काठमाडौं । ठूलो रस्साकस्सी पछि सहकारी अभियन्ता डा. परितोष पौड्याल राष्ट्रिय सहकारी बैंकको सञ्चालक (बागमती प्रदेश) पदमा निर्वाचित हुनुभएको छ । तीन राजनीतिक दलको आड प्राप्त गर्नुभएका साझा उम्मेदबार पौड्यालले स्वतन्त्र रुपमा मैदानमा उत्रिनुभएका रामशरण शर्मा घिमिरेलाई पराजित गर्नुभएको हो ।
शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार रामशरण शर्मा घिमिरेलाई २७५ मतान्तरले पराजित गर्दै पौडेल विजयी हुनुभएको हो । निर्वाचनमा डा. पौड्यालले कुल १ हजार ८२७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी शर्माले १ हजार ५५२ मत प्राप्त गर्नुभयो ।
सातै प्रदेशमा सम्पन्न निर्वाचनमा पौड्यालले कोशी, गण्डकी, लुम्बिनी र कर्णालीमा बढी मत प्राप्त गर्दा बाँकी दुई प्रदेशमा भने घिमिरेले अग्रता कायम गर्नुभएको थियो । यद्यपि, गण्डकी प्रदेशमा भने डा.पौड्यालले फराकिलो मतान्तर कायम गर्नुभएको थियो । उक्त प्रदेशमा घिमिरेले केवल ८० मत प्राप्त गर्दा पौड्यालले ३२४ मत प्राप्त गर्नुभयो । २४४ मतको अन्तर गण्डकीमा भएको थियो ।
निर्वाचनमा कुल १५ मत्र बदर भएको थियो भने बागमती प्रदेशमा मात्र विद्युतीय मतदान गरिएको थियो । सातै प्रदेशमा गरी कुल ८,६७९ मतदातामध्ये हिजो ३,३९४ मात्र मत खसेको थियो । यो भनेको कुल मतदाताको ३९.११ प्रतिशत हो । मतदाता सहभागिता कम हुनु भनेको चिन्ता र चासोको विषय बनेको छ । सबैभन्दा बढी मतदाता सुदूर पश्चिम प्रदेशमा सहभागी भएका छन् सबैभन्दा कम मधेश प्रदेशमा भएका छन् । सुदूर पश्चिममा ५४.५५ प्रतिशत मतदान भएको छ भने मधेश प्रदेशमा ३२.४२ प्रतिशत मात्र मतदान भएको छ ।
यो निर्वाचनमा नेपाली कंग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिष्ट पार्टीबीचले चुनावी तालमेल गर्दै एमालेका सक्रिय नेता पौड्याललाई उम्मेदवार बनाएको थियो । एमालेमै आस्थावान घिमिरेले भने आफू बैंकको नेतृत्व गर्न योग्य हुँदाहुँदै पनि पार्टीबाट अन्यायमा परेको भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको थियो । दुई जनाबीच सहमतिका लागि पार्टीगत रुपमा तथा अभियन्ताहरुको पहलले सकारात्मक परिणाम नदिएपछि दुई जनाका लागि देशभरका प्रतिनिधिहरु निर्वाचनमा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएको हो । बाँकी ६ प्रदेशमा पनि तीन दलीय गठबन्धनका आधारमा चयन गरिएका प्रतिनिधिहरु सर्वसम्मत निर्वाचित भएपनि सबैभन्दा बढी मतदाता रहेको बागमतीमा भने चुनावनै गर्नुपर्ने अवस्था आउनुलाई धेरै प्रतिनिधिहरुले दुर्भाग्यपूर्ण समेत बताए । यसले उसैत कमजोर वित्तीय अवस्थामा रहेको बैंकको खर्च बढाएको भन्दै आलोचना समेत गरेका थिए ।
सहकारी संघ महासंघ तथा बैंकका विगतका निर्वाचनहरुभन्दा एक कदम अघि नै गएर राजनीतिक दलहरुको हस्तक्षेप भएको चर्चा यो पटक गरिएको थियो । एउटै राजनीतिक दलमा आस्थावान दुई उम्मेदवार चुनावी मैदान खडा भएसँगै सहकारी अभियानपनि ध्रुवीकृत भएको थियो । आँकलन र अड्कलबाजीहरु गर्मिएका थिए । दलको सकुर्लर अवज्ञा गर्ने, अन्तरघात गर्ने तथा 'वचन एकातिर मतदान अर्कैतिर' हुने विश्लेषण पनि गरिएका थिए । दुबै पक्षले आफ्नो विजय सुनिश्चित भएको स्वाभाविक प्रतिक्रियाहरु व्यक्त गरेका थिए ।
यद्यपि, धेरै अड्कलबाजीहरु मतदानमा अस्वीकृत भए । २ सय ७५ मतान्तरले गठबन्धनका साझा उम्मेदवार डा.पौड्याल विजयी हुनुभयो । हिजो मतदानको दिननै धिप्री डटकमसँग कुरा गर्दै दुबै उम्मेदवारले आफूहरुबीच व्यक्तिगत वैमनश्य केही नभएको, निर्वाचनलाई स्वस्थ्य प्रतिस्पर्धाका रुपमा लिएको भन्दै विधि र पद्धतिमा विश्वास गर्ने सहकारी अभियन्ता भएकाले निर्वाचनको परिणाम जस्तो आएपनि एकताबद्ध भएर सहकारी अभियानको सुदृढीकरणमा अघि बढ्ने बताउनुभएको थियो ।
यसबीच, नेकपा एमालेले डा.पौड्याललाई जिताउन सर्कुलरनै गरेपछि भने परिस्थिति पौड्याल प्रतिकूल बनेको अनुमान सहकारीवृत्तमा गरिएको थियो । अति राजनीतिकरण भएको र पार्टीको पहुँच र प्रभावको दुरुपयोग गरेको जस्तो आरोप उहाँमााथि लागेको थियो । कतिपयले नेकपा एमालेको यो कदम प्रत्युत्पादन हुने अनुमान गरेपनि आखिर निर्वाचन परिणाम भने पौड्याल अनुकूल नै गयो ।
यसैबीच, विगतमा नेफ्स्कून अध्यक्ष र महासंघ सञ्चालक रहिसक्नुभएका अभियन्ता पौडेलको यो विजयसँगै सहकारी बैंक यात्रा पनि औपचारिक रुपमा सदस्य अनुमोदित भएको छ । विजयीपछि डा. पौड्यालले बैंकलाई अझ सुदृढ, पारदर्शी र सदस्य–मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर सबै सदस्य संघ संस्थाहरुको बैंक बन्ने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन लक्षित ९ बुँदे वाचापत्रमा पनि पौड्यालले सुशासन र पारदर्शिताको विषय उठाउनुभएको थियो ।
बैंक सञ्चालक समितिमा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, गण्डकी प्रदेशबाट कमलादेवी गिरी, लुम्बिनी प्रदेशबाट विष्णु बराल, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा र सुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा युवराज पोख्रेल र ममता कुमारी साह निर्विरोध निर्वाचित भएका छन्। बैंकको संशोधित विनियमअनुसार सातै प्रदेशबाट एक–एक जना (कम्तीमा २ महिला सहित) खुला प्रतिस्पर्धाबाट सञ्चालक निर्वाचित हुने व्यवस्था छ। साथै, १ सहकारी विज्ञ र १ बैंकिङ विज्ञ सञ्चालक समितिले मनोनित गर्नेछ ।
बैंकको विनियमअनुसार निर्वाचित सात जना सञ्चालकहरूमध्येबाटै एक जना अध्यक्ष चयन हुने व्यवस्था छ। बागमती प्रदेशबाट सञ्चालक निर्वाचित पौड्याल बैंकको अध्यक्षको प्रबल दाबेदारसमेत हुनुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com