Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'महिलाले सञ्चालन गरेका सहकारीहरु समस्याग्रस्त भएका छैनन्'

'महिलाले सञ्चालन गरेका सहकारीहरु समस्याग्रस्त भएका छैनन्'

काठमाडौं । मुलुकमा सहकारी क्षेत्रमा सुशासनका विविध समस्या देखापरे पनि महिलाहरुले सञ्चालन गरेको सहकारीमा भने वित्तीय अनुशासन परिपालना नगरेको समस्या नरहेको धारणा सरोकारवालाहरुले राख्नुभएको छ । सहकारीमा समस्यामा परेका जतिपनि सहकारी छन् र समस्याग्रस्त सहकारीहरु छन् तिनको अध्ययन र विश्लेषण गर्ने हो भने पनि महिलाहरुले सञ्चालन गरेको र नेतृत्व गरेको संस्थामा समस्या नरहेको विचार उहाँहरुले व्यक्त गर्नुभएको छ । सहकारीमार्फत महिलाहरु बरु सशक्त भएको थुप्रै उदाहरणहरु रहेको भन्दै सहकारीवेत्ताहरुले महिलाहरुलाई अवसर उपलब्ध गराउने हो भने उदाहरणीय काम गरेर देखाउन सक्ने धारणा उहाँहरुले राख्नुभयो । सहकारीमा महिलाहरुलाई केवल नेतृत्व होइन अर्थपूर्ण नेतृत्व आवश्यक भएको पनि कतिपयको सुझाव थियो ।

राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको उद्घाटन सत्रमा बोल्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले महिलाले संचालन गरेका कुनैपनि सहकारी संस्था समस्याग्रस्त नबनेको बताउनुभयो । महिलाहरुले सञ्चालन गरेको सहकारीहरु सुशासित र विश्वासिलो हुने गरेको उहाँको भनाइ थियो । सचिव भुजेलले भन्नुभयो, 'महिलाहरु अवसर पाउने हो भने सहकारीलाई राम्रोसँग सञ्चालन गर्न सक्छन् ।' उहाँले महिलाहरुले सहकारी सञ्चालन गर्दा समस्या नआउने बताउनुभयो । सचिव भुजेलले गरिबी निवारण स्वरोजगारी सिर्जना र महिला शसक्तिकरणमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । सहकारीमा आवद्ध भएपछि महिलाहरुको समग्र आर्थिक, सामाजिक, साँस्ककृति तथा नेतृत्व क्षमता अभिबृद्धि भएको उहाँले उल्लेख गर्नुभयो । 

यसैगरी, राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले पनि महिलाहरुले सञ्चालन गरेको सहकारीहरु सुशासित, पारदर्शी र विश्वासिलो भएको चर्चा गर्नुभयो । महिलाहरुले सञ्चालन गरेको र नेतृत्व गरेको सहकारी सुशासित हुन्छन् समस्या हुँदैन भन्ने देखाएको उहाँले बताउनुभयो । केही सहकारीमा समस्या देखिएको भन्दै सम्पुर्ण सहकारी आन्दोलन वा महिला नेतृत्वलाई कम्जोर ठान्नु गलत हुने बताउनुभयो ।  

यसैगरी, सचिव भुजेलले सहकारीले गर्दा महिलाको आर्थिक पहुचँ र निर्णय क्षमतामा बृद्धि भएको बताउनुभयो । उहाँले हाल मुलुकमा संचालित ३२ हजार सहकारीमा १ करोड जनसंख्या आवद्ध भएको र त्यसमा ५६ प्रतिशत संख्या महिलाको रहेको उल्लेख गर्नुभयो । साथै सहकारीमा कार्यरत कर्मचारीहरु मध्ये ६० प्रतिशत महिला रहेको पनि जानकारी दिनुभयो ।। उहाँका अनुसार सानाकिसान सहकारीमा सबैभन्दा बढी ८० प्रतिशत महिला आवद्ध छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै महासंघका महाप्रबन्धक डा.बाबुकाजी थापाले पुरुषको तुलनामा महिलाहरु इमानदार हुने र आर्थिक पाटोमा पारदर्शी भएकाले महिलाले सञ्चालन गरेको सहकारीमा कुनै समस्या नआएको बताउनुभयो । उहाँले  ‘पोलिसी’ र ‘लिगल फ्रेमम’लाई बलियो बनाउन सके सहकारी मार्फत् महिलाले उल्लेख प्रगति गर्न सक्ने दाबी गर्नुभयो । नेपालको सहकारीमा महिलाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सदस्यको हिसावले ५६ प्रतिशत महिला सहकारीमा आवद्ध रहेको, सञ्चालक समितिमा ४० प्रतिशत र व्यवस्थापनमा २० प्रतिशत महिला रहेको जानकारी गराउनुभयो । 

यस्तै, महासंघकी सल्लाहकार डा. उषा झाले  ४० प्रतिशत महिला सहकारीको लिडरसीपमा हुनु उपलब्ध भएको बताउनुभयो । कार्यत्रमकी प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सहकारी अभियानले विश्वभर महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा ठूलो योगदान पुर्याएको बताउनुभयो । उहाँले महिलाहरुको सशक्तिकरण, आत्मनिर्भरता र नेतृत्व विकासमा सहकारीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

विश्वमा महिलाहरूको सहभागिता बिना दिगो विकासको परिकल्पना गर्न नसकिने विचार राख्दै उहाँले एसियामा महिला सहभागिताको हिसाबले नेपाल, फिलिपिन्स पछिको दोस्रो स्थानमा रहनु गौरवको विषय भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार