काठमाडौं । समुदायमा आधारित सदस्य केन्द्रित बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. आजबाट १७ वर्षमा प्रवेश गरेको छ । सहकारीमार्फत आर्थिक सशक्तिकरण, सामाजिक रूपान्तरण र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको संस्थाले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा बलियो इतिहास स्मरण गर्दै वर्तमान अवस्थाको वस्तुगत मूल्याङ्कको आधारमा भावी योजनाहरुबारे पत्रकारहरुलाई जानकारी गराएको छ ।
कार्यक्रममा अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाको १७ वर्षे यात्राबारे प्रकाश पार्दै सहकारीमार्फत सदस्यहरूको आर्थिक अवस्था सुधार गर्नुका साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउन संस्थाले निरन्तर काम गरिरहेको बताउनुभयो ।
२०६६ साल चैत २६ गते स्थापना भई २०६७ साल असोज २२ गतेदेखि सेवा सुरु गरेको संस्थाले “सदस्य बनौं सिवाईसीमा, हातेमालो देश विकासमा” भन्ने मूल नारासहित धवलागिरी क्षेत्रका चार जिल्लामा सेवा विस्तार गर्दै आएको पौडेलले बताए ।
संस्थाले चालु आर्थिक वर्ष २०८२ /०८३ का लागि “घरघर र विद्यालयमा उद्यम फैलाऔं, गरिबीलाई शून्य बनाऔं” भन्ने नारासहित विभिन्न कार्यक्रमहरू अघि सारेको जनाएको छ । विद्यालय केन्द्रित कार्यक्रम, घरदैलो वित्तीय साक्षरता, युवा उद्यमशीलता विकास, महिला सशक्तिकरण, जेष्ठ नागरिक सम्मान, विपद् व्यवस्थापन लगायतका कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ । साथै युवालाई लक्षित गर्दै क्यारियर काउन्सेलिङ, जब ट्रेनिङ, स्टार्टअप प्रवर्धन तथा बचतमा आकर्षण गर्ने योजना समेत सञ्चालन गरिने अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।
संस्थामा हाल २७ हजार ६४ सदस्य, २५ वटा सेवाकेन्द्र, ६ हजार ७ सय ३३ बाल बचतकर्ता, ८८ जना कर्मचारी, ४ हजार ७ सय ५२ ऋणी सदस्य, विभिन्न कोषहरूमा १ करोड ९५ लाखभन्दा बढी रकम सञ्चित रहेको अध्यक्ष पौडेलले कार्यक्रममा जानकारी गराउनुभयो ।
साथै संस्थाको शेयर पूँजी ३८ करोड ९१ लाख, कुल बचत १ अर्ब ६८ करोड, लगानीमा रहेको ऋण १ अर्ब ३७ करोड, संस्थागत पूँजी २० करोड र कुल सम्पत्ति २ अर्ब ५२ करोडभन्दा बढी रहेको र तरलता प्रतिशत ३८.८६ रहेको समेत अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।
अध्यक्ष पौडेलले सिवाईसीले सहकारी क्षेत्रमै प्रतिस्पर्धात्मक रूपमा न्यून ब्याजदरमा ऋण सेवा उपलब्ध गराउँदै आएको र विभिन्न शीर्षकका ऋणमा ब्याजदर घटाउँदै लगिएको र केही सेवामा करिब ५.५ प्रतिशतमा ऋण उपलब्ध गराइरहेको, एकल महिला तथा फरक क्षमता भएका ऋणी सदस्यहरूलाई हाल कायम ब्याजदरमा समेत १ प्रतिशतसम्म छुट प्रदान गरिँदा ब्याजदर ४.५ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष पौडेलले संस्थाले गर्ने क्रेडिट प्लस लगायतका विशेष कार्यहरूले सिवाईसी अन्य सहकारी संस्थाभन्दा फरक भएकोले हरेक वर्ष देशभरका सहकारी संस्थाका सञ्चालक, शेयर सदस्य र कर्मचारीहरू अध्ययन भ्रमणका लागि सिवाइसी आउने गरेको सगर्व बोध गराउनुभयो ।
वार्षिक रूपमा करिब १२–१५ हजारसम्मको संख्यामा आउने यस्ता टोलीहरूले संस्थाका सफल अभ्यासहरूको अध्ययन गर्ने गर्छन् । यसले सिवाईसीको पहिचान मात्र विस्तार गरेको छैन, बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि उल्लेखनीय योगदान पुर्याएको पौडेलको भनाइ थियो ।
संस्थाले शेयर सदस्य कृष्णबहादुर सार्कीको मृत्यु पश्चात ११ लाखको ऋण मिनाह गरिएको र उनले तिरेको १ लाख किस्ता रकम श्रीमती ओमा सार्कीलाई चेक मार्फत फिर्ता गरिएको कार्यक्रममा जानकारी दिइयो । सस्थाले सदस्यहरुले लिने ऋणको वीमा समेत गरिदिने व्यवस्था गरेको जनाइएको छ।