मकवानपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको २१औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । संघको कार्यालय परिसरमै सम्पन्न वार्षिकोत्सवमा सहकारी संघ तथा प्रारम्भिक सहकारीका प्रतिनिधि आफ्नो मौलिक जातीय भेषभूषामा सहभागी भएका थिए । वार्षिकोत्सवको अवसरमा संघले उत्कृष्ट सहकारी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।
संघले उत्कृष्ट महिला बचत तथा ऋण सहकारी (साकोस) को रुपमा हेटौँडा–१२ स्थित महिला सेवा साकोसलाई सम्मान गरेको छ । मिश्रित साकोसतर्फ हेटौंडा–१५ को जनचेतना साकोसलाई सम्मान गरेको छ । सहकारी अभियानकर्मी राधा सिन्तान र भोजमान श्रेष्ठलाई सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारीतर्फ हेटौँडा–१५ स्थित महिला जनशक्ति साकोसका व्यवस्थापक माया तामाङ र हेटौँडा–५ स्थित संजीवनी साकोसका व्यवस्थापक प्रकाश बहादुर खनाल सम्मानित भएका छन् ।
संघले उत्कृष्ट दैनिक कारोबार गर्ने हेटौँडा–२ स्थित गणपति साकोस, २० करोड भन्दा बढी बचत गर्ने हेटौँडा–६ स्थित जनकल्याण साकोस, ऋण परिचालन गर्ने थाहा–६ स्थित बज्रबाराही साकोस र सर्वाधिक शेयर खरिद गर्ने हेटौँडा–१३ स्थित महिला मिलन साकोसलाई सम्मान गरेको छ । यस्तै ७ करोडदेखि २० करोड सम्पति भएका सहकारीमध्ये सर्वाधिक बचत जम्मा गर्ने मकवानपुरगढी–५ स्थित महिला कल्याण साकोस, ऋण परिचालन गर्ने हेटौँडा–२ स्थित प्रतिफल साकोस र सर्वाधिक शेयर खरिद गर्ने मनहरी–८ स्थित दिव्यज्योति महिला साकोस सम्मानित भएका छन् ।
यस्तै ७ करोडसम्म सम्पति भएका सहकारीहरु मध्ये सर्वाधिक बचत गर्ने भीमफेदी–७ स्थित सृजनशील महिला साकोस, ऋण परिचालन गर्ने थाहा–२ स्थित पाथीभरा साकोस र सर्वाधिक शेयर खरिद गर्ने बकैया–५ स्थित पासाङ ल्हामु महिला विकास साकोसलाई सम्मान गरिएको छ ।
कार्यक्रममा संघका सदस्य सहकारीबाट प्रतिनिधित्व गर्दै उपस्थित भएका व्यक्तित्वहरुले आफ्नै मौलिक जातीय पहिरनमा सजिएका थिए । यस्तै साँस्कृतिक भेषभुषामा आबद्ध भएकाहरुमध्ये १० जना सहभागीलाई पुरस्कृत समेत गरिएको थियो । वार्षिकोत्सवको अवसरमा चेपाङ, गुरुङ, मगर, नेवारी, थारु, तामाङ, माझी भाषाका गीतसँगै राष्ट्रिय तथा लोक गीत, सहकारी गीतमा नृत्य गरेका थिए ।कार्यक्रममा चेपाङ समुदायबाट बाट पहिलो गायक रबिन चेपाङले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
संघकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा जिल्ला बचत संघका सल्लाहकार बद्रीप्रसाद लम्साल, मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, संघका निवर्तमान अध्यक्ष राधा सिन्तान, हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख महेन्द्र चापागाई, राष्ट्रिय सहकारी बैंकका प्रमुख समीर श्रेष्ठको आतिथ्य रहेको थियो ।
१ सय २७ वटा सदस्य संस्था रहेको सहकारी संघको सेयर पुँजी ४ करोड ७२ लाख ८० हजार रुपैयाँ रहेको छ । १५ वटा सहकारी संस्थालाई ६ करोड ७९ लाख १५ हजार रुपैयाँ ऋण लगानी गरेको संघसँग १ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बचत रहेको छ । आफ्नै स्वामित्वको भवनमा संघले व्यवस्थित कार्यालय सञ्चालन गरेको छ ।
यसैबीच, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा शुक्रबार बिहान रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । हेटौँडा–२ स्थित संघकै कार्यालय परिसरमा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।
संघकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । संघको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।
पछिल्लो समय हेटौँडामा रगतको माग र वितरणमा सन्तुलन कायम रहेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी गराए । रक्तसञ्चार केन्द्र हेटौँडाले हेटौँडामा संकलन गरेको रगत छिमेकी जिल्ला चितवनसँगै काठमाडौं, लहानसम्म पठाउने गरेको थियो । तर, पछिल्लो समय हेटौँडामै रगतको खपत बढ्दै गएकोले चितवन, काठमाडौं, लहान पठाउन नसकिएको सापकोटाले बताए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com