Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अष्ट्रेलिया भ्रमणको आलोचनामा नेफ्स्कून अध्यक्ष र सिईओको स्पष्टीकरण

अष्ट्रेलिया भ्रमणको आलोचनामा नेफ्स्कून अध्यक्ष र सिईओको स्पष्टीकरण

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले हालैको आफ्नो अष्ट्रेलिया भ्रमणका सम्बन्धमा उठेका प्रश्नहरुको प्रतिवाद गर्नुभएको छ । बोर्ड र व्यवस्थापन प्रमुखले एकस्वरले विश्व क्रेडिट युनियन सम्मेलन २०२६ मा सहभागिता अपरिहार्य भएकोले आफूहरु गएको दाबी प्रस्तुत गर्नुभएको छ ।

नेफ्स्कूनको सदस्य संस्था चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था विश्व ऋण परिषद् (ओकू) ले प्रदान गर्ने ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ बाट सम्मानित हुने अवसरमा सहभागी हुने सिलसिलामा ढकाल र डा. सापकोटा अष्ट्रेलिया पुग्नुभएको थियो ।  साउन ५ गते अस्ट्रेलियाको सिड्नीमा आयोजित ओकूको वार्षिक साधारणसभाका क्रममा चन्द्रागिरिलाई उक्त पुरस्कार प्रदान गर्दा मञ्चमा संस्थाका सिईओ कृष्णकुमार श्रेष्ठसँगै नेफ्स्कून अध्यक्ष र सिईओ पनि सहभागी हुनुभएको थियो । नेफ्स्कून अहिले ओकूको सदस्य समेत नभएको बेला खर्च बढाउन कार्यक्रममा जान नहुने भन्दै बोर्डभित्र आलोचना हुँदाहुँदै जबर्जस्ती गएको भन्ने सन्दर्भमा उठाइएका जिज्ञासाहरुको सम्बोधन गर्दै उहाँहरुले ती विषयहरुमा ‘क्लाउड क्लियर’ गर्ने प्रयास गर्नुभएको हो ।

नेफ्स्कून अध्यक्ष ढकालले हिजो आयोजित कार्यक्रममा भन्नुभयो, ‘हामी डाइरेक्ट मेम्बर नभएपछि नजाँदा के फरक पर्छ र भनेर साथीहरुले भन्नुभएको हो । तर, डेढ दुई लाख खर्च हुन्छ भनेर नजाने कुरा गरेको हो भने त्यो संघले बेयर नगरौं भनेर साथीहरुले भन्नुस् तर हामीले ओकूमा पनि कमिटमेन्ट गरिसक्यौं र चन्द्रागिरिको सिईओसँग हुन्छ नि त हामी पनि जान्छौं भनेर वचन दिइसकेको अवस्थामा नजाने विषय कर्णप्रिय हुँदैन, साथीहरुले कन्सिडर गर्नुहोस् । खर्चको कुरामा यहाँहरुले भनेको विषयसित हाम्रो विमति रहदैन भनेर मैले नै राखेको थिएँ ।’

सिईओ र आफूसँग अष्ट्रेलियाको पहिल्यै भिसा रहेको र परिस्थिति पनि त्यस्तै उत्पन्न भएकाले बोर्डमा प्रस्ताव लगिएको अध्यक्ष ढकालको प्रष्टीकरण थियो । बोर्ड भित्र छलफल हुनु मतान्तर नभएको उहाँले बताउनुभयो । 

‘हामी ओकूको, आईसीएको रेगुलर मेम्बर थियौं । तर, धेरै विषयहरु उठिसकेपछि यस्ता कुराहरुमा वचार गर्नुपर्छ, खर्च घटाउनुपर्छ भनेर यी लगायत धेरै ठाउँमा हामीले खर्च घटाएका छौं । ओकूको रेगुलर मेम्बरको शुल्क ३५ हजार डलर हो जुन आजको मितिमा ५० लाख रुपैयाँ भन्दा बढी हो । म आफै अध्यक्ष हुँदा रेगुलर मेम्बर ब्रेक गरेर इनडाइरेक्ट मेम्बर भएर पनि सबै कुराहरुको अधिकार (मताधिकार प्रयोग र निर्वाचनमा उठ्नेबाहेक) प्रयोग गर्न सकिन्छ भने खर्च कटौतीलाई प्राथमिकता दिऔं भनेर मैले आफैले पहल गरेर बोर्डमा प्रस्ताव लगेको हुँ ।’ उहाँले थप्नुभयो, ‘हामी नेफ्स्कूनको फाइनान्ससँग पनि त्यत्तिकै सतर्क छौं ।’

फेडेरेशनमा आवद्ध संस्थाको गौरवमय उपलब्धि फिल गर्न आफूहरु अभिभावक भएको र उतैबाट निमन्त्रणा आएकाले गएको अध्यक्ष ढकालले स्पष्ट पार्नुभयो ।

नेफ्स्कून व्यवस्थापन प्रमुखको धारणा पनि यस्तै थियो । ‘नेफ्स्कून बोर्डबाट सर्वसम्मत् निर्णय भएको छ अष्ट्रेलिया जाने विषयमा, ‘सिईओ डा.सापकोटाले भन्नुभयो, ‘बाहिर के कुरा हुन्छ थाहा हुँदैन । सर्वसम्मत् नभइ निर्णय हुँदैन । सिग्नेचर नभइ बाहिर उडिदैन । यो भन्दा पनि सबैभन्दा ठूलो कुरा त देशको गौरवको विषय हो । साकोस अभियानको गौरवको विषय हो ।’

उहाँले नेफ्स्कून अझै पनि ओकूको सदस्य रहेको स्पष्ट पार्नुभयो । सिईओ डा.सापकोटाले भन्नुभयो, ‘हामी सन् २०१८ देखि सदस्य थियौं ओकूको । हामी अहिले पनि हामी ओकूको अप्रत्यक्ष सदस्य (इनडाइरेक्ट मेम्बर) हौं । नेफ्स्कून र सहकारी बैंक अहिले ओकूको अप्रत्यक्ष सदस्य छौं । अरु सदस्यले पाउने अधिकार सबै हामीले पाउँछौं, केवल ओकू बोर्डमा जाने अधिकारबाहेक । एशियाली ऋण महासंघ (अक्कू)को सदस्य भएका सबै ओकूको मेम्बर हुन्छन् । अकूले ओक्कूको सदस्यता शुल्क तिर्न हामबाट रकम लिन्छ । ओकूको सदस्यताका लागि कन्ट्रिब्यूशन भनेर हामीले पनि २ हजार डलर तिनुपर्छ अकूलाई ।’

उहाँले नेपालको साकोस अभियानको सबैभन्दा ठूलो र ऐतिहासिक उपलब्धिका बेला नेफ्स्कूनको मेम्बर भएको र संघ आफै पनि ओकूको इनडाइरेक्ट मेम्बर भएकाले त्यो गौरवपूर्ण क्षणमा आफूहरुको सहभागिता आवश्यक भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार