Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नेहरुको संख्या बढ्दै

म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नेहरुको संख्या बढ्दै

म्याग्दी । प्राकृतिक उपचारको चिकित्सालयको रूपमा विकसित हुँदै गइरहेको म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्ने बिरामीहरूको चाप बढेको छ । जिल्लाको बेनी नगरपालिका–४, सिङ्गा स्थित रहेको तातोपानीको कुण्डमा नुहाउने बिरामी, सर्वसाधारण र पर्यटकहरूको दिनहुँ जसो सङ्ख्या बढ्दै जान थालेको हो ।

जाडो समय सकिएर गर्मीको समय सुरु भएसँगै अहिले तातोपानी कुण्डमा दैनिक रूपमा नुहाउन आउने बिरामी तथा सर्वसाधारण र पर्यटकहरूको चाप बढेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानी कुण्डमा अहिले पछिल्लो पटक म्याग्दीसहित बागलुङ, कास्की, पर्वत, मुस्ताङ, काठमाडौँ, चितवन, नवलपरासी, कपिलवस्तु, ताप्लेजुङ, झापा, मोरङ, कैलाली, दाङ, रुकुम, रोल्पा, डोल्पालगायत जिल्लाबाट बिरामीहरू आएका छन् ।

यहाँको तातोपानी कुण्डमा बाहिरी जिल्लामध्ये सबैभन्दा धेरै छिमेकी बागलुङ जिल्लाबाट बिरामीहरू आउने गरेका छन् भने टाढाको जिल्लाहरू पूर्वी नेपालको ताप्लेजुङ, झापा र मोरङ तथा पश्चिमको दाङ र कैलालीबाट समेत बिरामीहरू कुण्डमा आएको तथ्याङ्क छ । यसका साथै विदेशी मुलुकहरू भारत, बङ्गलादेशबाट पनि बिरामी तथा पर्यटकहरू तातोपानी कुण्ड नुहाउनको लागि आउने गरेका छन् । तातोपानी कुण्डमा एक पटक आएर स्नान गरेर गएका बिरामीहरू रोग निको भएको भन्दै पुनः फर्किएर पटक पटक आउने गरेको भेटिन्छन् ।

पछिल्ला केही वर्षदेखि तातोपानी कुण्डमा नुहाउन आउने बिरामी, सर्वसाधारण र पर्यटकहरूको चाप बढ्न थालेपछि उनीहरूको व्यवस्थापनका लागि कुण्ड व्यवस्थापन समितिले आवश्यक पहल गरेको छ । बढ्दो चापलाई मध्यनजर गरी तातोपानी कुण्ड व्यवस्थापन समितिले मुख्य कुण्डभन्दा बाहिर दुई वटा पोखरी बनाएर नुहाउने व्यवस्थापन मिलाएको छ । तातोपानीको मुख्य पोखरीमा बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म महिला र पुरुषको छुट्टाछुट्टै पालो बनाएर नुहाउनको लागि समय तालिका बनाइएको छ । अहिले मुख्य पोखरीमा नुहाउनको लागि महिलाको दुई वटा समूह र पुरुषको एक वटा समूह रहेका छन् ।

तातोपानीको मुख्य पोखरी अर्थात् ठुलो कुण्डमा मात्रै दैनिक एक हजारभन्दा बढी बिरामी र सर्वसाधारणहरूले नुहाउने गर्दछन् भने बाहिरका दुई वटा पोखरीमा करिब ५ सय जनाले नियमित नुहाउँछन् । बाहिरको पोखरीमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म नुहाउन पाइन्छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले तातोपानी कुण्डमा नियमित रूपमा करिब १२ सय जनाले दैनिक नुहाउने गरेको बताए । उनका अनुसार तातोपानी कुण्डमा हरेक वर्ष २५ प्रतिशत नयाँ बिरामीहरू थपिने गरेका छन् । तातोपानी कुण्डमा पानीका थप स्रोत पत्ता लगाउने, कुण्डको संरक्षण तथा संरचना विस्तारका लागि आवश्यक पहल थालिएको उनको भनाइ छ ।

जमिन मुनिबाट ५५ डिग्री सेल्सियससम्मको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथ रोग, गानो गोला, युरिक एसिड, घाउ खटिरा, हार्डजोर्नी दुख्ने, छाला सम्बन्धी रोग, हड्डीको दुखाई, सड्केको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरू निको हुने जनविश्वास रहेको छ । तातोपानी कुण्डमा आगोले पोलेका बिरामीहरू समेत आएर स्नान गरी निको भएर फर्किएका उदाहरण छन् । तातोपानी कुण्डमा नेपालको ७७ वटै जिल्ला र विदेशबाट पनि बिरामी तथा सर्वसाधारण एवं पर्यटकहरू आएर स्नान गर्ने गरेको कुण्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार