काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण जलप्रलयबाट भएको अकल्पनीय मानवीय एवम् भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आज धार्मिक क्षेत्रबाट पशुपति नदीस्थित बागमती नदी तटमा शान्ति पाठसहित अनुष्ठान गरिएको छ । उक्त घटनाका परी दिवंगत भएका मुक्तात्माहरुको सामूहिक सद्गतिको कामना, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभ, बेपत्ताहरुको खोजीसँगै मुलुकमा शान्ति, स्थिरताको कामना गर्दै श्री विष्णुसहस्रनाम, श्रीमद्भगवद्गीता पाठ एवम् शिव स्तोत्र मन्त्र तथा संकल्प पाठ गरिएको नेपाल वेद विद्याश्रमका अध्यापक आचार्य विष्णु प्रसाद पोखरेलले धिप्री डटकमलाई जानकारी गराउनुभयो । कार्यक्रममा सनातन धर्मानुरागीहरुको उपस्थिति एवम् सहभागिता थियो ।
पोखरेलका अनुसार आज देशका विभिन्न स्थानमा यस्ता धार्मिक अनुष्ठानहरु आयोजना गरिएका छन् । आज भदौ १० गतेको भोटेकोशीको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक दिवस समेत मनाइँदैछ । उक्त राष्ट्रिय संकटको १३औं दिन पारेर शान्ति पाठ आयोजना गरिएको पोखरेलले बताउनुभयो । ‘हामीले दिवंगत आत्माहरुको उत्तम बैकुण्ठ बास होस्, रुद्रलोक बास होस् भनेर शान्ति पाठ आयोजना गरेका हौं, पोखरेलले भन्नुभयो, ‘काठमाडौंमा रहेका भागवत् सन्यास आश्रम, नेपाल वेद विद्याश्रम गुरुकुल लगायत विभिन्न सनातन धर्मानुरागीहरुको आयोजना तथा प्रतिनिधित्वमा अनुष्ठान आयोजना गरेका हौं ।’
पोखरेलले भन्नुभयो, ‘हामी सबैका महामृत्युञ्जय देवता भगवान श्री पशुपतिनाथको चरणतल आर्यघाट तट वागमती किनारमा संकल्पका साथ गुरु तथा वटुकहरुबाट गंगापूजा गर्दै मुक्तिकैवल्यको कामना गर्यौं ।’ उक्त अनुष्ठानमा विष्णुसहस्रनाम स्तोत्र, श्रीमद्भगवद्गीताको पन्ध्रौं अध्याय, रुद्रशुक्तसाथै विभिन्न स्तोत्र तथा शिव मन्त्रहरु पाठ गरिएको पोखरेलले जानकारी गराउनुभयो ।
उहाँले जोजसको जे विज्ञता छ त्यही अनुरुप काम गर्ने समय भएको बताउँदै चिकित्सकहरु, उद्दारकर्मीहरु, राहतकर्मीहरु, पत्रकारहरु जस्तै धार्मिक क्षेत्रका व्यक्तिहरुले पूजापाठ तथा संकल्पमार्फत आफ्नो भूमिका निर्वाह गरेको बताउनुभयो ।
भोटेकोशी बाढीका कारण आज सोमबार बिहानसम्म १ हजार ३५१ जनाको मृत्यु पुष्टि भैसकेको छ । मृतकहरुमध्ये रसुवामा १६९ जना, नुवाकोटमा १९६ जना, धादिङमा ६९ जना, चितवनमा ३६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २२२ जना र नवलपरासी पश्चिम २२१ जना गरी एक हजार ३५१ जनाको शव फेला परेको सरकारी विवरण छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका तीन हजार ९९२ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा तीन हजार १९० जना व्यक्तिहरूलाई राखिएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com