Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
बागलुङ जिल्ला बचत संघको १४औँ वार्षिक साधारण सभा सम्पन्न

'सहकारीहरुले सुशासन, उत्तरदायित्व र जोखिम व्यवस्थापनमा कुनै सम्झौता गर्नु हुँदैन'

'सहकारीहरुले सुशासन, उत्तरदायित्व र जोखिम व्यवस्थापनमा कुनै सम्झौता गर्नु हुँदैन'

बागलुङ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सदस्यहरुको विश्वास जोगाउनु नै सहकारीको सबैभन्दा ठूलो दायित्व भएको उल्लेख गर्दै सुशासन, उत्तरदायित्व र जोखिम व्यवस्थापनमा सहकारीहरुले कुनै सम्झौता गर्न नहुने धारणा राखेका छन् ।

सहकारी अभियानलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउनु आजको आवश्यकता रहेको उनले बताए ।  पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीहरूलाई मध्यनजर गर्दै सबै सहकारी संस्थाले नीति, नियम तथा मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा अध्यक्ष पौडेलको जोड थियो । 

IMG_7486_11zon.jpg
undefined

आज मंगलबार बागलुङ बजारमा सम्पन्न बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको १४औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष पौडेलले त्यस्तो धारणा राखेका हुन्  ।

साधारणसभाकै अवसर पारेर बचत संघले राखेको जोखिम व्यवस्थापन सम्बन्धी प्रशिक्षणका बारेमा अध्यक्ष पौडेलल्े भने, ‘यस्ता प्रशिक्षण कार्यक्रमहरूले सञ्चालक, पदाधिकारी तथा व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्दछ । आगामी दिनमा पनि संघले सदस्य संस्थाहरूको सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।’

IMG_7475_11zon.jpg
undefined

साधारण सभामा संघका सचिव अर्जुन कँडेलले आर्थिक वर्ष २०८१÷०८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष लिला खड्काले आर्थिक वर्ष २०८१÷०८२ को आय–व्यय विवरण र आर्थिक वर्ष २०८२÷०८३ को प्रस्तावित अनुमानित आय–व्यय प्रस्तुत गरेका थिए । सचिव तथा कोषाध्यक्षद्वारा प्रस्तुत दुवै प्रतिवेदनलाई सभाले सर्वसम्मत रूपमा पारित समेत गरेको छ ।

IMG_7498_11zon.jpg
undefined

साधारण सभाको अवसरमा संघले जिल्ला स्थित आफ्ना सदस्य संस्थाका अध्यक्ष, पदाधिकारी तथा व्यवस्थापकहरूका लागि वित्तीय सहकारीमा जोखिम व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको थियो । उक्त प्रशिक्षण बागलुङ नगरपालिकाको सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) को प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो ।

IMG_7485_11zon.jpg
undefined

प्रशिक्षण कार्यक्रममा नेफ्स्कुनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले पछिल्लो समय नियामक निकायबाट सहकारी संस्थाहरूका लागि जारी गरिएका नीति, नियम, निर्देशिका तथा मापदण्डहरूबारे विस्तृत जानकारी गराएका थिए । उनले सहकारी संस्थाहरूले अवलम्बन गर्नुपर्ने सुशासन, पारदर्शिता, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम पहिचान तथा जोखिम न्यूनीकरणका उपायहरूबारे स्पष्ट पारे ।

IMG_7506_11zon.jpg
undefined

ढकालले वित्तीय अनुशासन कायम गर्न कर्जा लगानी, बचत संकलन, तरलता व्यवस्थापन, पूँजी पर्याप्तता, खराब कर्जा नियन्त्रण, लेखा परीक्षण तथा प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । साथै, नियामक निकायका निर्देशिकाहरू कार्यान्वयनका क्रममा देखिन सक्ने कानुनी, वित्तीय तथा सञ्चालनगत जोखिमहरू पहिचान गरी समयमै समाधानका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सहकारी संस्थाका सञ्चालक, पदाधिकारी तथा व्यवस्थापकहरूको भूमिका, जिम्मेवारी र उत्तरदायित्व स्पष्ट गर्दै नियम तथा मापदण्डको पूर्ण पालना नगर्दा संस्थामा पर्न सक्ने जोखिम र त्यसका दीर्घकालीन असरबारे समेत जानकारी गराए ।

IMG_7502_11zon.jpg
undefined

१०० जनाभन्दा बढीको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रमले सहकारी संस्थाहरूलाई सुरक्षित, दिगो र विश्वासिलो बनाउने दिशामा महत्वपूर्ण सहयोग पुगेको सहभागिहरूले बताएका थिए ।
कार्यक्रमको सञ्चालन संघका सचिव अर्जुन कँडेलले गरेका थिए भने उपाध्यक्ष गणेशबहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार