‘डोनाल्ड ट्रम्प मलाई थाहा छ, तपाईं हेरिरहनुभएको छ। तपाईंलाई म चार शब्द भन्छु– आवाज अलि चर्को पार्नुस्’
न्युयोर्क सहरका मेयर निर्वाचित जोहरान मम्दानीले आफ्नो विजयपछिको पहिलो सम्बोधनमा राष्ट्पति डोनाल्ड ट्रम्पसँग यसरी सिधै 'आँखा जुधाए' । यसले गहिरो अर्थपूर्ण सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मम्दानी न्युयोर्क शहरको पहिलो दक्षिण एसियाली तथा मुस्लिम मेयर निर्वाचित भएका हुन् । अनि, उनी १८९२ यताका सबैभन्दा कान्छा मेयर पनि हुन्। ३४ वर्षीय मेयर अफ्रिकी मुलुक युगाण्डामा जन्मिएका हुन् । त्यसैले उनी अफ्रिकामा जन्मेका न्यूयोर्क शहरका पहिलो मेयर पनि बनेका छन् ।
अत्यधिक महँगो घरभाडा चार वर्षलाई जतिको त्यति राख्ने, महानगरको आफ्नै ग्रोसरी स्टोर खोल्ने, सार्वजनिक बस निशुल्क गर्ने तथा बालबच्चा हुर्काउँदा लाग्ने खर्च घटाउने उनको योजना छ। यी मुद्दाले आम मानिसलाई उनीतर्फ आकर्षित गर्यो।
सबैभन्दा मुख्य कुरा देशका सबभन्दा शक्तिशाली व्यक्ति, सबभन्दा धनी व्यक्ति र सबभन्दा प्रभावशाली संस्था उनीविरुद्ध लागे पनि पराजित गर्न सम्भव भएन ।
मम्दानी गतवर्ष चुनावी मैदानमा उत्रिँदा उनलाई कसैले चिनेको थिएन। उनीसँग पैसा पनि थिएन। पार्टीको सहयोग त परै छाडौँ। डेमोक्र्याटिक पार्टीका नेताहरूले खुलेर उनको समर्थन गरेनन्। पूर्व राष्ट्रपति बाराक ओबामाले समेत खुलेआम अनुमोदन गरेका थिएन् । सोही कारण अन्डरडग मानिएका मम्दानीको विजय चामत्कारिक भन्दा कम मानिएको छैन ।
मम्दानीलाई टक्कर दिएका उम्मेदवार एन्ड्रयु कुओमोलाई अन्तिम समयमा आएर डोनाल्ड ट्रम्पले समर्थन गरेका थिए। इलोन मस्कले उनलाई ‘ठग’ भनेका थिए। तर, उनीहरूको सत्ता र धनको बलले उनलाई रोक्न सकेन। बरु, १९६० यताकै सबैभन्दा बढी मत ल्याएर उनले जिते। यसपालि न्युयोर्कका २० लाखभन्दा बढीले मतदान गरे। चार वर्षअघि ११ लाखले मात्र मतदान गरेका थिए।
मम्दानीले पार्टीभित्र आफ्नै गठबन्धन बनाएका थिए। उनले न्युयोर्कमा परम्परागत मत मात्र नभई रिपब्लिकन क्षेत्रको मत समेत आफ्नो पक्षमा पारे।
उनको विरुद्धको प्रचारबाजी अत्यधिक थियो। विपक्षीहरूले भनेका थिए, सेप्टेम्बर ११ मा जस्तो आतंकवादी हमला भए मम्दानीले खुसी मनाउने छन्। कतिपयले उनलाई डिपोर्ट गर्नुपर्ने आवाज उठाइरहेका थिए।
पैसाको खोलो बगाएर उनको बाटो छेक्ने प्रयास पनि नभएको होइन। मम्दानीविरुद्ध बिल एकम्यान, माइकल ब्लुमबर्गजस्ता अर्बपतिहरूले करोडौँ डलर सुपरप्याकमा खन्याएका थिए। उनीहरूले कुओमोलाई समर्थन गरेका थिए।
मम्दानीलाई कम्युनिस्ट, आतंकवादी, यहुदीविरोधी र अनुभवहीन व्यक्तिका रुपमा चित्रित गर्न भएभरको जोडबल लगाइएको थियो। फिक्स द सिटी नाम एउटा सुपर प्याकले मात्र कुओमोको पक्षबाट मम्दानीमाथि आक्रमण गर्न २.९ करोड डलर खर्चेको थियो। यसलाई मम्दानीले धनीमानीहरू कसरी न्युयोर्कमा गुणस्तरीय जीवनको खोजीमा रहेकाहरूका लागि बाधा सिर्जना गर्छन् भन्ने उदाहरणका रुपमा पेस गरे। जसमा उनी सफल पनि भए।
मम्दानीका बुबा महमुद माम्दानी कोलम्बियाका प्राध्यापक हुन्, आमा मीरा नायर चर्चित फिल्म निर्देशक । उनकी पत्नी सिरियाली मूलकी रमा दुवाजी हुन्, जोसँग मम्दानीको भेट डेटिङ एप हिन्जमा भएको थियो।
तथापि, यी कामहरू गर्न उति सहज नहुने यसअघिका मेयरहरूको अनुभव छ। त्यसैले आलोचकहरूले मम्दानीले जति छिटो चमत्कारी व्यक्तित्व निर्माण गरे, त्यति नै छिटो उनी अप्ठेरोमा पर्ने दाबी पनि गरिरहेका छन्। एजेन्सी
उनले न्यूयोर्क शहरमा अब राजनीतिको नयाँ युग शुरु भएको शंखघोष पनि गरे । र, यसका लागि उनले केही मुख्य कारणहरु पनि दर्शाए । उनले आफ्ना समर्थकहरुमाझ एउटा खालको राजनीतिक वंशको सत्तापलट गरेको समेत बताए ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com