काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष रामेश्वर शाहले मिथिला नगरी जनकपुरधाममा आफ्नो लगानीको दायरा विस्तार गर्ने गर्दै आफ्नै नेतृत्वमा रहेको मिथिला हस्पिटालिटी अन्तर्गत जनकपुरमा पहिलो पाँच तारे होटल निर्माण गर्ने परियोजना अघि बढाउनुभएको छ । यो घोषणाले मधेश प्रदेशको पर्यटन जगतमा नयाँ उत्साहको लहर ल्याएको छ। चितवनको रोयल टुलिप रिसोर्ट सञ्चालनमा आएको मात्र ८ महिनाको अवधिमै शाहले नयाँ र परियोजनाको घोषणा गर्नुभएको हो । चितवनको सफलताबाट उत्साहित भएर उहाँले यसपटक जनकपुरलाई रोज्नुभएको छ ।
जनकपुर आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि एक आकर्षक गन्तव्यको रुपमा चिर परिचित नगरी हो । यहाँको कला संस्कृति एवं धार्मिक स्थलहरु को सांस्कृतिक महत्त्व अपार छ । देशको एक महत्वपूर्ण धार्मिक स्थल तथा पर्यटकीय नगरी जनकपुरमा होटल व्यवसायहरु फस्टाउँदो रुपमा रहेपनि अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको आवास सुविधाको भने अभाव रहँदै आएको छ । यसैलाई लक्षित गर्दै अब सोही नगरी मा एक अत्याधुनिक सुविधासम्पन्न पाँच तारे होटेल सञ्चालनमा आउने भएको छ । जनकपुर घुम्न आउने अतिथिलाई पूर्ण सुविधासहित अन्तर्राष्ट्रिय स्तरको आतिथ्यता प्रदान गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याउन लागेको यस रिसोर्टको भुमि पुजन (शिलान्यास) २०८३ बैशाख २१ गते मधेश प्रदेश का मुख्यमन्त्री कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेल, प्रतिनिधि सभा सदस्य माननीय मनिष झा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का संथापक अध्यक्ष डा. उपेन्द्र महतो, जनकपुर उपमहानगर प्रमुख मनोज शाह लगायत स्थानीय जनप्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, पत्रकारहरुको उपस्थिति रहेको थियो।
यस परियोजनामा जम्मा २ अर्ब रुपैयाँ लगानी हुने छ र निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरी २०८६ सालको वैशाखमा होटललाई औपचारिक रूपमा सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ। करिब २ लाख वर्गफिट ९साढे २ बिघा भन्दा बढी० जग्गामा निर्माण हुने यस होटलको कुल निर्मित क्षेत्रफल १ लाख २० हजार वर्गफिट रहनेछ । होटलमा ८ विलासी सुइटसहित जम्मा १२४ कोठा निर्माण हुनेछन् र ३७२ बेडको व्यवस्था गरिनेछ। जनकपुरमा बन्न लागेको होटलमा शाहसहित पूर्व बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना, व्यवसायी काजी लामा, सुदीप कुमार चौधरी, उदयकान्त झा समेतको लगानी रहनेछ।
सुविधाको दृष्टिले यो होटल केवल एक आवासस्थलमा सीमित रहने छैन। यसलाई एक सम्पूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने योजना रहेको छ। होटलमा उच्चस्तरीय रेस्टुरेन्ट र लाइभ किचनदेखि क्याफे लाउन्ज, लाइभ म्युजिकसहितको सांगीतिक बार र रूफटप पूल बारसम्मका खाद्य तथा पेय सेवाहरू उपलब्ध हुनेछन्।
क्यासिनो समेत राख्ने योजना रहेको यस होटेलमा व्यावसायिक र सामाजिक कार्यक्रमका लागि सभा तथा बैंक्वेट हल र व्यापार केन्द्र राखिनेछ भने स्वास्थ्य र मनोरञ्जनका लागि बहुकार्यात्मक पौंडी पोखरी, सुविधासम्पन्न स्पा र हेल्थ क्लब तथा टेनिस कोर्टको व्यवस्था हुनेछ। यसका साथै एम्फीथिएटर र कार्यक्रम हल, ईभी चार्जिङ स्टेशन र बालबालिकाको खेल्ने छुट्टै स्थान जस्ता आधुनिक सुविधाहरूले यस होटललाई एक विशिष्ट पहिचान दिनेछ।
यस परियोजनाले आर्थिक दृष्टिले पनि उल्लेखनीय योगदान दिनेछ। होटल सञ्चालनमा आएपश्चात् प्रत्यक्ष रूपमा १ सय ५० जनाले रोजगारी पाउनेछन् र स्थानीय सेवा तथा व्यवसायमा अप्रत्यक्ष रोजगारी र आर्थिक गतिविधि पनि उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ। होटलले मुख्यतः सामान्य आगन्तुक, जनकपुरको जानकी मन्दिर र रामायण सर्किटमा आउने धार्मिक पर्यटक, विवाह महोत्सव आयोजक तथा सहभागी र व्यापारिक सभासम्मेलनका प्रतिनिधिलाई लक्षित गरेको छ।
माता सीताको जन्मस्थलका रूपमा विश्वभर प्रसिद्ध जनकपुरमा वार्षिक लाखौँ तीर्थयात्री र पर्यटक आउने गर्छन्। तर यति ठूलो धार्मिक र सांस्कृतिक महत्त्व बोकेको बिश्व सम्पदाको सुचिमा समेतमा सुचिकृत गर्ने प्रयास भईरहेको माता जानकी मन्दिर रहेको यस शहरमा अहिलेसम्म अन्तर्राष्ट्रिय मापदण्डको उच्चस्तरीय होटल नहुनु एउटा ठूलो कमी थियो। शाहको यो लगानीले जनकपुर र समग्र मधेश प्रदेशलाई नेपालको पर्यटन नक्सामा नयाँ उचाइमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
यो होटल सञ्चालनमा आएपश्चात् जनकपुरले पाँच तारे सेवा प्रदान गर्ने मधेश प्रदेशको पहिलो शहरको ऐतिहासिक गौरव प्राप्त गर्नेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com