काठमाडौं । सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतमले सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार काम गर्ने सहकारीहरुकै कारण नियामकहरुको पनि इज्जत जोगिएको बताउनुभएको छ । सहकारीमा कडा नियमनको विषयहरु उठ्दै गर्दा स्वनियमन,सदस्य केन्द्रित र पारदर्शी सहकारीहरुले मूल्य, मान्यता र सिद्धान्त अनुसार काम गरेका संस्थाहरुकै कारण नियामकहरुलाई पनि गौरवानुभूति भएको चर्चा गर्नुभयो ।
सहकारी बैंकको २४औं स्थापना दिवसको अवसरमा आज आयोजित 'सहकारी पुनर्जागरण: चुनौतीलाई अवसरमा बदल्ने रणनीति-कानुनी परिवर्तन र समाधानको योजना' विषयक प्रदेशस्तरी गोष्ठीमा उहाँले भन्नुभयो, ‘आज सफलताको प्रस्तुती गर्नुभएका तीनवटै संस्थाको नाम लिदा पनि गौरव महशूस हुन्छ । नाम लिन पनि गौरवका साथ नाम लिन पनि मन लाग्छ–बाँसडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था, सहायता सामाजिक उद्यमशील महिला सहकारी संस्था र हातेमालो बचत तथा ऋण सहकारी संस्थालाई विशेष धन्यवाद छ । उहाँहरुले हाम्रो इज्जत राखिदिनुभएको रहेछ । उहाँहरुको कामले हाम्रो पनि इज्जत राखेको छ । उहाँहरु विशेष धन्यवादका पात्र हुनुहुन्छ ।’
रजिष्ट्रार गौतमले प्रश्न गर्नुभयो, ‘सहकारी बैंकबाट पुरस्कृत तीन वटा सहकारीले के गर्नुभएको छ त ? अरु हामीले किन त्यस्तै गर्न सकिरहेका छैनौं त ? आफैं मनन गर्ने विषय हो । उहाँहरुले कसरी गर्नुभयो त ? उत्तर त्यही छ त । उहाँहरुले सदस्यहरुको चाहनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । त्यही मर्म लुक्या छ सहकारीमा । सदस्यबाट हामी डेभिएट छैनौं भने त सदस्यको विश्वास आर्जन गर्न सकिन्छ । अलिकति हामी उद्यमशीलता र उत्पादनमा केन्द्रित छौं भनेर उहाँहरुले भन्नुभयो । त्यो एकदम राम्रो विषय हो । अर्को सुशासन र पारदर्शिता हामीले पालना गरिरहेका छौं भन्नुभयो । के उहाँहरुलाई रजिष्ट्रारको कार्यालयले यसो गर्नुस् उसो गर्नुस् भन्या होला त ? पक्कै उहाँहरुले सहकारीको मूल्य, मान्यता र दर्शन अनुरुप आफै काम गर्नुभयो । स्वनियमनमा रहनुभयो । स्वअनुशासनमा रहनुभयो, पारदर्शीता कायम गर्नुभयो । त्यहाँ किन समस्या आएन त ? हामी अरुले पनि उहाँहरुबाट शिक्षा र प्रेरणा लिनुपर्छ ।’
उहाँले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र दर्शन पालना नगरेकै कारण समस्या आएको बताउनुभयो । ‘केही न केही त समस्या छ नि त ?, ’उहाँले भन्नुभयो, ‘त्यही भएर पुनर्जागरणको आजको विषय सान्दर्भिक पनि छ । मलाई असाध्यै मनपर्यो । ’
रजिष्ट्रार गौतमले स्थापना दिवसको आजको कार्यक्रमको विषयले सहकारीमा पुनर्जागरण आवश्यक छ भन्ने विषय सहकारी बैंकले इन्टरनलाइज गरेको बताउनुभयो । उहाँले कतिले त सहकारी क्षेत्रमा पुनर्जागरण आवश्यक छैन भन्ने गरेको भन्दै सोध्नुभयो, ‘त्यसो भए के त लाखौं सहकारी पीडितहरु, पीडित नै होइनन त ?’ सहकारीमा हिजो अवस्था राम्रो थियो, बीचमा समस्या आयो र अब पुनर्जागरण आवश्यक छ भन्ने विषय बैंकको कार्यक्रमले पनि पुष्टि गरेको तर्क उहाँको थियो । रजिष्ट्रार गौतमले भन्नुभयो, ‘सहकारी क्षेत्रमा पुनर्जागरण आवश्यक छ । कहीकतै कमजोरी भयो अब सुधार गर्नुपर्छ ।’
अहिले सहकारी पीडितहरु र उनीहरुका आफन्तले सहकारीका सम्बन्धमा दिएको मेसेजको प्रभाव के कस्तो होला भन्नेतर्फ अभियानले मनन नै नगरेको उहाँको भनाइ थियो । ‘त्यहाँ त दशौं लाखको संख्या होला । उनीहरुले सहकारीका बारेमा दिने मेसेजले हामीले विश्वास आर्जन गर्न नसकेको कुरा त हो नि, ’रजिष्ट्रार गौतमले भन्नुभयो, ‘त्यसैले पनि पुनर्जागरण आवश्यक छ । हामी नियामकहरुले पनि महशूस गरेको विषय हो यो ।’
सहकारीको संख्या वा तथ्याङ्कमा व्याप्त अन्यौल अरु कसैका कारण नभई अभियानकै कारण भएको उहाँको भनाइ थियो । ‘कोपोमिसमा तथ्याङ्कहरु अपडेट गरिदिए त हामी त्यही लिएर हिड्थ्यौ नि त, ’ रजिष्ट्रार गौतमले प्रश्न गर्नुभयो, ‘किन हामी हाम्रो तथ्याङ्क समेत इन्ट्री गर्न सक्षम छैनौं कि ? वा किन देखाउने राज्यलाई हाम्रो तथ्याङ्क भनेर हो कि ? यो त मैले अभियानलाई प्रश्न गरिरहेको छु । महासंघलाई प्रश्न हो । राज्यले बनाएको सिष्टममा इन्ट्री गर्न हामी सक्दैनौं भने दर्शन, सिद्धान्तका कुरा गरेर भाषण गरेर होला त ?’
उहाँले अब राम्रो गर्ने सहकारीलाई प्रोत्साहनसँगै गलत गर्नेलाई शुद्धीकरणमा जानुपर्ने पनि बताउनुभयो । ‘दोहोरो तेहेरो सदस्यतालाई मात्र नियन्त्रण गर्न सकियो भने सहकारीहरु आफै मर्ज हुन्छन्, ’उहाँले भन्नुभयो, ‘के गर्ने होला त ? हामी तयार छौ त ? एनआइडी र प्यान नम्बर हालेर हामी तथ्याङ्क अद्यावधिक गर्न सक्छौं त ? अब हामी त्यो मिशनमा लाग्छौ है । यहाँहरुको साथको लागि अनुरोध पनि छ । टालटुले प्रवृत्तिले समस्या समाधान भन्दा झन थपिदै जान्छ ।’
पुँजी परिचालनमार्फत वित्तीय स्थायित्व कायम गर्ने, सामाजिक र आर्थिक रुपान्तरणमा पुर्याएको योगदानको विषयमा सिईओ बद्री कुमार गुरागाईको प्रस्तुतिले बैंक राम्रो दिशातर्फ गइरहेको भन्दै प्रशंसा गर्नुभयो । यद्यपि, ३८ प्रतिशत एनपील राम्रो नभएपनि बैंकले वास्तविकता जस्ताको तस्तै राखेको भन्दै अब आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुशासनका स्थापित मानकहरु प्रारम्भिक संस्थातर्फ पनि प्रसारण आवश्यक भएको बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com