजेन्डा कोपको एजेण्डामा भने प्रवेश पाएन । तर निरन्तरको पैरवी, वार्ता र छलफलबाट थप उपलब्धि हासिल गर्न सक्ने सम्भावना भने यथावत् नै छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि अनुकूलन वित्त (एडप्टेसन फाइनान्स) को परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ।

टर्कीको अन्ताल्यामा सोमबारबाट सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा नेपाल, भुटान र किर्गिस्तानले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा जोई इन्भारोन्मेन्ट नेटवर्कसँगको सहआयोजनामा आयोजना गरेको ‘स्ट्रेन्थेनिङ माउन्टेन रिजिलेन्स थ्रु एडप्टेसन फाइनान्स’ (अनुकूलन वित्तमार्फत पर्वतीय क्षेत्रको उत्थानशीलता सुदृढीकरण) विषयक उच्चस्तरीय साइड इभेन्टलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताउनुभएको हो।

सम्बोधनका क्रममा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा आएको विनासकारी ‘हिमाली सुनामी’ ले पुर्‍याएको आर्थिक, भौतिक तथा मानवीय क्षतिको चर्चा गर्दै जलवायु परिवर्तनको प्रभावसँग जुध्न तथा पर्वतीय क्षेत्रको उत्थानशीलता सुदृढ गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता र सहकार्यलाई थप गहिरो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

विश्वको करिब एकतिहाइ जनसङ्ख्या प्रत्यक्ष रूपमा पर्वतीय पारिस्थितिक प्रणालीमा निर्भर रहेको उल्लेख गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रक्रियामा पर्वतीय क्षेत्रको उत्थानशीलताको मुद्दालाई प्राथमिकताका साथ समेट्नुपर्ने बताउनुभयो। 

उहाँले जलवायु अनुकूलनका लागि पूर्वानुमानयोग्य र सहज पहुँचयोग्य जलवायु वित्तको परिमाण तथा परिचालन बढाउनुपर्नेमा जोड दिँदै विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यलाई हासिल गर्न सकिने अवस्थामा कायम राख्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो। 

 

टर्कीको आन्ताल्यामा रहेका जलवायु तथा वातावरण विज्ञ मञ्जित ढकालले कोप–३१ को पहिलो दिनको उद्घाटन सत्रमा नेपालको प्रस्तावलाई महत्त्व दिँदै त्यससम्बन्धी छलफल आयोजना गर्ने सहमति भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार नेपालले प्रस्ताव गरेको एजेन्डामाथि सम्मेलनको अध्यक्षताले परामर्श गर्ने प्रक्रिया अघि बढाउने भएको छ । हिजो उद्घाटन सत्र सकिएको छ । अतिकम विकसित राष्ट्रहरूको समूहका अध्यक्षको प्रमुख सल्लाहकार समेत रहेका ढकालका अनुसार पर्वतीय क्षेत्रको विषय अबका वर्ष आयोजना हुने अनुसन्धान संवादमा समेत समेटिने भएको छ । नेपालले विगतका जलवायु सम्मेलनहरूमा पनि पर्वतीय क्षेत्र, हिमालको तापक्रम वृद्धि र जलवायुजन्य जोखिमका विषय उठाउँदै आएको छ । तर सम्मेलनको प्रारम्भिक छलफलमा महत्त्व पाएका विषयलाई अन्तिम निर्णय र निष्कर्षसम्म पुर्‍याउन नेपालले अपेक्षित सफलता हासिल गर्न नसकेको अनुभव छ । यस पटक उद्घाटन सत्रमै नेपालको प्रस्तावले प्राथमिकता पाउनुलाई सकारात्मक रूपमा लिन सकिने ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार