Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

‘जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’

‘जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु  परिवर्तनले ल्याएको सङ्कटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्बभन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याइरहे पनि हाम्रो यो जीवनयापनको आधार आज सङ्कटमा परेको बताउनुभयो । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्धारा  सोमबार काठमाडौँमा आयोजित हिन्दुकुश–हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । 

राष्ट्रपति पौडेलले हिमालदेखि समुद्रीतटसम्मका बासिन्दाहरूको भविष्य एउटै नियतिमा गाँसिएको स्मरण गर्दै यो ऐतिहासिक भेटघाट हाम्रो साझा र दिगो भविष्यका लागि आशा र सम्भावनाको मार्ग बनोस् भन्नुभयो । 

उहाँले नीति निर्माण तहमा हामीले वैज्ञानिक तथ्य र जन–आवाजलाई आधार मानेर जलवायु, जैविक विविधता र वायु प्रदूषणसम्बन्धी समयसापेक्ष, जनमुखी र कार्यान्वयन योग्य नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, कानुनी संरचना सुदृढीकरणका लागि जलवायु–मैत्री विकास, वायु प्रदूषण नियन्त्रणका लागि मापदण्डरू तयार गर्ने र जैविक विविधताको संरक्षणका लागि आवाश्यक कानुनी प्रावधानको प्रबन्ध गर्न आवाश्यक रहेको उहाँको भनाइ थियो । 

जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब केवल वैज्ञानिक प्रतिवेदनमा सीमित नभई हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनेको उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, “त्यसैले, आजको यो बैठक हाम्रो साझा र दिगो भविष्यको रोडम्याप तय गर्ने ऐतिहासिक अवसर हो ।”

 राष्ट्रपति पौडेलले हिन्दुकुश हिमालय क्षेत्रको भूगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ सङ्कल्प जनाउने अवसर हो भन्नुभयो । 

“हाम्रो क्षेत्र जैविक विविधताका दृष्टिले धनी छ, विश्वका दुर्लभ वनस्पति र जनावरहरूको वासस्थान यहाँ छ, जैविक विविधतामा आएको ह्रासले हाम्रो खाद्य सुरक्षा, सांस्कृतिक सम्पदा, प्रजातिहरू लोप हुनसक्ने सम्भावनाका साथै समग्र अर्थतन्त्रमा पनि असर गरिरहेको छ”, उहाँले भन्नुभयो । 

यी चुनौतीहरूका बाबजुद यो अवसरमा सदस्य राष्ट्रहरूले जलवायु परिवर्तनको समस्या सम्बोधन, वायु प्रदूषण नियन्त्रण तथा जैविक विविधता संरक्षणका लागि गरेका उल्लेखनीय कार्यहरूको राष्ट्रपति पौडेलले प्रशंसा गर्नुभयो । उहाँले विविध समस्याका बाबजुद विश्वका लागि उदाहरणीय हुने कार्य यस क्षेत्रमा भएका छन् भन्नुभयो ।  

उहाँले आफूले जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावको बारेमा विश्व मञ्चहरूमा विश्व समुदायलाई ध्यानाकर्षण गर्दै आएको उल्लेख गर्दै विश्वव्यापी तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियससम्म सीमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिबद्धता पूरा गर्न सम्बन्धित पक्षहरूले आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनु आजको आवश्यकता भएको बताउनुभयो ।  

“वैज्ञानिक तथ्यरूका अनुसार पेरिस सम्झौंतामा हामी सबैले जनाएको प्रतिबद्धताअनुसार दीर्घकालीन रुपमा १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्यमा सीमित गर्न सकिन्छ भनिए तापनि पछिल्ला दशकमा यहाँका हिमनदीहरूको पग्लिने गति बढिरहेको सन्दर्भमा यसको असर तल्लो तटीय क्षेत्रमा रहेका गाउँ बस्तीदेखि हजारौं किलोमिटर टाढासम्म पुग्दा बाढी, पहिरो जस्तो जलवायुजन्य विपद्को रूप लिइरहेको अवस्था छ”, उहाँले भन्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार