Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
राष्ट्रिय सहकारी बैंकको २४औं स्थापना दिवस

‘सहकारी अभियन्ताहरुले आफ्नो संस्थाका सफलताका कथाहरु सुनाउन सक्नुपर्दछ’

‘सहकारी अभियन्ताहरुले आफ्नो संस्थाका सफलताका कथाहरु सुनाउन सक्नुपर्दछ’

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सहकारी अभियन्ता भन्नेहरुले आफूले प्रतिनिधित्व गरेको संस्थाको सफलताको कथाहरु अरुलाई सुनाउनसक्नुपर्ने बताउनुभएको छ । सहकारी अभियन्ताहरुकै प्रारम्भिक संस्थाहरुको हालत बिजोग भएको, झोलामा संस्था रहेको तर अरुलाई सहकारीको पाठ पढाएर हिड्ने गरेको भन्ने आम आरोपका सम्बन्धमा स्पष्ट धारणा राख्दै बैंकका अध्यक्ष उप्रेतीले अभियन्ता भन्नेहरुले आफ्नो संस्थाको सफलताको बारेमा सरोकारवालाहरुलाई सुनाउन सक्नुपर्ने बताउनुभएको हो । 

सहकारी बैंकको २४औं स्थापना दिवसको अवसरमा आज आयोजित 'सहकारी पुनर्जागरण: चुनौतीलाई अवसरमा बदल्ने रणनीति-कानुनी परिवर्तन र समाधानको योजना' विषयक प्रदेशस्तरी गोष्ठीमा अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘अभियन्ताहरुको संस्था नहुने, झोलामा संस्था राख्ने, नेतृत्व गर्ने अनि कसरी अभियान सफल हुन्छ भन्ने आरोप लागिरहेकोले अभियानकै लागि काम गर्ने उहाँहरुले ती आरोपलाई प्रष्ट पार्ने अवसर पाउनुपर्छ । त्यसका लागि जुनस्तरका कार्यक्रम जहाँ हुन्छन्, त्यहाँका सम्बन्धित सहकारी संघहरुका सञ्चालकहरुले क्रमशः आफ्नो संस्थाको सफलताको प्रस्तुति गर्ने गर्नुपर्छ । त्यसो हुँदा सदस्यहरुले अभियानमा जोडिनुभएका अभियन्ताहरुको संस्थाले पनि राम्रो काम गरिरहेको छ भन्ने सन्देश सम्प्रेषण गर्न सकिन्छ । यसको लागि म अनुरोध गर्न चाहन्छु ।’

उहाँले सहकारीप्रतिको गलत भाष्य चिर्न पनि सफलताका कथाहरु प्रस्तुत गरिनुपर्ने तर्क गर्नुभयो । ‘सहकारी क्षेत्रका सबै लुटेरा भए, बदमास भए, ठग भए, सहकारीमा सफलता छैन, सबैका सटर डाउन भन्ने भाष्य चिर्न हामीले सफलताका कथाहरु नपस्कने हो भने ती हराउने भए, उहाँले भन्नुभयो, ‘त्यही भएर हामीले महासंघदेखि विषयगत केन्द्रीय संघ, सहकारी बैंक, जिल्ला देखि सबैले जुन स्तरका कार्यक्रम गर्छौं, समय व्यवस्थापन गरेर सहकारीका सफलताका कथामा आधारित दुई तीन वटा छोटा छोटा डकुमेन्ट्रीहरु प्रस्तुत गर्ने गरौं जसले गर्दा होइन, सहकारीमा राम्रो गर्नेहरु पनि छन् भन्ने सकारात्मक सन्देश सम्प्रेषण गर्न सकोस् ।’

कार्यक्रमका प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतमले स्थापना दिवसमा प्रस्तुत गरिएका बैंकका तीन वटा सदस्य संस्थाका सफलताका कथाहरुले राम्रो सन्देश प्रवाह गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । सोही कुरा जोड्दै बैंकका अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘प्रमुख अतिथिज्यूको मेसेज कति महत्वपूर्ण थियो ।'

कार्यक्रममा गत मंसिरमा सम्पन्न सहकारी बैंकको वार्षिक साधारण सभाबाट उत्कृष्ट पुरस्कृत ३ वटा सदस्य सहकारीका सफलताको प्रस्तुतीकरण पनि गरिएको थियो । प्रमुख अतिथि रजिष्ट्रार गौतमले ती प्रस्तुतिबाट सहकारीलाई कसरी सुशासित, सदस्य केन्द्रित भएर काम गर्दै सफलता प्राप्त गर्ने भन्ने विषय अन्य सहकारीहरुले पनि सिक्नुपर्ने बताउनुभएको थियो । 

बैंक स्थापनको २४औं वर्षको सेलेब्रेसन गर्न कार्यक्रम आयोजना गरिएको भएपनि हर्षोल्लासकाबीच एकदमै खुसी भएर सहकारी क्षेत्रका गतिविधि, कार्यक्रम गर्न अहिले सहज र स्वस्थ्य वातावरण नभएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

‘त्यसैले सहकारी क्षेत्रको चिन्ता सम्बोधन गर्ने प्लेटफर्म बनोस् भनेर समसामयकि विषय स्थापना दिवससँग जोडेका हौं, ’अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘त्यसमै हामीले सहकारीका सफलताको प्रस्तुति पनि राखेका हौं ।’

एक अर्को प्रसंगमा अध्यक्ष उप्रेतीले बैंकले यो वर्ष पनि लाभांश दिन नसक्ने भन्दै अर्को वर्षबाट वित्तीय अवस्थामा उल्लेख्य सुधार आउने र प्रतिफल दिन सकिने बताउनुभयो । अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘हामीले कमी कमजोरी जस्ताको तस्तै राखेका छौं, वित्तीय अवस्था स्पष्ट रुपमा राखेका छौं । भाखा नाघेको ऋण ३८ प्रतिशत हुँदा पनि हामीले खुल्लमखुल्ला सार्वजनिक गरेका छौं । रियल पोजिशन यही हो । तर, हामी सुधार गर्दैछौं । विगतमा तयार गरिएका सुधारको योजनाको जगमा उभिएर अहिलेको समिति योजनाबद्ध ढंगले अघि बढेको छ । अब नियामकीय सकारात्मकताका लागि आग्रह गर्छौं ।  कानूनी वातावरण बनाइदिन आग्रह गर्छौं ।’ उहाँले सहकारी क्षेत्रमा व्याप्त निराशाबीच आशा सञ्चार गर्ने दिशामा ऐक्यबद्धताका लागि सबैसँग आग्रह पनि गर्नुभयो ।

अध्यक्ष निर्वाचित भैसकेकपछिको उप्रेतीको पहिलो स्थापना दिवस संयोगले उहाँको आफ्नै जन्मदिन पनि परेको हो । त्यसैगरी, सहकारी क्षेत्र दलदलमा फस्यो, समस्यै समस्या आए अब यसबाट निस्कन सक्ने केही उपाय छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘के त्यस्तै हो त ? सहकारी क्षेत्रको पुनर्जागरणको सम्भावना छैन ? यसलाई अब बहसको विषय बनाउनुपर्ने भन्दै हामीले त्यही प्रयास छेडेका हौं ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक एवम् राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान विज्ञ सदस्य डा.रमेश प्रसाद चौलागाईले सहकारी क्षेत्रमा विद्यमान समस्याहरु प्रस्तुत गर्दै समाधानका बाटाहरु पनि प्रस्तुतीकरणमार्फत सुझाउनुभएको थियो ।

उक्त प्रस्तुतिका बारेमा बैंकका अध्यक्ष उप्रेतीले टीप्पणी गर्नुभयो, ‘अब समस्या पहिचान भइसकेको र समाधानको उपायहरु समेत आएकाले हामीले समाधानतर्फ लाग्नुपर्ने बेला आएको छ । निराशानै निराशाको भारी बोकेर मात्रै हिड्ने हो र ? 

अहिले सदस्यहरुले बैंकबाट वित्तीय साझेदारी, कानुनी परामर्श र प्राविधक सहयोग अपेक्षा गरेको भन्दै त्यसका लागि गम्भीरतापूर्वक हरसम्भव प्रयास गरिने विश्वास अध्यक्ष उप्रेतीले दिलाउनुभयो । उहाँले ५७ वटै शाखामा 'सदस्य भेटौं, सदस्य सुनौं' कार्यक्रम गरेर सुझावहरु संकलन गरी आगामी आर्थिक वर्षको कार्यक्रममा समेटिएको दाबी गर्नुभयो । ती सुझावहरुसँगै बैंकको इतिहास, वर्तमान र भावी योजना समेटेर प्रमुख कार्यकारी अधिृकत बद्री कुमार गुरागाईले प्रस्तुतीकरण गर्नुभएको थियो ।  

WhatsApp Image 2026-07-09 at 19.43.20.jpeg
undefined

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार