काठमाडौं, २० साउन । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उहाँले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।
पर्वतको मोदी गाउँपालिका–५, बाजुङमा जन्मनुभएका डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञ मानिनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्नुभएको छ ।
तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहनुभएका उहाँ शिक्षाध्यक्षमा नियुक्त हुनुअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्रमुख हुनुहुन्थ्यो । उहाँका अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र नीतिसम्बन्धी विभिन्न अनुसन्धानमूलक लेख तथा कृतिहरू प्रकाशित छन् ।
त्यसैगरी, विश्वविद्यालय अनुदान आयोगको सचिवमा नियुक्त प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ ।
आयोगको सचिवमा नियुक्त हुनुअघि उहाँ बी एण्ड बी अस्पतालको नर्सिङ निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । साथै, भारतको क्रिश्चियन मेडिकल कलेज (सीएमसी), लुधियानाबाट मेडिकल–सर्जिकल नर्सिङमा एमएससी तथा कलकत्ताबाट सम्बन्धित विषयमा डिप्लोमा अध्ययन गर्नुभएको छ। उहाँले नर्सिङ क्याम्पस, महाराजगञ्जबाट नर्सिङमा स्नातक तथा पीसीएल नर्सिङ अध्ययन पनि पूरा गर्नुभएको हो ।
प्रा. डा. श्रेष्ठले बी एण्ड बी मेडिकल इन्स्टिच्युटमा क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ प्राध्यापक, नर्भिक इन्टरनेशनल अस्पतालमा नर्सिङ निर्देशक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा चितवन मेडिकल कलेजमा सहप्राध्यापक र प्रौढ स्वास्थ्य नर्सिङ विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ ।
नर्सिङ अनुसन्धानमा विद्यावारिधि उपाधि हासिल गरेबापत उहाँ राष्ट्रपतिबाट ‘नेपाल विद्या भूषण’ पदक बाट सम्मानित हुनुभएको थियो। साथै, नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा उहाँले दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com