काठमाडौं । 'कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन' भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस आज साउन १६ गते शनिबार मनाइएको छ । उक्त अवसरमा नयाँ बानेश्वरस्थित मौलिक भान्छाघरमा आयोजित कार्यक्रमका वक्ताहरुले कोदोको उत्पादन, बजारीकरण र संरक्षणमा राज्य र निजी क्षेत्रको सहकार्य र समन्वय आवश्यक भएको धारणा राखेका छन् ।
विगतमा नबुझेका कारण कुअन्न भनिदैं आएको कोदो वास्तवमा सुअन्न मात्र नभई अहिलेको परिप्रेक्ष्यमा स्मार्ट अन्न भएको बताउँदै त्यही रुपमा यसलाई स्थापित गर्न पहलकद्मी आवश्यक भएको उनीहरुले बताएका छन् । त्यसका लागि राज्यकातर्फबाट नीतिगत एवम् कानूनी सहजीकरण, निजी क्षेत्रकातर्फबाट यान्त्रिकीकरणसहित उद्योगहरुको स्थापना तथा कृषकहरुबाट उत्पादनको खाँचो औल्याउँदै सरोकारवालाहरुले प्रचुर सम्भावना बाकेको कोदोका लागि राज्यले विशेष नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद प्रकाश सिंह कार्कीले विगतमा कोदोलाई पछाडि परेको खाद्यवस्तुका रूपमा हेरिने भए पनि अहिले यसको पोषण, स्वास्थ्य तथा आर्थिक महत्वका कारण जनचासो बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले कृषि क्षेत्रको विकास, विशेषगरी कोदो प्रवर्द्धनका लागि विज्ञहरुबाट प्राप्त सुझाव र सल्लाहका आधारमा आवश्यक नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकभित्रै र बाहिर पनि कोदोको प्रशस्त माग भएको बताउँदै राज्यकातर्फबाट उचित कानूनी तथा नीतिगत सहजीकरण भए बार्षिक ८५ करोडको आयात प्रतिस्थापन गर्न सकिने सम्भावना उहाँले व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि कार्कीले भन्नुभयो, 'कहाँबाट कोदो ल्याउन सकिन्छ, यहाँ कति फलाउन सकिन्छ, कति बिक्री गर्न सकिन्छ, कहाँ कहाँ बजार छ, कुन कुन मुलुकमा निर्यात गर्न सकिन्छ, माग कहाँ कहाँ छ, यसबाट बनाउने उत्पादनहरुका लागि कच्चापदार्थहरु कहाँकहाँ पाइन्छ, यहीँ उत्पादन गर्न सकिन्छ कि सकिदैन आदि सबै विषयहरु समेटेर यसका सम्बन्धमा विस्तृत प्रोजेक्ट रिपोर्ट तयार गर्न अध्यक्षज्यूलाई आग्रह गर्दछु । राज्यसँग नभएको यो विषय निजी क्षेत्रले तयार गर्दा हुन्छ । यसले हामीलाई पनि सदनदेखि सबैतिर कुरा राख्न बल पुग्छ ।'
पूर्वमन्त्री एवं नेकपाका नेता नारायणकाजी श्रेष्ठले विगतमा नबुझेर र यसको महत्वबारे ज्ञान नभएर कोदोलाई कुअन्न भनिए पनि यो त वास्तवमा सुअन्न भएको बताउनुभयो ।
कार्यक्रममा एडीबीका प्रतिनिधि दीपेन्द्र जोशीले प्रमुख प्रस्तुतकर्ताका रूपमा कोदोको उत्पादन, सम्भावना र यसको आर्थिक महत्वबारे प्रकाश पार्नुभएको थियो । त्यसैगरी एफएओका प्रतिनिधि डाल प्रसाद पुडासैनीले कोदोको पोषण, खाद्य सुरक्षा तथा दिगो कृषि प्रणालीमा यसको भूमिकाबारे प्रकाश पार्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कोदो उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्नुपर्ने तथा सरकारले कोदोको समर्थन मूल्य निर्धारण गर्न आवश्यक रहेको बताउनुभयो । सरकारमार्फत कोदोको समर्थत मूल्य तोक्नका लागि पहल गर्ने उहाँले बताउनुभयो । नेपाल निर्यात महासङ्घका अध्यक्ष गोविन्द घिमिरेले कोदोको बजार स्वदेशमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्नुपर्ने तथा यसको प्रशोधन र विविधीकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुनिता निमाफुकीले कोदो उत्पादनको महत्व, महिला सहभागिता र ग्रामीण अर्थतन्त्रमा यसको योगदानबारे चर्चा गर्नुभयो । महासङ्घका केन्द्रीय सदस्य राजकुमार कार्कीले विगतमा कोदोलाई हेर्ने दृष्टिकोण र वर्तमान समयमा बढ्दो महत्वबीच ठूलो परिवर्तन आएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति तथा कोदो तथा फापर सङ्घका अध्यक्ष डीबी बस्नेतले उपस्थित सम्पूर्ण अतिथि, कृषक, उपभोक्ता, सञ्चारकर्मी तथा सहयोगी संस्थाहरू प्रति आभार व्यक्त गर्दै कोदो उत्पादन, बजारीकरण र उपभोगलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सबै नेपालीलाई कोदो उत्पादन र नियमित सेवन गर्न आग्रह गर्दै दोस्रो राष्ट्रिय कोदो दिवस सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
कोदो तथा फापर सङ्घका अध्यक्ष डीबी बस्नेतको सभापतित्व तथा सङ्घीय सांसद प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता नारायणकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरे, नेपाल निर्यात महासङ्घका अध्यक्ष गोविन्द घिमिरे, एफएओका प्रतिनिधि डाल प्रसाद पुडासैनी, नेपाल कृषि महासङ्घका अध्यक्ष शिवसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यहरू राजकुमार कार्की, सुनिता निमाफुकी, नानीराज घिमिरे, विश्वनाथ खनाल, सुदर्शन कार्की, मौलिक भान्साघरका प्रबन्ध निर्देशक सुमन दाहाल, कालिकोट राजकोटका पूर्वमेयर काशीराज बराल, विभिन्न वस्तुगत सङ्घका अध्यक्षहरू, कोदो तथा फापर सङ्घका पदाधिकारी तथा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाल डेरी एसोसिएसन, मौलिक भान्साघर, कृषि विकास बैंक, कृषि विभाग, नार्क लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा आयोजना गरिएको थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com