Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारीहरूद्वारा धनगढी मालपोत कार्यालयलाई आर्थिक सहयोग

सहकारीहरूद्वारा धनगढी मालपोत कार्यालयलाई आर्थिक सहयोग

काठमाडौं ।  मालपोत कार्यालय धनगढीलाई विभिन्न सहकारी संस्थाहरूको तर्फबाट ३ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । भदौ ३१ गते मंगलबार  मालपोत कार्यालय परिसरमा आयोजित कार्यक्रमका बीच उक्त सहयोग रकम नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले मालपोत कार्यालयका प्रमुख प्रेम दौल्याललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मालपोतका पदाधिकारीहरू, सहकारी संस्थाका अध्यक्ष तथा सदस्यहरू र कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो।

सहकारी प्रतिनिधिहरूले राज्यका सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी, र प्राविधिक बनाउन निजी तथा सहकारी क्षेत्रबाट सक्दो सहयोग गरिनुपर्नेमा जोड दिए। उनीहरूले यस्तो आर्थिक सहयोग मालपोत कार्यालयको सेवा सुधार, पूर्वाधार विकास र विद्युतीय सञ्जाल सुदृढीकरणमा खर्च होस् भन्ने अपेक्षा राखेका छन्।

गत २४ गते जेनजी आन्दोलनमा आन्दोलनकारीहरुले आगो लगाउँदा मालपोेत कार्यालयको विद्युत वायरिङ, कम्प्युटर, कुर्सी, टेबल लगायत कागजात र अभिलेखहरु जलेर नष्ट भएका छन्।

मालपोत कार्यालयका प्रमुख दौल्यालले उक्त सहयोगप्रति आभार प्रकट गर्दै भने, “जनताको प्रत्यक्ष सरोकार राख्ने र राज्यको सार्वजनिक जग्गा र जनताको अचल सम्पत्तिको सुरक्षा गर्ने कार्यालयका महत्वपूर्ण कागजात नष्ट भएपछि कार्यालय छिटो सञ्चालनमा ल्याउन यहाँका सहकारी संस्था र नागरिक समाजले चालेको पहल प्रति हामी ऋणी छौँ, अझै पनि सहयोगको अपेक्षा राखेका छौँ।” मालपोत कार्यालयप्रति समाजले देखाएको अपनत्वप्रति उनले धन्यवाद ज्ञापन गरे।

त्यस क्षेत्रका सहकारी संस्थाहरूको साझा पहलमा कार्यक्रमको समन्वय गरिएको थियो । यसैबीच, सहकारीहरुबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मालपोत कार्यालयले सहयोग रकमको पारदर्शी व्यवस्थापन र सदुपयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार