Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

अध्यादेशमार्फत सहकारीलाई कस्ने काम भयो

अध्यादेशमार्फत सहकारीलाई कस्ने काम भयो

काठमाण्डौ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटाले पछिल्लो समय सरकारले अध्यादेशमार्फत् सहकारी क्षेत्रलाई कस्दै लगेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को आयोजना र बागमती प्रोस्कूनको संयोजनमा ‘सकारात्मक सञ्चारका लागि समाचार र विचार’ तालिम कार्यक्रमको अतिथिको रुपमा बोल्दै उनले अध्यादेशले संघहरुले गर्दै आएको वित्तीय कारोबारलाई ३ वर्षभित्र पूर्णरुपमा बन्द गर्नुपर्ने व्यवस्था प्रति उनले असहमति जनाए । सहकारी स्वायत्त संस्था भएको र यसको मुल्य, मान्यतालाई मास्ने गरी सरकारले ऐनकानुन ल्याउन नहुने उनको भनाई छ ।

सहकारी ऐन २०७४ मा संघ र संस्थाको एउटै परिभाषा रहेको र संघहरुले बचत ऋणको कारोबार गर्न पाउने प्रष्ट व्यवस्था रहेको उनको दावी छ । तीन बर्ष भित्र कारोबार बन्द गर्नुपर्ने व्यवस्थाले संघहरुले गर्दै आएको ९० अर्ब भन्दा बढीको वित्तीय कारोबार जोखिममा पर्ने उनले बताए । मुलुकभर ३१७ संघहरु क्रियाशील रहेको र संघहरु बन्द हुँदा आर्थिक मन्दी आउन सक्ने उनको दावी छ । संघहरुले सदस्य संस्थाको क्षमता विकास, शुद्धिकरण, व्यवसायिकरण र ब्राण्डिङ कार्यक्रममार्फत् सबल बनाउँदै आएकाले मुलुकमा संघहरुको आवश्यकता रहेको उनको तर्क छ । अहिलेको आवश्यकता तालिम, शिक्षा, प्रविधि र एकीकरणको भएकोे र नीति विधिमा संस्थाहरुलाई अगाडि लैजान पनि संघहरुको वित्तीय कारोबारलाई रोक्न नहुने उनको भनाई छ । अध्यादेशका कतिपय व्यवस्थाले सहकारी अभियानलाई समस्यामा पारेको भन्दै त्यसलाई संशोधन गर्न आवश्यक रहेको उनको जिकिर छ ।

बागमती प्रोस्कून स्थापनाको इतिहास छोटो भए पनि सीजेएनमा आवद्ध सदस्यहरुको क्षमता विकास लागि शिक्षा तालिम जस्ता क्षेत्रमा सहकार्य गर्दै आएको उनले उल्लेख गरे । सीजेएनले सहकारी क्षेत्रको विकास, प्रवद्र्धन,  शुद्धिकरण तथा अभियानलाई अगाडि बढाउन सरोकारवाला निकायसँग समन्वय गरेर विभिन्न कार्यक्रम गर्दै आएको उनले स्मरण गरे । पत्रकारिता मार्फत् सहकारीका विषयमा आम जनमानसलाई सुसूचित गर्न सीजेएनले खेलेको भूमिका सराहनीय रहेको उनले बताए । 

विश्वभर १ अर्ब मानिस सहकारीमा आवद्ध रहेको र सहकारीमार्फत् कतिपय विकसित देशले आर्थिक समृद्धि हासिल गरेको उनले बताए । विश्वमा ३० लाख भन्दा बढी सहकारी संस्था रहेको र सहकारीमार्फत् उद्यम, व्यवसायका साथै रोजगारी सिर्जनामा उल्लेख्य योगदान पुगेको अध्यक्ष सापकोटाले जानकारी दिए । मुलुकको संविधानले अर्थतन्त्रको तीन मध्ये एउटा खम्बाको रुपमा सहकारी लिएको भए पनि सहकारीले संविधानको मर्म अनुसार काम गर्न नसको उनले स्वीकार गरे ।

talim 4.jpg
undefined

बागमती प्रोस्कूनले सदस्य संस्थाको क्षमता विकास र संस्थाहरुको ब्राण्डिङका लागि कोशिस कार्यक्रम सञ्चालन ल्याएको उनले बताए । बागमती प्रदेशका १ सय भन्दा बढी सहकारी संस्था कोशिस कार्यक्रममा आवद्ध रहेको र ती संस्थालाई गुणस्तरीय बनाउन संघ लागि परेको उनले बताए । स्तरीकरणमा आवद्ध सम्पूर्ण संस्थाहरुको संघले जिम्मा लिने समेत उनले जनाए । 

बागमतीको बचत ऋण अभियानलाई बलियो बनाउन संघ क्रियाशील रहेको भन्दै त्यसका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाई छ । सहकारीको विश्व अभ्यास, मुल्यमान्यता र सिद्धान्तलाई राज्यले कमजोर बनाउनु आपत्तिजनक हुने उनको भनाई छ । प्रदेश कार्यक्षेत्र भए पनि बहस पैरवीका लागि संघीय सरकारसम्म पुगेको उनले जानकारी दिए । 

कार्यक्रममा बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको उपस्थिति रहेको थियो भने, प्रोस्कूनका सीइओ केशव प्रसाद दाहाल र नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रशिक्षण गरेका थिए । सीजेएनका अध्यक्ष अर्जुन खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न सञ्चारगृहमा आवद्ध २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव माधव खड्काले गरेका थिए भने उपाध्यक्ष नमिता दुलालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।  

talim 3.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार