Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाल रङ्ग–सप्ताह प्रारम्भ‘, अन्तिम गीत’ बाट उत्सवको श्रीगणेश

नेपाल रङ्ग–सप्ताह प्रारम्भ‘, अन्तिम गीत’ बाट उत्सवको श्रीगणेश

काठमाडौं । रुसी सदनले नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष तथा प्रसिद्ध बोल्सोई थिएटर स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा ‘नेपाल–रुस थिएटर सप्ताह’ आयोजना गरेको छ ।

शैली थिएटर तथा रुसी सदनको संयुक्त आयोजनामा प्रारम्भ भएको सप्ताहव्यापी कार्यक्रमको उद्देश्य नेपाल र रुसबीचको सांस्कृतिक सम्बन्ध तथा रंगमञ्चमार्फत दुई देशबीचको मित्रतालाई थप बलियो बनाउनु रहेको छ । सोही उद्देश्यमा रहेर कार्यक्रममा अतिथिहरूले नेपाल–रुसबीच सांस्कृतिक सम्बन्ध र रंगमञ्चको भूमिकाबारे धारणा राखेका थिए।

उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमल्सिना, विशेष अतिथिका रूपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल तथा रुसको नेपालस्थित दूतावासका मन्त्री–परामर्शदाता रिन्चेन राक्षाएभसहित रंगमञ्च तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।

रुसी सदनकी प्रमुख अनास्तासिया खोख्लोभाले दुई देशबीचको सांस्कृतिक सम्बन्धका लागि यो वार्षिकोत्सव वर्ष महत्वपूर्ण रहेको बताउनुभयो । यस्तै, मन्त्री तिमल्सिनाले विद्यार्थी जीवनदेखि नै रुसी साहित्यकार अन्तोन चेखभ आफ्ना प्रिय लेखक रहेको उल्लेख गर्नुभयो । उहाँले नाटकलाई ‘कलाकारको गीत’ का रूपमा व्याख्या गर्दै कलाकारले आफूलाई खोज्दै अन्ततः आफैंलाई भेट्टाउने कथाको रुपमा चित्रण गर्नुभयो ।

रुसका मन्त्री–परामर्शदाता रिन्चेन राक्षाएभले रंगमञ्चलाई जीवनको विशेष शैलीका रूपमा चित्रण गर्दै नेपाल–रुस कूटनीतिक सम्बन्धको वार्षिकोत्सव मनाउने परम्परालाई निरन्तरता दिएकोमा आयोजक तथा सहभागीलाई बधाई दिनुभयो ।

थिएटर सप्ताहको पहिलो प्रस्तुतिका रूपमा अन्तोन चेखभको एकाङ्की नाटक ‘स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ मञ्चन गरिएको छ। नवराज बुढाथोकीको निर्देशनमा तयार पारिएको नाटक शैली थिएटरका सल्लाहकार महेश पौड्याल अनुवादित हो ।
नाटकमा नेपाली रंगमञ्चका वरिष्ठ कलाकार सुनील पोखरेलले मुख्य भूमिका निर्वाह गरेका छन् भने सब्बु गुरुङले सहकर्मीको भूमिका निर्वाह गर्नुभएको छ ।

चेखभको उक्त नाटकमा वृद्ध अभिनेता भासिली भासिल्येभिच स्वेत्लोभिद्लोभको जीवन, स्मृति, एक्लोपन र कलाप्रतिको लगावलाई प्रस्तुत गरिएको छ। उमेरले प्रतिभा र सिर्जनशीलतालाई सीमित गर्दैन भन्ने सन्देश बोकेको नाटकले विभिन्न देशका दर्शकलाई समेत सहज रूपमा जोड्न सक्ने आयोजकको विश्वास छ।

‘अन्तिम गीत’ को सार्वजनिक प्रदर्शन सेप्टेम्बर १९ देखि २१ तारिखसम्म काठमाडौंस्थित रुसी सदनमा दैनिक दुईपटक दिउँसो २ः३० बजे र साँझ ५ः३० बजे हुनेछ।

थिएटर सप्ताहअन्तर्गत महेश पौड्यालद्वारा लिखित मौलिक नेपाली नाटक ‘भावमल्ली’ पनि प्रस्तुत हुँदैछ। नवराज बुढाथोकीको निर्देशन रहेको उक्त नाटकमा शैली थिएटरका कलाकार आकाश भुजेल जैसीसहित अन्य कलाकारको अभिनय रहनेछ। नाटकमा पद्मकन्या बहुमुखी क्याम्पसको संगीत विभागले सांगीतिक साथ दिनेछ।

 

नेपाल र रुसबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता संस्कृति, कला र साहित्य दुई देशबीचको सम्बन्धका महत्वपूर्ण आधारका रूपमा रहँदै आएका छन्। कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षमा आयोजना गरिएको नेपाल–रुस थिएटर सप्ताहले यही सांस्कृतिक सम्बन्धलाई रंगमञ्चमार्फत थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार