Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
प्रोवेशन ब्राण्डेड साकोस

जनसेवा साकोस बन्यो प्राधिकरणबाट इजाजत प्राप्त गर्ने कास्कीको दोस्रो सहकारी

जनसेवा साकोस बन्यो प्राधिकरणबाट इजाजत प्राप्त गर्ने कास्कीको दोस्रो सहकारी

काठमाडौं । पोखरा-१९ पुरन्चौरस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. राष्ट्रिय सहकारी प्राधिकरणबाट कारोबार सञ्चालन इजाजतपत्र प्राप्त गर्ने कास्की जिल्लाकै दोस्रो सहकारी संस्था बनेको छ । जनसेवा साकोसले आज सञ्चालन इजाजतपत्र प्राप्त गरेको व्यवस्थापक प्रेमसागर अधिकारीले जानकारी गराए ।  

उनले भने, ‘गत मंसिर १२ गते दर्ता प्रक्रियामा सामेल भएको जनसेवाका डिजिटल डकुमेन्टहरु अस्ति पुस ८ गते भेरिफाई भएर आज इजाजतपत्र प्राप्त गर्यौं ।’ जनसेवाको प्राधिकरण इजाजतपत्र नम्बर ९७ रहेको छ ।

‘हाम्रा कारणले भन्दा पनि प्राधिकरणकै कारणले केही समय लम्बियो, ’व्यवस्थापक अधिकारीले केही समयअघि फोनमा धिप्री डटकमसँग भने, ‘बिचमा कार्यक्षेत्रको विषयहरु अपलोड गर्नुपर्ने प्रावधान थपियो, अनि सफ्टवेयरमा केही समस्याले प्रक्रिया निक्कै ढिलो भएको महसूश भयो । हामीले ताकेता धेरै गर्नुपर्यो । यद्यपि, अस्तिको मितिमा भेरिफाई भएर आज डिजिटल प्रमाणपत्र प्राप्त गर्न सफल भएका छौं ।’

प्राधिकरणमा दर्ता अभिलेखीकरण प्रक्रियामा जोडिएसँगै उत्पन्न समस्याहरुबारे अधिकारीले सुनाए, ‘पुस ५ गते म आफैं प्राधिकरण गएको थिएँ । यसबारे बुझ्न । अध्यक्ष र कार्यकारी निर्देशक (र्ईडी)सँग भेट नभएपनि प्राविधिक कर्मचारीहरुलाई भेटेर गुनासोहरु राखेको थिएँ । र, केही सुझावहरु पनि दिएको थिएँ ।’

भर्खरै मात्र नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको स्तरीकरण कार्यक्रम प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल जनसेवा साकोसका अनुभवी व्यवस्थापक अधिकारीले भने, ‘यतिको विधि र प्रक्रिया अपनाइसकेपछि प्राधिकरणले केही थप विषयहरु समेटेर सजिलै नियमन गर्न सक्ने गरी यसलाई विकसित गरेको भए थप सहज हुने थियो । त्यसतर्फ प्राधिकरणको ध्यान र तयारी नपुगको अनुभव भयो ।’

२०५० साल भदौं २१ मा स्थापना भएको समुदायमा आधारित सदस्य केन्द्रीत जनसेवा साकोसमा हाल २५४३ सेयर सदस्य छन् भने कुल सम्पत्ति ४६ करोड ५० लाख बढी छ । व्यवस्थापक अधिकारीले सुनाए, ‘इतिहासका हिसाबले जनसेवा साकोस जिल्लामा दर्ता भएको दोस्रो सहकारी पनि हो । जनसेवा साकोस तत्कालीन सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयमा दर्ता भएको थियो । संयोग कस्तो बन्यो भने दर्ताका आधारले जिल्लाको दोस्रो सहकारी प्राधिकरणमा दर्ता भई सञ्चालन इजाजत लिने पनि जिल्लाको दोस्रो सहकारी नै बनेको छ ।

प्राधिकरणमा दर्ता अभिलेखीकरण गरी सञ्चालन इजाजतपत्र लिने कास्की जिल्लाको पहिलो सहकारी भने पोखरा रोयल बचत तथा ऋण सहकारी बनेको थियो । उक्त सहकारी प्राधिकरणमा दर्ता हुने मुलुककै पहिलो सहकारी समेत बनेको थियो ।

c496656c-26ea-4d5f-80c8-ba62d43123a4.jpg
इजाजतपत्र

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार