Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

वाल्मीकि विद्यापीठमा ‘वेदान्तपरिभाषा’ विषयको प्रविधिमैत्री स्मार्ट कक्षा शुभारम्भ

वाल्मीकि विद्यापीठमा ‘वेदान्तपरिभाषा’ विषयको प्रविधिमैत्री स्मार्ट कक्षा शुभारम्भ

 
काठमाडौं, २०८३ असार १७। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको वेदान्त विभागले २०८३ साल असार १७ गते (बुधवार) देखि वेदान्तपरिभाषा विषयको प्रविधिमैत्री स्मार्ट विशेष कक्षा औपचारिक रूपमा शुभारम्भ गरेको छ । शास्त्रीय ज्ञानपरम्परालाई आधुनिक सूचना तथा सञ्चारप्रविधिसँग समन्वय गर्दै वेदान्त अध्ययन-अध्यापनलाई गुणस्तरीय, अनुसन्धानमुखी, अन्तरक्रियात्मक तथा विश्वव्यापी पहुँचयुक्त बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
 
विशेष कक्षाको शुभारम्भ वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. अच्युतप्रसाद लामिछानेको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो । यस अवसरमा उहाँले संस्कृत तथा वेदान्तजस्ता शास्त्रीय विद्याको संरक्षण र संवर्द्धनका लागि आधुनिक प्रविधिको समुचित उपयोग समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले ज्ञानको प्रभावकारी सम्प्रेषण, अनुसन्धान प्रवर्द्धन तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
 
वेदान्त विभागका विभागाध्यक्ष तथा कक्षा–संयोजक प्रा.डा. सुमोदवर्धन कौडिन्न्यायनको संयोजनमा सञ्चालन हुने यस विशेष कक्षा वेदान्त दर्शनका विद्यार्थी, दर्शन विषयका सम्पूर्ण प्राध्यापक तथा वेदान्तप्रति अभिरुचि राख्ने वाल्मीकि विद्यापीठका सम्पूर्ण प्राध्यापकहरूका लागि लक्षित गरिएको छ । नियमित अध्ययनसँगै शास्त्रार्थ, तात्त्विक चिन्तन, अनुसन्धान तथा डिजिटल माध्यमबाट ज्ञान आदान-प्रदानलाई संस्थागत गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको विभागले जनाएको छ ।
 
वेदान्त विभागका अनुसार वेदान्तपरिभाषा अद्वैत वेदान्तको प्रमाणमीमांसा तथा ज्ञानमीमांसासम्बन्धी अत्यन्तै महत्त्वपूर्ण प्रामाणिक ग्रन्थ हो । यस ग्रन्थको व्यवस्थित अध्ययनबाट वेदान्त दर्शनका सूक्ष्म सिद्धान्तहरूको गहन बोध, तार्किक विश्लेषण क्षमता तथा अनुसन्धान अभिरुचिको विकासमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रविधिमैत्री स्मार्ट कक्षामार्फत उक्त अध्ययनलाई अझ प्रभावकारी, व्यवस्थित र व्यापक बनाइने विभागको विश्वास छ ।
 
प्रविधिमा आधारित यस विशेष कक्षा सञ्चालनका लागि आवश्यक शैक्षिक वातावरण, संस्थागत सहयोग तथा पूर्वाधार उपलब्ध गराई निरन्तर प्रेरणा प्रदान गर्नुभएकोमा वेदान्त विभागले प्राचार्य प्रा. अच्युतप्रसाद लामिछानेप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । साथै, कार्यक्रमको सफल सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने वाल्मीकि विद्यापीठका सम्पूर्ण कर्मचारीहरूप्रति विभागले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
 
वेदान्त विभागको यो पहल परम्परागत संस्कृत शिक्षालाई आधुनिक प्रविधिसँग समन्वय गरी अनुसन्धान, नवप्रवर्तन र शैक्षिक उत्कृष्टताको दिशामा अग्रसर गराउने एक महत्वपूर्ण शैक्षिक अभियानका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ । यसले वेदान्त दर्शनको अध्ययनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक समुदायसँग जोड्दै संस्कृत विद्याको समकालीन सान्दर्भिकता र वैश्विक पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार