देवघाट । पहिला पहिला नेपाली समाजमा विद्या हराए काशी जानूू भन्ने कहावत प्रसिद्ध थियो तर आज त्यो फेरिएर 'ज्ञान चाहिए देवघाट आउनू' भन्ने सुनिन थालेको छ । यो परिवर्तनको केन्द्रमा देवघाटमा सञ्चालित गुरुकुल आश्रमहरु रहेका छन् । केही वर्ष अघिदेखि बनारस, ऋषिकेश, सिक्किम, दार्जिलिङ् लगायतका विभिन्न भारतीय शहर र क्षेत्रहरुबाट संस्कृत पढ्नका लागि छात्रहरु देवघाटका गरुकुलमा आउने गरेकोमा पछिल्ला वर्षमा शास्त्रीय अध्ययन र अनुसन्धानका निम्ति भारतीय विद्वान्हरु पनि देवघाट आउन थालेका छन् । यसै क्रममा श्रावण आठ गते सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका पन्ध्रजना प्रतिष्ठित विद्वान्हरु शास्त्रसभाका निम्ति देवघाटको महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलमा आइपुगेका हुन् ।
यसै गुरुकुलले वि.सं.२०७४ सालको गुरुपूर्णिमाका दिन ब्रह्मलीन भएका आश्रमका संस्थापक अध्यक्ष डा स्वामी रामानन्द गिरिको नवौँ वार्षिक स्मृतिदिवसको उपलक्ष्यमा यही श्रावण ९ गतेदेखि १५ गतेसम्म सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सहितको गुरुपूर्णिमा एवम् नवौँ गुरुस्मृति महोत्सव आयोजना गरेको छ ।
सोही महोत्सव अन्तर्गत श्रावण नौ र दश गते सञ्चालन भएको रामानन्द प्रज्ञा शास्त्रसभामा भाग लिन सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका पूर्व कुलपति एवम् काशी हिन्दू विश्वविद्यालय संस्कृतविद्याधर्मविज्ञानसंकायका वर्तमान अध्यक्ष प्रोफेसर राजाराम शुक्ल , सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय तुलनात्मकदर्शन विभागका पूर्व अध्यक्ष प्रोफेसर हरिप्रसाद अधिकारी र नेपाली संस्कृतछात्र समितका अध्यक्ष आचार्य प्रदीप पौडेलको नेतृत्वमा भारतीय विद्वत्मण्डल देवघाट आइपुगेको थियो ।
महेश संस्कृत गरुकुलको ब्रह्मसभामण्डपमा सञ्चालित शास्त्रसभामा नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न आंगिक विद्यापीठबाट वेद, वेदान्त, व्याकरण,न्याय, साहित्य, मीमांसा र धर्मदर्शन विषयका प्राध्यापकहरुको उपस्थिति रहेको थियो । विशेष गिरी वाल्मीकी विद्यापीठ काठमाण्डौँ, विन्दुवासिनी संस्कृत विद्यापीठ पोखरा, विश्वविद्यालय विद्यापीठ दाङ्, कालिका संस्कृत विद्यापीठ(गैंडाकोट नवलपुर र यालना संस्कृत विद्यापीठ मटिहानी तथा महेश संस्कृत गुरुकुल विद्यापीठ, परमानन्द संस्कृत गुरुकुल विद्यापीठ, वेदवेदाङ्ग संस्कृत विद्यापीठ देवघाटका तीस जनाभन्दा धेरै विज्ञ प्राध्यापक र नेपाली संस्कृत छात्र समिति वाराणसीका आचार्य एवम् पदाधिकारीहरुको उल्लेख्य सहभागितामा पूर्ण शास्त्रीय मर्यादाको ऐतिहास शास्त्रसभा सम्पन्न भएको हो ।
दुई दिनका छवटा सत्रमा सञ्चालन भएको शास्त्रसभाको पहिलो दिन श्रावण ९ गते बिहान महेश संन्यास आश्रमका वर्तमान पीठाधीश स्वामी रमणानन्द गिरिको अध्यक्षता र प्रो.राजाराम शुक्लको प्रमुख आतिथ्यमा समुद्घाटन सत्र सञ्चालन भएको थियो भने दिउँसो १०बजेदेखि १ बजेसम्म र ३ बजेदेखि ६ बजेसम्म सञ्चालित दुईवटा सत्रमा १२जना विद्वान्हरुले प्रस्तुत गरेका विभिन्न शास्त्रीय विषयको गहन विमर्शसहित निष्कर्ष निकालिएको थियो । त्यसैगरी सभाको दोस्रोदिन १० गते बिहान र दिउँसो सञ्चालित दुई सत्रमा १२ जना विद्वान्हरुले विभिन्न विषयको व्याख्यान प्रस्तुत गरेका थिए भने सोही दिन अपराह्नमा सञ्चालित सम्पूर्ति सभामा दुईदिने शास्त्र विमर्शको समन्वयात्मक निष्कर्ष निर्धारण गर्दै आमन्त्रित अतिथिहरुलाई सम्मान र वक्ताहरुलाई दक्षिणासहित प्रमाणपत्र वितरण गरिएको थियो । शास्त्रको संरक्षण र संवर्धनका निम्ति दुई देशका विशेषज्ञहरुको प्रत्यक्ष सहभागितामा यसैगरी व्याख्यान सभाहरु आयोजना गर्ने संकल्पसहित रामानन्द प्रज्ञा शास्त्रसभा सम्पन्न भएको छ ।
आश्रमले गुरुपूर्णिमा एवम् ब्रह्मलीन गुरुको नवौँ स्मृतिउत्सवको उपलक्ष्यमा सप्ताहव्यापीरुपमा आयोजित कार्यक्रमहरु मध्ये श्रावण ११ र १२ गतेका कार्यक्रम शङ्कराचार्य मठ पशुपतिनाथ,काठमाण्डौमा सञ्चालन हुने छन् भने १३ गतेदेखि १५ गतेसम्मका उत्सवहरु देवघाटधाममा नै सञ्चालन हुने छन् । उत्सवको मुख्य कार्यक्रमका रुपमा श्रावण १३ गते हुने गुरुपूजन समारोह र १४ गतेको गुरुस्मृतिसभा एवम् समष्टि भण्डारा कार्यक्रममा सहभागी हुन देवघाट,भरतपुर र गैँडाकोट क्षेत्रका स्थानीय तथा देशभरका आफ्ना अन्नदाता,अभिभावक,सहयोगी र शुभेच्छुकहरुलाई आश्रमले हार्दिक अनुरोधसहित निमन्त्रणा गरेको छ ।
महेश संन्यास आश्रम एवं गुरुकुल
महेश संन्यास आश्रम एवं गुरुकुल डा स्वामी रामानन्द गिरिले वि.सं.२०५० सालमा स्थापना गरेको गैर नाफामूलक धार्मिक एवम् शैक्षिक संस्था हो । नेपालमा आधुनिक गुरुकुलीय शिक्षा प्रणालीको विकासमा अग्रणी भुमिका खेलेको यस गुरुकुलले स्थापना कालदेखि नै निःशुल्क औपचारिक गुरुकुलीय शिक्षा प्रदान गर्दै आएको छ । एउटै छानामुनि आधारभूत तहदेखि स्नातकोत्तर तहसम्मको औपचारिक स्तरीय शिक्षा दिने यस गुरुकुलबाट शिक्षित हजारौँ विद्यार्थीहरु राज्यका विभिन्न क्षेत्रमा संलग्न भएर सेवा प्रारम्भ गरिसकेका छन् भने सयौँ विद्यार्थीहरु आज पनि गुरुकुलमा रहेर निःशुल्क विद्या आर्जन गरिरहेका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com