Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

स्थानीय सक्रियताले छोटो समयमै सम्भव भयो प्रहरी प्रभाग थली पुननिर्माण

स्थानीय सक्रियताले छोटो समयमै सम्भव भयो प्रहरी प्रभाग थली पुननिर्माण

काठमाडौं । जेनजी आन्दोलनको आडमा भदौ २४ गते आगजनी र तोडफोड गरी क्षति पुर्याइएको कागेश्वरी मनोहरा नगरपालिका थलीस्थित प्रहरी चौकी स्थानीय सक्रियतामा पुननिर्माण सम्पन्न गरी आज प्रहरीहरुलाई हस्तान्तरण गरिएको छ ।

स्थानीयबासीको नगद तथा जिन्सी एवम् श्रमदानबाट करिब १० दिनभित्रै चौकी पुननिर्माण गरिएको हो । भदौ २४ गते क्षतिग्रस्त बनाइएको चौकी असोज ४ गते पुननिर्माण सम्पन्न गरी प्रहरीहरुलाई हस्तान्तरण तथा स्वागत गरिएको छ । छोटो समयमै पुननिर्माण सम्पन्न भएकोमा पुननिर्माण समितिका पदाधिकारीहरु, स्थानीयबासीहरुसँगै प्रहरीहरुले पनि खुसी व्यक्त गरेका छन् ।

आज बिहान आयोजित प्रहरीहरुलाई चौकीमा स्वागतसहित हस्तान्तरण कार्यक्रममा पुनर्निर्माण उपसमितिका पदाधिकारीहरु तथा प्रहरीहरुले यो घटनाले ठूलो शिक्षा मिलेको र स्थानीयबासीहरु जुट्दा सबै विकास निर्माणका कार्य गर्न सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको दाबी गरेका थिए ।

DSC07180_11zon.jpg

स्थानीयबासीहरुको शान्ति सुरक्षा र अमनचैनमा रातदिन खटिने प्रहरीहरुको आवश्यकता बोध गरी प्रहरी चौकी पुनर्निमाणमा तदारुकता देखाएको जनाएका छन् भने प्रहरीहरुको तर्फबाट पनि स्थानीयबासीको विश्वासलाई कायम राख्न हरसम्भव लाग्ने वचनवद्धता व्यक्त गरिएको थियो ।

२४ गते प्रहरी चौकीमा क्षति पुगे लगत्तै स्थानीय युवाहरुले पुनर्निमाणको सक्रियता देखाएका थिए । थली चौकी पुननिर्माण समिति नै बनाएर सबैबाट नगद तथा जिन्सी एवम् श्रमदानको लागि उपलब्ध सबै माध्यमबाट आग्रह गरिएको थियो ।

DSC07193_11zon.jpg
प्रहरी प्रभाग सिनामंगल थली

आज आयोजित कार्यक्रममा, प्रहरीहरुले पनि आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउँदै नागरिकको सुरक्षा प्रत्याभूतिका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका इन्चार्ज  प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमाल तथा प्रहरी प्रभाग सिनामंगल थलीका इन्चार्ज उद्धव कोइरालाले स्थानीयबासीको सक्रियताका लागि कृतज्ञता व्यक्त गर्दै नागरिक प्रहरी साझेदारीमार्फत शान्ति र अमनचैन कायम गर्न सम्भव हुने बताउनुभयो ।

नहुनु क्षति भइहालेपछि  राज्य कुर्दा कहिले हो कहिले भन्ने सोचेर आफ्नो सुरक्षामा स्थानीयहरु आफैँ जुटेका हुन् ।

पुनर्निर्माण कार्यका लागि श्रमदान र जिन्सीबाहेक कुल ८ लाख ९ हजार ९ सय ७४ रुपैयाँ नगद संकलन भएकोमा हालसम्म ५ लाख ५३ हजार २ सय २३ रुपैयाँ खर्च भएको जानकारी कार्यक्रममा गराइएको थियो । मौज्दात रकमको पनि निकट भविष्यमै सबैको सहभागितामा जनउपयोगी काम गरिने कागेश्वरी मनोहरा नगरपालिका ५ नं वडाका वडा सदस्य सुशान्त श्रेष्ठले जानकारी गराउनुभयो ।

DSC07157_11zon.jpg
 प्रहरीहरुलाई स्वागत तथा चौकी हस्तान्तरण कार्यक्रम

सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट पुनर्निमाणका क्रममा प्रत्येक दिन भएका प्रगति र उपलब्धिबारे जानकारी गराइएको थियो । पारदर्शीरुपमा आम्दानी र खर्चहरुबारे समेत समयसमयमा अपडेट गराइएको थियो भने  पुनर्निर्माण कार्यमा स्थानीय सहभागिताबारे पनि भिडियोहरु पोष्ट गरिएको थियो । सामाजिक सञ्जालमा छिनछिनमा गरिएको अपडेटले पनि धेरैभन्दा धेरैलाई सहयोग गर्न प्रेरित गरिएको विश्वास स्थानीयबासीहरुको छ ।

DSC07167_11zon.jpg
प्रहरीहरुलाई स्वागत तथा चौकी हस्तान्तरण कार्यक्रम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार