Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

लुस्कुनका उत्पादनहरुबारे सांसद सुमना: 'ल गजब, यस्तो नेपाली उत्पादनलाई देशैभर पुर्याउनुपर्छ'

लुस्कुनका उत्पादनहरुबारे सांसद सुमना: 'ल गजब, यस्तो नेपाली उत्पादनलाई देशैभर पुर्याउनुपर्छ'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले लुम्बिनी बिशिष्टीकृत सहकारी संघ (लुस्कुन) मार्फत भैरहेको दुध र दुग्धजन्य उत्पादनहरुको प्रशंसा गर्दै यस्तो नेपाली उत्पादनको बिक्री वितरणलाई देशभर नै पुर्याउनुपर्ने सुझाउनुभएको छ ।

पार्टीको संसदीय दलको बैठकका सिलसिलामा रुपन्देहीमा रहनुभएकी श्रेष्ठ लगायतको टोलीले आज जनउत्थान बचत तथा ऋण सहकारी संस्थामार्फत भैरहेको लुस्कूनको दुग्धजन्य उत्पादनहरुको बिक्रीबारे जानकारी लिदैं यस्तो नेपाली उत्पादनलाई देशभर पुरयाउनुपर्ने बताउनुभयो ।

‘एकदम खुशी भएँ, हाम्रो नेपालमा बनेको, 'लुस्कुनको उत्पादनमध्ये महीको बोटल समाउँदै सुमनाले भन्नुभयो, ‘१५ दिनको म्याद राखेर आउँदो रहेछ । हामीले जति पनि सफ्ट ड्रिङ्क्स इम्पोर्ट गर्छौ, त्यसलाई हेल्दियर च्वइस भयो, हाम्रो लोकल प्रडक्सन हामी आफैले कन्ज्यूम गर्ने भयौं ।’

श्रेष्ठले अगाडि भन्नुभयो, ‘अब तपाईहरुले यसलाई देशभर पुर्याउनुपर्यो । यो अवधारणा अन्यत्र जिल्ला तथा प्रदेशहरुमा पनि सेयर गर्नुपर्यो । यो भयो भने दुधको मूल्य पाइएन भन्ने कृषकहरुको गुनासो अन्त्य हुने राम्रो उपाय हुन्छ । हाम्रो आफ्नै उत्पादन ।’

कार्यक्रममा लुस्कूनकी अध्यक्ष ज्ञानु पौड्यालले उक्त उत्पादन रुपन्देहीभर र कास्कीमा सम्म पुग्ने गरेको जानकारी गराउनुभएको थियो । गर्मीको समय भएकाले खपत अत्यधिक भएको समेत उहाँले जानकारी गराउनुभयो । ‘हिजो त पुग्दै पुगेन, अध्यक्ष पौड्यालले सुनाउनुभयो, ‘अस्ति असार १५ को दिन हामीले ८ हजार केजी रुपन्देहीमा मात्र बिक्री गर्यौं । हाल दैनिक करिब ४५ सय लिटर दही बिक्री हुने गरेको जानकारी उहाँले गराउनुभयो ।

बिशिष्टीकृत सहकारीमार्फत यसरी उत्पादनमा जाँदा रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र विकासमा उल्लेख्य टेवा पुग्ने विश्वास लुस्कुनले लिएको अध्यक्ष पौड्यालले बताउनुभयो । लुस्कुनले दुग्ध प्रशोधन उद्योग सञ्चालनमा ल्याएको छ । लुस्कुनको उत्पादनलाई पौड्याल विगतमा अध्यक्ष रहनुभएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लगायतबाट पनि बिक्री वितरण गरिदै आएको छ । सहकारीहरुले पसलनै सञ्चालन गरेर लुस्कुनका उत्पादनहरुको बिक्री वितरणमार्फत सहकारी मोडलको उत्पादनलाई सहयोग पुर्याउँदै आएका छन् ।

यसरी सहकारीमार्फत पनि सेयर सदस्यहरुले लुस्कुनका उत्पादनहरुलाई मनपराउनुभएको अध्यक्ष पौड्यालले बताउनुभयो । उहाँले लुस्कुनका उत्पादनले कृषकहरुलाई उचित मुल्य प्रदान गर्नेमात्र होइन सस्तो मुल्यमा स्वास्थ्यवर्धक र गुणस्तरीय उपभोग्य वस्तु समेत उपलब्ध गराएको बताउनुभयो । सहकारीमार्फत समृद्धिको सपना साकार पार्न यस्ता उत्पादन प्रारुपहरु थप आवश्यक भएको पौड्यालले बताउनुभयो ।

तिलोत्तमा ६ पश्चिम पहुनी कार्यालय रहेको लुस्कुनले गत असार ५ गते छैठौं स्थापना दिवस मनाएको थियो । सहकारी कानुनमार्फत ठूला उत्पादनशील क्षेत्रमा लगानी सहजताको बाटो खुलेसँगै सहकारी ऐन, २०७४ एवं लुम्विनी प्रदेश सहकारी ऐन, २०७६ मा विशिष्टिकृत सहकारी संघ स्थापनाको व्यवस्था गरिएको हो । सोही अनुरुप लुम्बिनी प्रदेशको सहकारी अभियानकातर्फबाट पनि उक्त प्रदेशका १२ वटै जिल्लाहरु कार्यक्षेत्र रहने गरी भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशमा विभिन्न जिल्ला र प्रकृतिका ५१ वटा प्रारम्भिक सहकारी संस्थाहरुको संलग्नमा २०७७ आषाढ ५ गते लुस्कुन दर्ता भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार