Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अमेरिकामा बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु, २३ बालिका बेपत्ता

अमेरिकामा बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु, २३ बालिका बेपत्ता

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको टेक्सासमा बाढीका कारण कम्तीमा २४ जनाको ज्यान गएको छ। ग्वाडालुपे नदीमा शुक्रबार आएको बाढीमा परी कम्तीमा २४ जनाको ज्यान गएको केर काउन्टीका सेरिफ लेरी लाइथा‌लाई उधृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।

घटनामा कम्तीमा २३ जना बालिका सम्पर्कविहीन भएका छन्। शुक्रबार सबेरै आँधीले करिब एक फिट वर्षा गराएपछि बाढी आएको थियो। ती बालिका ग्रिष्मकालीन शिविरमा थिए। जहाँ हरेक वर्ष टेक्सास राज्यभरिबाट हजारौँ बालबालिका शिविरमा सहभागी हुन आउँछन्।

अधिकारीहरूका अनुसार हन्ट, टेक्सासस्थित नदीकिनारको क्रिस्चियन शिविर क्याम्प मिस्टिकबाट २३ देखि २५ जना बालिका अझै सम्पर्कविहीन छन्।

अधिकारीहरूले कति जना हराइरहेका छन् भन्ने विवरण दिएका छैनन्। अहिलेसम्म २३७ जनाको उद्धार भइसकेको छ। खोज तथा उद्धार अभियान जारी रहेको उनीहरूले बताएका छन्।

‘केही घण्टाअघिसम्म हामीले २३७ जनालाई उद्धार वा स्थानान्तरण गरिसकेका छौँ, जसमा १६७ जना हेलिकप्टरमार्फत उद्धार गरिएका हुन्,’ पत्रकार सम्मेलनमा मेजर जनरल थोमस एम सुवेल्जरले भने, ‘मौसमले साथ दिएकाले हेलिकप्टरबाट उद्धार भइरहेको छ।’

सुवेल्जरले शनिबार उद्धार शिविरहरूको व्यवस्थापनमा सहयोग गर्न जनशक्ति खटाइने जानकारी दिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सासको मध्य क्षेत्रमा आएको बाढीलाई ‘भयानक’ भन्दै त्यसपछि संघीय सहयोगको प्रतिबद्धता जनाएका छन्।

‘यो निकै भयानक हो। बाढी? यो त निकै स्तब्ध पार्ने खालको छ। अहिले पनि कति मानिसहरू प्रभावित छन् भन्ने स्पष्ट छैन, तर यस्तो देखिन्छ कि केही युवा मानिसहरूले ज्यान गुमाएका छन्,’ ट्रम्पले एयर फोर्स वनबाट न्युजर्सीस्थित गल्फ क्लब जाँदै गर्दा सञ्चारकर्मीसँग भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार