काठमाडौं । २०४५ सालतिरको कुरा हो । युवा वयमै गाउँमा क्लबमार्फत सामाजिक कार्यमा होमिए झापा (बिर्तामोड–२ चारपाने) का महेन्द्र कुमार गिरी । उबेला क्लबहरुमा सक्रियता सामाजिक अभियन्ताहरुको शुरुवाती कर्म थियो, भलै त्यसबेला बहुमतको सोचाइ ‘बरालिने मेलो’ मात्र थियो ।
'समाजसेवी परिवार' वा भनौं त्यही ‘बेरोजगारहरु बरालिने मेलो’ मा सक्रिय रुपमा संलग्न हुँदै उनी २०४८ सालदेखि २०५० सालसम्म उक्त क्लबको अध्यक्ष भए। त्यही मेसोमा केही समयपछि सामुदायिक विकासका आयामहरुबारे जान्न बुझ्न उत्तर अमेरिकी मुलुक क्यानाडा जाने अवसर पाए । र, त्यो भन्दा पनि ठूलो कुरो गिरी सामुदायिक उत्थानका गतिविधिहरुका 'लती' नै भए ।
पिछडिएका वर्ग समुदायको सशक्तिकरणमार्फत समाज र समुदायको रुपान्तरणको अभियानका उनी ‘एम्बेसेडर’ बने । अनि, परिचयको आयातन बिस्तारै फैलाउदै लगे । क्लबपछि २०५१ सालमा सहारा नेपाल नामक गैरसरकारी संस्था स्थापनामा जोडिए । त्यसले आकार ग्रहण गरिसकेपछि उनलाई लाग्यो-दातृ निकायहरुसँग र अनुदानमा मात्र आश नगरी स्वावलम्बी अभियानमा जोडिनुपर्छ ।
ठूला प्रोजेक्टहरुमार्फत प्राप्त सहयोगले प्रशंसा बटुले पनि दिगोपना सधैं उनको चिन्तामा रहन्थ्यो । परनिर्भर होइन आवद्धहरुलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने अठोटसहित उनी सहारा नेपाल बचत तथा ऋण सहकारीको नाममा सहकारी अभियानमा संलग्न भए ।
अध्ययनलाई गति दिन गिरी काठमाडौंमै रहँदा सहारा साकोसको सोचको गर्भ बसेको थियो । मन मिल्ने साथीहरु जोडिए र काठमाडौं (बानेश्वर) को सोचले २०५२ सालमा झापामा जन्मियो-सहारा नेपाल साकोस । गिरी नै मुलुकको आजको सबैभन्दा ठूलो सहकारी-सहारा नेपाल साकोसको 'द म्यान बिहाइन्ड' थिए ।
उनी सहारा नेपाल साकोसको परिकल्पनाकार, संस्थापक र योगदानकर्ता । लामो समय कार्यकारी प्रमुख रहेका उनी हाल उक्त साकोसको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । सहकारी सञ्चालन तथा व्यवस्थापन दुबै बुझेका गिरी भन्छन्, ‘निरन्तरता, लगाव, अध्ययन, समूहमा विश्वास, सहनशीलता र सुदुर समयलाई दृष्टिगोचर गर्न सक्ने व्यक्ति नै लिडर बन्न सक्छ । लिडरले संस्कार बसाल्नुपर्छ । आफू उदाहरणीय बन्नुपर्छ ।’
लिडरशीपको अंकुरण उनमा युवा अवस्थामै थियो । काम गर्दै जाँदा स्वाभाविक रुपमा अवसरहरुको मार्ग तयार हँदै गयो र उनले स्वदेश र विदेशमा एक्स्पोजर पाए । त्यसलाई सदुपयोग गर्दै आफ्नो ज्ञान, सीप र धारणामा सकारात्मक उर्जा सञ्चार गरे । फलस्वरुप गिरीले लोभलाग्दो सामाजिक पुँजी पनि निर्माण गरेका छन् । भन्छन् -'अझैं गन्तव्य टाढा छ, मुलुक र समाजका लागि गर्नुपर्ने धेरै छ । सकारात्मक सोच र मिहेनतका साथ निरन्तर अघि बढ्ने हो भने असम्भव भन्ने छैन ।’
उनले सुनाए, 'हामी स्वयंसेवी रुपमा १८ घन्टासम्म काम गर्दथ्यौं सुरुवाती चरणमा । काम गर्दै सिक्दै सुधार्दै र समृद्ध बनाउँदै लग्यौं । सोच र नियत सफा थियो । केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । हाम्रो टिम राम्रो थियो । त्यही कारण सामूहिकताको बलमा स्वयंसेवी भावनाले काम गर्दा आजको सहारा नेपाल साकोस बनेको हो । अन्यथा, चुनौतीहरुको पहाड थियो । ठूलो हुँदै जाँदा समस्याहरु पनि बढ्दै गए तर हामीले त्यसलाई अवसरमा परिणत गर्यौं । व्यक्तिगत रुपमा भन्नुपर्दा, मैले त्याग पनि गरेँ अन्यथा बग्रेल्ती अवसरहरुमा म लोभिएको भए आजको स्थिति नहुन सक्थ्यो । त्याग र समर्पणले सफलता प्राप्त भएको हो ।'
गिरी सहारा नेपाल साकोसमा सबै चीज राम्रो एकदमै राम्रो केही पनि समस्या नभएको जस्तो 'युटोपियन' कुरा पनि गर्दैनन् । भन्छन्, 'सहकारी जानेर बुझेर सिद्धान्तहरुमा पोख्त भएर शुरु गरेको अभियान थिएन । यो सिकाइ थियो । गल्ती स्वीकार्ने बानी बस्यो, सुशासनका आयामहरुमा सुधार गर्दै लग्यौं । सिक्यौं, बुझ्यौ र संस्थाको व्यवहारमा लागू गर्यौं ।'
सञ्चालकहरुले ऋण लिन नपाउने नीतिगत प्रावधानको उदाहरण उनले दिए अनि भने, 'हामीले अहिलेसम्म एउटा पनि सदस्यको धितो लिलामी गरेका छैनौं । असल अभ्यासहरुलाई आन्तरिकीकरण र कमजोर प्रवन्धहरुलाई कसिलो बनाउँदै लग्यौं । असल सहकारी संस्कार र संस्कृति निर्माणको दिशामा अघि बढेका छौं ।'
लघुवित्त कार्यक्रम र गरिबी निवारणका कार्यक्रमले सहारा नेपाल साकोसलाई सदस्य र समुदायको 'सहारा' बनाएको दाबी गिरी गर्छन् । लघुवित्त कार्यक्रम सञ्चालन गर्दा सहकारी हुँदै होइन भन्ने आरोप पनि खेप्नुपर्यो । सेयर सदस्यको सहभागिताका प्रश्नहरु पनि उठे । कार्यक्षेत्रका कुरा पनि कथा बने । अनि, दातृ निकायको सहयोगको विषयमा पनि प्रश्न उठाइए । तर, ती सबैको उत्तर सहारा नेपाल साकोसले संस्थागत विकासमार्फत दिएको छ । वित्तीय स्थायित्व, सदस्य सहभागिता एवम् सक्रियता, सञ्चालकीय भिजन, व्यवस्थापकीय चुस्तता आदिका कारण आजको सहारा नेपाल साकोस बनेको गिरी बताउँछन् । वित्तीय अनुशासनमा कडाइ पनि सहारा नेपाल साकोसको स्थायित्वको आधार भएको उनले सुनाए ।
सहकारीमा डिभिडेन्ड मुख्य विषय होइन, सुविधा प्राथमिकता हो भन्ने हिसाबले सहारा नेपाल साकोसले सदस्यहरुलाई जीवनोपयोगी सुविधाहरु उपलब्ध गराउँदै आएको उनले सुनाए । कृषि, उद्यमशीलता, नवप्रवर्तनका क्षेत्रमा सहारा नेपाल साकोसको काम उदाहरणीय बनेको दाबी उनी गर्छन् । उनले भने, 'हामी केबल बचत तथा ऋण सहकारीको काम मात्र गर्दैनौं । सदस्यहरुलाई आत्मनिर्भर बनाउँछौं, समृद्ध बनाउँछौं ।'
प्रशव वेदनाले जन्मिएको सहारा नेपाल साकोस आज साँच्चिकै सदस्यहरुको सहारा बनेको पाउँदा खुशी स्वाभाविक रुपमा लाग्ने गिरीले बताए । 'तर, समूहभाव नभएको भए यो इतिहास लेख्न सम्भव थिएन, ' उनले भने ।
गिरी आज सहकारीसँगै, उद्यमशीलता, नवप्रवर्तन, कृषि, जलविद्युत, गैरसरकारी, लघुवित्त, लगानी आदि क्षेत्रमा समानान्तर रुपले महत्वपूर्ण भूमिकाहरुमा जोडिएका छन् । बहुक्षेत्रमा प्रभावी बन्दै गएका गिरीको एउटै उद्देश्य छ–समाज रुपान्तरणको सेतु बन्ने । गिरी आशावादी पनि छन् ।
सहकारीको मान्यतालाई नलत्याई यसमार्फत समृद्धिका सपनाहरु साकार पार्न सकिने विश्वास उनको छ । यद्यपि, यसका लागि कानूनी बाटाहरु स्पष्ट हुनुपर्ने उनी बताउँछन् । परिस्थिती जन्य कारणले हाल राष्ट्रिय सहकारी बैंकको अध्यक्ष समेत छन् र केही समयपछि नै निर्वाचन पछिको नेतृत्वलाई उक्त जिम्मेवारी हस्तान्तरण गर्न आतुर पनि छन् । यो संवाद सहकारी बैंकसँग होइन गिरीको नेतृत्व कौशल र सहारा साकोससँग बढी जोडिएको छ ।
३३ जनाबाट ३४ हजार शेयर पुँजी संकलन गरी शुरु भएको सहारा साकोसमा आज १ अर्ब ७० करोड बढी सेयर पुँजी छ । संस्थागत पुँजी १ अर्ब ३७ करोड ३७ लाख बढी (७.२२ प्रतिशत) रहेको छ भने बाह्रय ऋण शुन्य प्रतिशत रहेको छ । १४ अर्ब बढी कुल बचत छ भने ११ अर्ब ४७ करोड बढी ऋण लगानी छ । संस्थाको कुल सम्पत्ति १९ अर्ब बढीको छ । देशभर सेवा प्रवाहको सहजताका लागि विभिन्न स्थानमा गरी ८१ वटा सेवा केन्द्र छन् भने कुल कर्मचारी संख्या ५ सय रहेको छ ।
सामाजिक काममा पनि सहारा अग्रणी सहकारी हो । लघुवित्त कार्यक्रममार्फत महिलाहरुमा जागरण र नेतृत्व विकासको संवाहक बनेको छ सहारा र सहकारी सामाजिक उत्तरदायित्वका विविध कामहरु यसले गर्दै आएको छ । सदस्यहरुको विश्वास, सञ्चालकहरुको नियत अनि नेतृत्व र व्यवस्थपानको कुशलताका कारण सहारा आजको अवस्थामा आइपुगेको गिरी बताउँछन् । सुशासन र वित्तीय दृष्टिकोणबाट सहारा साकोस नेपालको सहकारीको विश्वविद्यालय हो भन्दा अत्युक्ति हुँदैन ।
२०५२ साल फागुन ११ गते प्रारम्भिक भेला आयोजना गरेर ३३ जना साथीहरुबाट ३४ हजार शेयर पुँजी संकलन गरेर ०५२ चैत २१ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता गरेको साकोस आज कसरी करिब २ लाख सदस्यहरुको जीवनको सहारा बन्न सम्भव भयो ? के कस्ता सुरुवाती दुःख कष्टहरु थिए ? परिकल्पना कसरी भया? र सिकाइ र शिक्षाहरुले सहारालाई कसरी सेप अप गर्यो ? भन्ने विषयमा हामीले गिरीसँग गरिएको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
साँच्चै भन्ने हो भने ‘टेक्स्ट’ अन्तर्वार्ताको तयारी भएपनि संयोगले भिडियोमा उनका भावना र भावभङ्गीहरु ‘क्याप्चर’ भए । श्रव्यदृश्यको पूर्व तयारी नभएपनि विषयवस्तु रोचक र प्रेरणादायी भएकाले पाठक, दर्शक र श्रोताका लागि ‘भिजुअल ट्रिट’ हुने विश्वास धिप्री डटकमले लिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com