Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेफ्स्कून सञ्चालकको कुकृत्यको चौतर्फी भर्त्सना, हदैसम्म कारबाहीको जोडदार माग

नेफ्स्कून सञ्चालकको कुकृत्यको चौतर्फी भर्त्सना, हदैसम्म कारबाहीको जोडदार माग

काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून) को सदस्य सेवा कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीद्वय मदनकुमार चन्द र पुष्पराज तिमल्सिनामाथि कार्यालयभित्र संघका सञ्चालक सदस्य वीरबहादुर रावत भोटेले गरेको सांघातिक आक्रमणको चौतर्फी भर्त्सना एवम निन्दा भएको छ । सहकारी व्यवस्थापकहरुका विभिन्न फोरमहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कर्मचारी कुट्ने सञ्चालकमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

नेफ्स्कून साकोस म्यानेजर्स क्लब, कोअपरेटिभ मेनेजर्स क्लब काभ्रे, सहकारी कर्मचारी क्लब, सहकारी व्यवस्थापहरुको क्लब चरिकोट, कोअपरेटिभ म्यानेजर्स क्लब कैलाली, कञ्चनपुर कोअपरेटिभ म्यानेजर्स क्लब लगायतले  विज्ञप्ति जारी गरी उक्त कार्य घोर भत्सर्ना र निन्दनीय भएको भन्दै दोषी उपर हदैसम्मको कारबाहीको जोडदार माग गरेका छन् ।

नेफ्स्कून साकोस म्यानेजर्स क्लबका तर्फबाट संयोजक देवराज ज्ञवालीले जारी गरेको विज्ञप्तिमा नेफ्स्कून सुर्खेत सेवा कार्यालयका कर्मचारीहरुमाथि संघका सञ्चालक भोटेले गरेको भौतिक आक्रमणले क्लबलाई गम्भीर रुपमा मर्माहत र चिन्तित बनाएको भन्दै तत्काल सञ्चालक समिति र व्यवस्थापन प्रतिनिधिसहितको बैठक बसी निज सञ्चालकलाई निलम्बन गर्न माग गरिएको छ । यस्तै, सत्य तथ्य छानविन गरी पिडितलाई संरक्षण, मनोपरामर्श र न्यायसंगत क्षतिपूर्ति प्रदान गर्न जोडदार माग क्लबले गरेको छ । 

यस्तै, कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकले विज्ञप्तिमार्फत नेफ्स्कून सञ्चालक भोटेको कृत्यको घोर भत्र्सना गर्दै दोषी उपर हदैसम्मको कारबाही गर्न नेफ्स्कूनसँग जोडदार माग गरेको छ । क्लबले नेफ्स्कून सञ्चालक भोटेको उक्त कार्यले कर्मचारीको मनोबल गिरेको जनाएको छ ।

क्लबका अध्यक्ष गोपाल दाहालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘संघको कर्मचारीको रुपमा आफनो तोकिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा कार्यक्षेत्रमा आफ्नै सञ्चालक समिति सदस्यद्वारा सांघातिक आक्रमणमा पर्नु यो सहकारी अभियान कै अन्त्यन्तै लज्जावोध विषय भएको छ । उक्त व्यवहारले सहकारीको मूल उद्देश्य, सहकारी मूल्य मान्यताहरुको मात्र उल्लङघन भएको छैन यस्ता प्रकारका गतिविधिले सहकारी क्षेत्रमा कार्यरत समस्त कर्मचारीको मनोबल समेत गिरेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘संघका कर्मचारी माथि भएको यस्तो निन्दनीय तथा अक्षम्य आक्रमणमा संलग्न सञ्चालक वीरहादुर रावत भोटेलाई सञ्चालक समितिको बैठकबाट तत्काल निलम्बन गर्न, निष्पक्ष छानविन समिति गठन गरी घटनाको तत्काल छानविन गर्न र दोषीलाई हदैसम्मको कानूनी कारवाहीका लागि यस कोअपरेटिभ मेनेजर्स क्लब काभ्रे जोडदार माग गर्दछ ।

यस्तै, सहकारी व्यवस्थापकहरुको क्लब दोलखाले पनि आजै विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै सञ्चालकलाई निलम्बन गरी हदै सम्मको कानूनी कारवाही गर्न जोडदार माग गरेको छ । क्लबले दोषीलाई उन्मुक्ति दिने प्रयास गरिएमा सहकारीमा कार्यरत सम्पूर्ण कर्मचारीहरु आफ्नो अधिकार र न्यायका लागि थप आन्दोलित हुन बाध्य हुने भन्दै सचेत समेत गरएको छ ।

यस्तै, सहकारी संघ संस्थाको व्यवस्थापनमा काम गर्ने थुप्रै कर्मचारीहरुले सामाजिक सञ्जालमार्फत पनि नेफ्स्कून सञ्चालक भोटेको उक्त कार्यको विरोध जनाउँदै सत्यतथ्य छानविन गरी दोषी उपर कारबाहीको जोडदार माग गरेका छन् । अधिकांशले भोटेको उक्त कार्यलाई दादागिरीको संज्ञा दिएका छन् । 

यसैबीच, नेफ्स्कून सञ्चालक भोटेले विज्ञप्ति जारी गरी सदस्य सेवा कार्यालय सुर्खेतबाट निरन्तर असहयोग, अवज्ञा र अपमानजनक व्यवहार भएको भन्दै उपसमितिको बैठकहरु नराखिएको लगायतका आरोप त्यहाँका कर्मचारीहरुमाथि लगाएका छन् ।

घटनाका सम्बन्धमा नेफ्स्कूनको आधिकारिक धारणा बाहिर नआएपनि अध्यक्ष चन्द्रप्रसाद ढकालले फेसबुक मेसेन्जर ग्रुपमा लेखका छन्, ‘सुर्खेतको घटना सम्बन्धि पछिल्लो जानकारी अनुसार प्रहरीको दर्ता जाहेरी फिर्ता लियर अब यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता भयर जाहेरी फिर्ता लियको अवस्था । इमानदार सक्दो प्रयास गरेका छौ बिस्तारै सबै ब्यबस्थापन हुन्छ ।'

यद्यपि, उनको यो पोष्टप्रति पनि म्यानेजरहरुले आपत्ति जनाउँदै कारबाही गर्न खुट्टा नकमाउन आग्रह गरेका छन् । मिलापत्र होइन कारबाहीको जोडदार माग उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार