Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
बृहत् पाशुपत पदयात्रा २०८२

'आधुनिक गयासुद्दिनहरुका कारण पशुपति र बागमतीको दुर्दशा भयो'

'आधुनिक गयासुद्दिनहरुका कारण पशुपति र बागमतीको दुर्दशा भयो'

काठमाडौं । महेश संस्कृत गुरुकुलका अध्यक्ष डा. स्वामी रमणानन्द गिरीले आधुनिक ‘गयासुद्दिन’ हरुका कारण पशुपति र बागमतीको यो दुर्दशा भएको भन्दै त्यसलाई सच्चाउने संकल्प बृहत् पाशुपत पदयात्रा भएको स्पष्ट पार्नुभएको छ ।

‘पशुपतिनाथ र बागमतीको दिव्य क्षेत्रलाई यो दुर्गतिमा ल्याउनेहरु गयासुद्दिनका प्रतिनिधि हुन्, ’ करिब ४० दिने बृहत् पाशुपत पदयात्राको हिजो चैत १५ गते शंकराचार्य  मठ, पशुपतिमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, ‘गयासुद्दिन बरु घोषित रुपमा पशुपतिनाथलाई आक्रमण गर्न भनेर आएको थियो । तर, आज हाम्रो दाजुभाइ जस्तो बनेर, हाम्रै प्रतिनिधि जस्तो बनेर बसेका हाम्रै छोरा नाति भएका ती गयासुद्दिनका आधुनिक प्रतिनिधिहरुले भगवान पशुपतिनाथ र बागमतीलाई यो दुर्गतिमा पुर्याएका छन् । त्यसमा हामी पनि दोषी छौं । किनभने यो यस्तो व्यवस्था छ, जहाँ हामीले चुनेर मत दिएका व्यक्तिहरु न्याय र निर्णयको निकायमा पुग्छन्, त्यसैगरी सरकारका निर्णयहरु कार्यान्वयन हुन्छन् ।’

उहाँले पाशुपत क्षेत्रमा चलेको आधुनिक गयासुद्दिन पद्धतिको आक्रमण अब बन्द हुनुपर्ने भन्दै यसले राष्ट्रको चेतनालाई ध्वस्त पारेकोमा गम्भीर चासो र चिन्ता व्यक्त गर्नुभयो । सोही कारण मुलुकको प्रगति पनि रोकिएको उहाँले बताउनुभयो ।

सयौँ वर्षपहिले मुस्लिम आक्रान्ता गयासुद्दीनले मिथिला क्षेत्रदेखि उपत्यकासम्म देवस्थलहरू ध्वस्त बनाई लुट मच्चाएको इतिहासमा पाइन्छ । स्वामीजीले गयासुद्दिनको बिम्व प्रयोग गर्दै बागमतीलाई प्रदूषित बनाई राष्ट्रदेवको अपमान गर्ने सबै सत्ताधारीहरू गयासुद्दीनकै प्रतिनिधि भएको बताउनुभएको हो ।

स्वामीजीले यस्तो पाप गर्नेहरुलाई त्यसको भाग कसरी लाग्छ भन्ने सम्बन्धमा महाभारतमा द्रौपदीको वस्त्रहरण भएको दिन विदूरले भनेको कालजयी श्लोक स्मरण गर्दै शासनको प्रमुखलाई आधा, खटिएर पाप गर्नेलाई पच्चीस प्रतिशत र अनुमोदन गर्नेहरुलाई बाँकी पच्चीस प्रतिशत पाप लाग्ने जानकारी गराउनुभयो । सोही अनुरुप पशुपति र बागमतीको दुर्गतिका भागेदारहरुले पापको भारी बोक्नुपर्ने भन्दै तिनको पापको अनुमोदन गर्ने हामीहरुलाई पनि पाप लागेको चर्चा उहाँले गर्नुभयो । 

‘हामी कोही पापबाट बञ्चित छैनौ, ’ स्वामीजीले भन्नुभयो, ‘त्यसैले पनि क्षमायाचनाका लागि यो पदयात्रा आयोजना गरिएको हो । यसले सरकार, सरोकारवाला र हामीहरुलाई पनि पशुपतिनाथ र बागमतीलाई वातावरण, राजनीति, धार्मिक र आध्यात्मिक सबै हिसाबले सफा, स्वच्छ र कञ्चन राख्न अभिप्रेरित गर्नेछ ।’

सरकार, राजनीतिक दल र सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराउन नै पदयात्रा आयोजना गरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘पशुपति र बागमतीको पवित्रता र शुद्धता कायम गराउन साधुसन्तहरुले आयोजना गरेको यो आन्दोलन हो ।  साधुसन्तहरुले अरुले जस्तोे टायर बाल्ने सिंहदरबार जलाउने काम गर्न सुहाउँदै । हामीले गर्ने भनेको यस्तै हो तर हाम्रा कुरा नसुनुजेलसम्म हामी निरन्तर यस्तै तपस्यामा लागिपर्छौं । त्यही तपोबलका आधारमा भगवानलाई पुकारा गरेर द्रवित बनाउने कोशिस गर्ने हो ।’

देवघाटस्थित महेश सन्न्यास आश्रमका पीठाधीश समेत रहनुभएका एवम् आज शुरु भएको बृहत पाशुपत पदयात्राका संकल्पकर्ता स्वामीजीले भन्नुभयो, ‘बागमती शुद्ध र पवित्र नहुन्जेल कुनै पनि कार्यक्रम गर्न बन्द गरे हुन्छ । ‘पशुपति क्षेत्रमा आयोजना गरिने कुनै पनि पुजा पाठ तथा धार्मिक अनुष्ठानमा बागमतीको शुद्ध जल होइन ढल मिसिएको छ । ढल गन्हाएको छ ।’ उहाँले सोही कारण जोकोही भक्तहरुलाई यस विषयमा लज्जाबोध हुनुपर्ने भन्दै कटाक्ष गर्नुभयो । 

कार्यक्रममा प्युठानको स्वर्गद्धारी आश्रमका उत्तराधिकारी डा. स्वामी रुद्रानन्द ब्रह्मचारी (ध्रुबश्री) ले जो कोहीले यस्तो संकल्प गर्ने आँट पनि गर्न नसक्ने र गरे पनि सिद्ध नहुने भन्दै स्वामीजीको प्रशंसा गर्नुभयो । साथै उहाँले पदयात्रालाई सफल बनाउन हरतरहको सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो । यस्तै, अन्य वक्ता स्वामीहरुले पनि पदयात्राको सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य डा.वीपी बडालले पशुपतिनाथको महत्व हाम्रै राजनीतिक नेतृत्व र विश्वलाई चिनाउन नसक्नु कमजोरी भएको बताउँदै आध्यात्मिक पर्यटनको केन्द्र यसलाई बनाउन सकिने भनाइ राख्नुभयो । सनातन सभ्यताको संरक्षण र प्रवर्धनका लागि आत्मिक चेतना महत्वपूर्ण विषय भएको बताउँदै बडालले स्वामीजीको यो संकल्पमा विकास कोष पनि एकाकार भएको धारणा राख्नुभयो । 

यसैबीच, हिजो औपचारिक उद्घाटन भई आजबाट पदयात्रा शुरु भएको छ । उक्त पदयात्राभर सहभागी हुन नसक्नेले आ–आफ्नो ठाउँबाट सहभागी हुन सक्ने जानकारी कार्यक्रम सञ्चालक वाल्मीकि विद्यापीठका उप-प्राध्यापक डा. उमेशप्रसाद घिमिरेले गराउनुभएको थियो ।

निर्वाचनबाट नयाँ र एकमना स्थायी सरकार गठन भएको सन्दर्भमा यो पदयात्राको महत्व अझै बढेको आयोजकले जनाएको छ । पशुपतिनाथको महत्व बुझ्ने, बागमती शुद्ध राख्नुपर्छ भन्ने बोध हुने र सरकारले साधुसन्तहरुको कुरा पक्कै सुन्ने विश्वास आयोजकले लिएको छ ।

राजनीतिक अभिष्ट पुरा गर्ने ठाउँ पशुपति बनाउन नहुने र सँगै आध्यात्मिक पर्यटनको पनि प्रचुर सम्भावना रहेको भन्दै त्यसको केन्द्र नै पशुपति भएकोले पनि सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराउन यो पदयात्राको संकल्प गरिएको स्वामी रमणानन्द गिरिले बताउनुभयो । राष्ट्र‌देव भगवान् श्रीपशुपतिनाथ र जगज्जननी गुह्यकाली युगलरूपमा विराजित पवित्र पाशुपतक्षेत्र सम्पूर्ण ज्योतिर्लिङ्गहरूको शिरोभाग र आध्यात्मिकताको सहस्रारस्थानको रूपमा वैदिक सनातन धर्मावलम्बीका लागि सबैभन्दा पवित्र तीर्थक्षेत्र रहेको तथा शिवको जिह्वाबाट अमृतद्रवको रूपमा प्रकट भएकी बागमतीको महिमा भागीरथीगङ्गाभन्दा पनि सय गुणा बढी रहेको पौराणिक तथ्यलाई मनन गर्दै पदयात्रा अभियान अन्तर्गत पाशुपत क्षेत्रलाई विगतकै भव्यतम पौराणिक स्वरूपमा संरक्षित गर्न राज्य र जनस्तरमा विविध अभियान सञ्चालन गर्ने सङ्कल्पका साथ पाँच सूत्रीय पशुपति घोषणापत्र समेत पारित गरिएको छ । 

656818671_122170959392834916_4792504078473278603_n.jpg
undefined

प्रस्तावित पाँचसूत्रीय सङ्कल्पपत्र 
               
‘बृहत् पाशुपत पद‌यात्रा तथा पशुपति घोषणा पत्र

राष्ट्र‌देव भगवान् श्रीपशुपतिनाथ र जगज्जननी गुह्यकाली युगलरूपमा विराजित पवित्र पाशुपतक्षेत्र सम्पूर्ण ज्योतिर्लिङ्गहरूको शिरोभाग र आध्यात्मिकताको सहस्रारस्थानको रूपमा वैदिक सनातन धर्मावलम्बीका लागि सबैभन्दा पवित्र तीर्थक्षेत्र रहेको तथा शिवको जिह्वाबाट अमृतद्रवको रूपमा प्रकट भएकी वाग्वती ९वाग्मती० को महिमा भागीरथीगङ्गाभन्दा पनि सय गुणा बढी रहेको पौराणिक तथ्यलाई मनन गर्दै पाशुपत क्षेत्रलाई विगतकै भव्यतम पौराणिक स्वरूपमा संरक्षित गर्न राज्य र जनस्तरमा विविध अभियान सञ्चालन गर्ने सङ्कल्पका साथ प्रस्तुत पशुपति घोषणापत्र पारित गर्दछौँ । 

प्रस्ताव नं. १ क्षमायाचना 
वाग्वतीलाई मलीन (प्रदूषित) बनाई शिवजीलाई नित्य रुद्राभिषेक गर्न नसक्ने बनाउने र पाशुपत क्षेत्रलाई दलीय गुटबन्दीको शिकार बनाउने जस्ता कुकृत्यहरूले गर्दा समग्र राष्ट्र‌लाई शिवापराध लागी राष्ट्रमा परस्पर विद्वेष, हिंसा र असहिष्णुता सँगै राष्ट्र९विप्लवको खतरा बढिरहेकाले यसको क्षमापन‌का लागि सबै मिली राष्ट्र‌देवसँग क्षमायाचना गर्ने । 

प्रस्ताव नं.२ राज्यलाई खबरदारी
पाशुपतक्षेत्रलाई फोहोरजन्य मानवीय प्रदूषण र राजनैतिक प्रदूषणबाट मुक्त राखी विश्वभरिकै वैदिक तीर्थाटनको केन्द्रविन्दु बनाउन विविध योजना कार्यान्वयन गर्नका लागि राज्यलाई खवरदारी र पृष्ठपोषण प्रदान गर्ने । 

प्रस्ताव नं. ३आध्यात्मिक समन्वयको सन्देश
शिवको किराँतीरूप किराँतेश्वरदेखि वर्षमा एकपटक अवलोकितेश्वरका रूपमा बुद्धको मुकुट चढाउने प्रचलनसमेत यही पाशुपत क्षेत्रमा मात्र रहेकाले विश्वभरिका धार्मिक द्वन्द्वरत राष्ट्र र सङ्गठनहरुलाई आध्यात्मिक समन्वयको सन्देश दिने गुरुराष्ट्रको रूपमा नेपाललाई नेतृत्व दिलाउन पहल गर्ने । 

प्रस्ताव नं. ४ व्यवस्थाको अनुगमन
पाशुपत क्षेत्रमा स्थापित विविध मन्दिर र देवविग्रहहरूको नित्यपूजा, श्रीयुतशिवको पूजामा शुद्ध पञ्चामृत र जलको प्रयोग एवम् तपस्वी साधुसन्तहरू‌को साधनात्मक निवासको समुचित व्यवस्था गर्न प्रेरणा दिने उद्देश्यले अधिकार प्राप्त संस्थाहरू‌सँग अन्तःसंवाद तथा अनुगमन गर्ने । 

प्रस्ताव नं. ५ अभियान सञ्चालन 
चौसट्ठी सिद्धलिङ्ग दर्शनसहितको पूर्ण पाशुपतक्षेत्र परिक्रमा र वाग्मती परिक्रमा लगायत यस क्षेत्रका सिद्ध पीठहरूको दर्शन९यात्राका साथ जनजन‌मा आस्था वृद्धि गर्ने उद्देश्यले साधुसन्तहरूको अगुवाइमा पद‌यात्रा, रथयात्रा, महोत्सव आदि विविध अभियान सञ्चालन गर्ने ।

DSC01550_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार