Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
१९औं वार्षिक साधारण सभा

नव सृजनशील साकोस: लुईटेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित

नव सृजनशील साकोस: लुईटेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिका ७, गणेशस्थान मार्ग चाबहिलस्थित नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लि.ले आज आफ्नो १९औं वार्षिक साधारण सभा नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित गर्दै सम्पन्न गरेको छ ।

सभाले राम प्रसाद लुईटेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति तथा विजया लामिछानेको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको छ । संस्थाको निर्वाचन उपसमिति संयोजक केशव राम नेपालले नव निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई शपथ गराउनुभएको थियो ।

अध्यक्ष विश्वनाथ अर्यालको सभापतित्वमा सम्पन्न साधारण सभामा नेपाल लेखामान बोर्डका अध्यक्ष सीए रमेश कुमार धितालले नव सृजनशील बचत तथा ऋण सहकारीलाई आफूले धेरै वर्षदेखि चिनेको भन्दै संस्था निरन्तर प्रगति उन्मुख भएको वार्षिक प्रतिवेदनले पनि देखाएको बताउनुभयो । उहाँले संस्थाका वित्तीय रिपोर्टहरु अत्यन्त उत्कृष्ट, उदाहरणीय र विधिसम्मत् रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सहकारीहरुको सन्दर्भमा पनि एकीकरण तथा मर्जरको माध्यमबाट अब संस्थाहरुलाई सवल बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

_DSC1191_11zon.jpg
नवनिर्वाचित सञ्चालक समिति 

यसैगरी, बाह्रय लेखापरीक्षक सिए राजकुमार फुयालले ७.१७ प्रतिशतको संस्थागत पुँजी नव सृजनशील साकोसको बलियो पक्ष भएको बताउँदै अब यसलाई कम्तिमा १० प्रतिशत पुर्याउने गरी रणनीतिक योजना तर्जुमा गर्न आग्रह गर्नुभयो । त्यस्तै, बाह्रय ऋण चुक्ता गर्नु, बचतमा वृद्धि हुनु, नियमित बचतको अंश ३५.०१ प्रतिशत हुनु, तरलता सन्तुलन कायम गर्नु, धन सिर्जना गर्ने खालका बचतका सेवाहरु हुनु आदि सबल पक्ष भएको बताउँदै नियामकीय प्रावधानहरु परिपालना गर्दै प्रत्येक सदस्यको जोखिम विश्लेषणमा ध्यान दिन, स्थिर सम्पत्तिको कम्तिमा वार्षिक भौतिक परीक्षण प्रतिवेदन तयार गर्न, सूचना प्रविधिमा चुस्तता कायम गर्न तथा सुशासनका विषयमा थप मजबुत बन्न सुझाउनुभयो ।

यस्तो बन्यो नयाँ सञ्चालक समिति

कुशल व्यवसायी समेत रहनुभएका राम प्रसाद लुईटेल नेतृत्वको संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा दामोदर सापकोटा, सचिवमा विनोद कुमार ढकाल, कोषाध्यक्षमा विश्वराज लामिछाने तथा सदस्यहरुमा विष्णुलोचन नेपाल, गोमा न्यौपाने, एककृष्ण पराजुली, देवकी धिताल, र रामप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी, विजया लामिछाने संयोजकत्वको लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा मुक्तिनाथ पराजुली तथा दिपक पुडासैनी सर्वसम्मत चयन हुनुभएको छ ।

नव सृजनशील साकोसको नयाँ सञ्चालक समितिमा अनुभवी अनुहारहरुको बाहुल्यता रहेको व्यवस्थापक अर्जुन अर्यालले धिप्री डटकमलाई जानकारी गराउनुभयो । अध्यक्ष लुईटेल दुई कार्यकाल उपाध्यक्ष भइ काम गर्नुभएका अनुभवी हुनुुहुन्छ भने उपाध्यक्ष सापकोटा निवर्तमान कोषाध्यक्ष हुनुहुन्छ । यस्तै, विश्वराज लामिछाने निवर्तमान लेखा सुपरिवेक्षण समिति संयोजक हुनुहुन्छ । यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजक लामिछाने निवर्तमान सञ्चालक हुनुहुन्छ । सदस्यहरु एककृष्ण पराजुली पनि निर्वतमान सञ्चालक नै हुनुहुन्छ ।

_DSC1151_11zon.jpg
नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति

संस्थालाई बिग्रन दिन्नँः नवनिर्वाचित अध्यक्ष लुईटेल

यसैबीच, नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष लुईटेलले संस्थालाई कुनै हालतमा बिग्रन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको । आगामी ४ वर्षका लागि निर्वाचित भैसकेपछि संक्षिप्त धन्यवाद एवम् प्रतिबद्धता मन्तव्य राख्दै उहाँले सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुरुप नव सृजनशील बचत तथा ऋण सहकारीलाई सञ्चालन गर्ने, अग्रजहरुको सल्लाह सुझाव लिएर अघि बढ्ने र सदस्यहरुलाई कसरी बढी भन्दा बढी सेवासुविधा उपलब्ध गराउन सकिन्छ भन्ने दिशामा नै आफू नेतृत्वको समितिले काम गर्ने वचन व्यक्त गर्नुभयो । अध्यक्ष लुईटेलले भन्नुभयो, ‘सके विश्वनाथ दाइले भन्दा राम्रो गर्छु नसके पनि बिग्रन दिन्नँ, उहाँसँगबाट मैले धेरै कुरा सिकेको छु, सल्लाह सुझाव लिएरै अघि बढ्छु, तर यति ढुक्क हुनुहोस् सहकारीलाई कुनै हालतमा बिग्रन दिन्नँ ।’

मैले सकेजति गरेँः निवर्तमान अध्यक्ष अर्याल

यसैबीच, निवर्तमान अध्यक्ष अर्यालले आफूले दुई कार्यकाल अध्यक्ष रहँदा संस्थालाई सकेसम्म राम्रो गर्ने कोशिस गरेको भन्दै अब नयाँ सञ्चालक समितिले अझ राम्रो सँग अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । संस्थाले नियामकीय व्यवस्था र कानूनको परिपालना गर्दै सहज र सर्वसम्मत नेतृत्व हस्तान्तरणको अध्याय शुरु गरेको भन्दै उहाँले उहाँले आफू अध्यक्षबाट हटे पनि संस्थाको वृद्धि विकासमा निरन्तर साथ सहयोग गर्ने बताउनुभयो । ‘म हटे पनि संस्था सँगै रहन्छु, हामी वाचडगको रुपमा संस्थाका गतिविधिहरुलाई नजिकबाट नियाल्छौं, कहीँकतै बाटो विराउन लाग्यो भने खबरदारी गर्छौं, ’उहाँले भन्नुभयो । सहकारीमा सुनामी आउँदा समेत संस्थाले नडगमगाई काूनको परिपालना गर्दै अघि बढेर आजसम्म आइपुगेको भन्दै इतिहासलाई समेत स्मरण गर्नुभयो ।

_DSC1158_11zon.jpg
नवनिर्वाचित लेखा सुपरिवेक्षण समिति

प्रतिवेदनहरु सर्वसम्मत पारित

यस्तै, आजको वार्षिक साधारण सभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्ष अर्यालले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिकातर्फबाट संयोजक विश्वराज लामिछानेले प्रस्तुत गर्नुभएको अघिल्लो आर्थिक वर्षको प्रतिवेदन, कोषाध्यक्ष दामोदर सापकोटाले प्रस्तुत गर्नुभएको अघिल्लो आर्थिक वर्षको आर्थिक प्रतिवेदन, संस्थाको बार्षिक लेखापरीक्षक सिए राजमुकार फुयालले प्रस्तुत गर्नुभएको लेखापरीक्षण प्रतिवेदनका सुझावहरु, आर्थि वर्ष २०८३/८४ को संस्थाको नीति कार्यक्रम तथा अनुमानित बजेट लगायतका प्रतिवेदनहरु ध्वनिमतका साथ पारित गरेको छ । सभामा सदस्यहरुको उल्लेख सहभागिता रहेको थियो ।

_DSC1187_11zon.jpg
निर्वाचन उपसमिति संयोजक केशव राम नेपाल (दायाँ)बाट निर्वाचित भएको प्रमाणपत्र लिदैं अध्यक्ष लुईटेल बायाँ

२९ करोड ८२ लाख बढी कुल सम्पत्ति रहेको नव सृजनशील साकोसले गत आर्थिक वर्षमा ५३ लाख ३९ हजार १ सय ४१ रुपैयाँ खुद बचत गरेको छ । संस्थामा हाल २ करोड १५ लाख ३२ हजार शेयर पुँजी रहेको छ, बचत निक्षेप २३ करोड ६७ लाख ७५ हजार बढी छ भने ऋण लगानी २४ करोड ९० लाख बढी रहेको छ । यस्तै, जगेडा कोषमा २ करोड २५ लाख तथा अन्य कोषहरुमा १ करोड १९ लाख २४ हजार बढी रकम रहेको छ । सदस्यहरुलाई ९.२५ प्रतिशत नगद लाभांश तथा संरक्षित फिर्ता पुँजी कोषबाट बचतमा ब्याज प्राप्त गरेबापत २.०८ तथा ऋणमा ब्याज तिरेबापत १.७३ प्रतिशत वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव समेत सभाले सर्वसम्मत पारित गरेको छ । सभामा सदस्य सम्मान, कर्मचारी सम्मान तथा शैक्षिक सम्मान समेत गरिएको थियो ।

_DSC1101_11zon.jpg
उद्घाटन कार्यक्रम
_DSC1066_11zon.jpg
सदस्यहरुका साथमा प्रतिवेदन हेर्दै व्यवस्थापक अर्जुन अर्याल (सुटमा)

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार