Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सशक्त विचार र रणनीतिक नेतृत्व विकास प्रशिक्षण सुरु, नेतृत्व र संस्थागत उत्कृष्टतामा जोड

सशक्त विचार र रणनीतिक नेतृत्व विकास प्रशिक्षण सुरु, नेतृत्व र संस्थागत उत्कृष्टतामा जोड

बागलुङ, असार ८, २०८३ । समाजमा सकारात्मक सोच, दूरदर्शी नेतृत्व र सक्षम संस्थागत संस्कृतिको विकास गर्ने उद्देश्यले चारतारे युवा क्लब, सिवाईसी नेपालको आयोजनामा दुईदिने “सशक्त विचार तथा रणनीतिक नेतृत्व विकास प्रशिक्षण” कार्यक्रम आजदेखि सुरु भएको छ । “दूरदर्शी सोच, रणनीतिक नेतृत्व, उत्कृष्ट संस्थागत परिणाम” भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रशिक्षणमा जिल्लाका विभिन्न क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय बलावती शर्माले वर्तमान समयमा समाज, संस्था र राष्ट्रको समग्र विकासका लागि सकारात्मक सोच र रणनीतिक नेतृत्वको आवश्यकता झन् बढ्दै गएको बताउनुभयो । उहाँले व्यक्तिको सोचले नै उसको व्यवहार, नेतृत्व शैली र संस्थाको कार्यसम्पादनलाई प्रभावित गर्ने भएकाले नेतृत्व तहमा रहेका व्यक्तिहरूले निरन्तर सिकाइ र आत्मविकासमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

2.JPG
undefined

प्रशिक्षणमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, विद्यालय तथा क्याम्पसका प्राध्यापक तथा शिक्षक, सामाजिक अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सिवाईसी नेपालका विशिष्ट तथा आजीवन सदस्य, सिवाईसी साकोसका सदस्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका पदाधिकारी सदस्य लगायत करिब एक सय जनाको सहभागिता रहेको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत महेशराज दाहालले रणनीतिक नेतृत्व, सशक्त विचार, संस्थागत उत्कृष्टता तथा समूह सशक्तीकरण विषयमा प्रशिक्षण प्रदान गरिरहनुभएको छ । नेतृत्व विकास, संगठन निर्माण तथा प्रेरणामूलक प्रशिक्षणका क्षेत्रमा लामो अनुभव बटुल्नुभएका दाहालले सहभागीहरूलाई परिवर्तनशील नेतृत्व, लक्ष्य निर्धारण, निर्णय क्षमता, संस्थागत संस्कृति र प्रभावकारी टोली व्यवस्थापनका विषयमा सहजीकरण गरिरहनुभएको छ ।

6.JPG
undefined

त्यसैगरी विकास तथा मानवीय सेवाका विज्ञ गोविन्द दाहालले सशक्त विचार, सकारात्मक सोचको विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण प्रदान गरिरहनुभएको छ ।

उद्घाटन सत्रकै अवसरमा चारतारे युवा क्लब, सिवाईसी नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग समेत प्रदान गरेको छ । बागलुङ नगरपालिका–८ सिगानास्थित बौडेचौर माध्यमिक विद्यालय अन्तर्गत रहेको थ्री जिरो क्लबमा आबद्ध विद्यार्थीहरूलाई “पढ्दै कमाउँदै” अवधारणाअनुरूप प्रयोगात्मक सीप विकास तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ । उक्त रकमबाट प्लाष्टिक घरभित्र मौसमी तथा बेमौसमी तरकारी, फलफूल तथा अन्य उत्पादनमूलक कृषि गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ ।

त्यसैगरी, बागलुङ नगरपालिका–९ तित्याङस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दक्षिणकाली मन्दिरको पुनर्निर्माण अभियानका लागि संस्थाको तर्फबाट दश हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ ।

कार्यक्रमको उद्घाटन सत्र समापन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले चारतारे युवा क्लब, सिवाईसी नेपालले विगतदेखि नै युवाहरूको क्षमता विकास, सामाजिक रूपान्तरण, नेतृत्व निर्माण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले विविध क्षेत्रका नेतृत्व तहमा रहेका व्यक्तिहरूलाई एकै स्थानमा भेला गराई साझा सिकाइ, अनुभव आदान–प्रदान तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

8.JPG
undefined

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण खड्काको स्वागत र सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

आयोजकका अनुसार प्रशिक्षणबाट सहभागीहरूले नेतृत्व, व्यवस्थापन, व्यक्तिगत विकास तथा संस्थागत सुधारका विषयमा व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ । विभिन्न क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरूबीच अनुभव आदान–प्रदान र सहकार्यको वातावरण सिर्जना हुनुका साथै समाज र संस्थाको समग्र विकासका लागि साझा प्रतिबद्धता निर्माण गर्न समेत कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार