Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

सभामुख अर्यालले आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभयो । विधेयक साउन १ गतेदेखि लागू हुनेछ ।

पारित हुनुअघिको छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पुँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पुँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

नेकपाकी सांसद पार्वती वि.क.ले बजेटको ठूलो हिस्सा चालु खर्च र ऋणको साँवा–ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो ।

नेकपा (एमाले) का सांसद डा.पुष्पराज कँडेलले आन्दोलनका क्रममा निजी क्षेत्रले व्यहोरेको क्षतिमा ५० प्रतिशतको सट्टा शतप्रतिशत भन्सार छुट दिनुपर्ने माग गर्नुभयो ।

प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पुँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दाबी गर्नुभयो । पुँजीगत खर्च बढाउन रकमान्तरकाे अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्वतयारी कडाइका साथ लागू गर्ने उहाँको भनाई छ ।  

सांसद हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राख्नुभएको संशोधन फिर्ता लिनुभयो । सांसद गङ्गालक्ष्मी अवाल, डा पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले उक्त विधेयकमाथि राख्नुभएको संशोधन बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार