Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन २०८२

सहकारीका शाखा बन्द र दोहोरो पदः दुबै कार्यान्वयन गर्न सकिदैंन

सहकारीका शाखा बन्द र दोहोरो पदः दुबै कार्यान्वयन गर्न सकिदैंन

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारीका शाखाहरु बन्द र दोहोरो सञ्चालकको विषय कार्यान्वयन हुन नसक्ने स्पष्ट पारेको छ । महासंघको आयोजनामा आज ललितपुरमा शुरु भएको दुई दिवसीय ‘दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन २०८२’ का सिलसिलामा सहभागीहरुको प्रश्नको उत्तर दिदैं कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले भने, ‘दुबै विषय कार्यान्वयन गर्न सकिदैंन ।’

सहकारी विभागले बहुशाखा खोली सञ्चालनमा रहेका सहकारी संस्थाका शाखा तत्काल बन्द गर्न राष्ट्रिय सहकारी महासंघ तथा सबै विषयगत केन्द्रीय संघहरुलाई पत्रमार्फत पुस २४ गते निर्देशन जारी गरेका सन्दर्भमा प्रतिक्रया जनाउँदै उनले भने, ‘यो हाम्रो सिङ्गो सहकारी अभियानको भनाइ हो ।’

महासंघले यो विषयमा आफ्नो भनाइ विज्ञप्तिमार्फत जारी गरेको भन्दै उनले थपे, ‘यस विषयमा हिजो मात्रै हामीले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीज्यू, सचिवज्यूसँग र सहकारी विभागका रजिष्ट्रारज्यूसँग कुरा गरेका छौं । हामीले त्यो दुबै विषय कार्यान्वयन हुन सक्दैन । त्यसलाई संशोधन गर्नुपर्ने कुरा राखेका छौं । सहकारी ऐनमा कही पनि त्यस्तो बन्देज छैन । कही कन्फ्यूजन भएको वा व्याख्यामा समस्या हो भने मिलाउनुपर्यो ।’ उनले अभियानले दुबै विषयलाई तत्काल कार्यान्वयन गर्न नसक्ने दोहोर्याउँदै  निर्देशनहरुलाई संशोधन गरिनुपर्ने भनाइ सरकारसँग राखेको स्पष्ट पारे । 

‘अब नयाँ शाखा खोल्ने कुरामा इट्स ओके, ‘पोखरेलले भने, ‘तर खोलिइसकिएको कुरालाई व्यवस्थित गर्ने कुरा आफैमा खर्च व्यवस्थापन गर्नका निमित्त त्यो ठीक भए पनि स्वयं संस्थाहरुले त्यसतर्फ ध्यान दिइरहेको अवस्था छ । तर, सरकारले हठात् निर्देशन दिएर बन्द गर्न लगाउनु न्यायोचित हुँदैन ।’ कार्यवाहक अध्यक्ष पोखरेलले प्रश्न गरे, ‘१ लाख ७० हजार सदस्य भएको सहकारी संस्थाले एउटा कार्यालयबाट कसरी सबै सदस्यहरुलाई सेवा प्रवाह गर्न सक्छ ? हजारौं सदस्य भएका पनि त्यो सम्भव छैन । एउटा निश्चित क्षेत्र भित्र मात्र सहकारीले कारोबार गर्नुपर्ने कुरालाई रोकिनुहुँदैन भन्ने कुरा हामीले अनुरोध गरेका छौं ।’

उनले भने, ‘एउटा आयोगको प्रतिवेदनको सुझावको आधारमा शाखा बन्दको सूचना सर्कुलर भएको छ । हामी लबिङ गरिरहेका छौं । त्यसलाई पुरक सर्कुलर गर्नका निम्ति सम्बन्धित निकायलाई अनुरोध गरेका छौं ।’  

सहकारीमा दोहोरो पदका सम्बन्धमा भने कार्यवाहक अध्यक्ष पोखरेलले शाखा बन्दको विषयसँग जोडेर कार्यान्वयन गर्न नसकिने विगतदेखिकै व्यक्तिगत तथा संस्थागत अडान राखे पनि त्यसबारे थप प्रष्ट पारेनन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार