Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Follow us

७१ कर्मचारीले आजबाट भने-गुड बाई नेफ्स्कून !

७१ कर्मचारीले आजबाट भने-गुड बाई नेफ्स्कून !

काठमाडौं । नेफ्स्कूनका ७१ जना कर्मचारीले आजबाट स्वेच्छिक अवकाश लिएका छन् । तीन वर्षभित्र वित्तीय कारोबाट अलग हुनुपर्ने नयाँ कानूनी प्रावधान कार्यान्वयनका लागि नेफ्स्कूनले भारी संख्यामा कर्मचारी कटौती गरेको हो । स्वेच्छिक अवकाश योजना अघि सारी नेफ्स्कूनले ७१ जनालाई बिदाइ गरेको हो । भोलि अर्थात् असोज १० गते देखि लागू हुने गरी योजनामा सामेल सबै ७१ जनाको आवेदन स्वीकृत गरिएको हो । भोलि शनिबार सार्वजनिक बिदा भएकाले उनीहरुले आज नेफ्स्कूनमा अन्तिम 'वर्किङ डे' पूरा गरेका छन् । यद्यपि, उपत्यका भित्रका कार्यालय आज इन्द्रजात्राको बिदा भएकाले बन्द थिए । नेफ्स्कूनले यसलाई बाध्यात्मक अवस्था भनेको छ । 

२०४५ सालमा स्थापना भएको मुलुककै जेठो सहकारी संघ–नेफ्स्कूनको इतिहासमै यो सबैभन्दा ठूलो कर्मचारी कटौती हो । अवकाश लिने कर्मचारीहरुमा वरिष्ठ अधिकृत सातौं तहका दुई जना, अधिकृतहरुसँगै तेस्रो तर चौथो तहका धेरै छन् । 

संघले आन्तरिक योजना अनुरुप सबै तहका कर्मचारीहरुका लागि २०८३ भदौ १७ गते गते स्वेच्छिक अवकाश योजनासम्बन्धी सूचना जारी गरेको थियो । उक्त योजना बमोजिम ७१ जनाबाट आवेदन प्राप्त भएको थियो । प्राप्त आवेदनमध्ये सबै स्वीकृत हुने नहुने निश्चित थिएन । कतिपयले आवेदन दिने सबैको स्वीकृत नहुने अनुमान गर्दै आएका थिए । तर, संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले हिजो असोज ८ गते सूचना जारी गरी सम्पूर्ण आवेदनहरू स्वीकृत भएको जानकारी गराउनुभएको छ । 

उक्त सूचनामा अवकाशमा जाने सबै कर्मचारीहरूले आफ्नो जिम्मामा रहेका सम्पूर्ण कागजात, फाइल तथा मिसिलहरू सम्बन्धित शाखा वा जिम्मेवार अधिकारीलाई एकहप्ता भित्र विधिवत् बरबुझारथ गरी त्यसको प्रमाणसहितको जानकारी प्रशासन शाखामा उपलब्ध गराउन भनिएको छ ।

नेफ्स्कूनले वित्तीय कारोबारमा प्रत्यक्ष संलग्न कर्मचारी लक्षित स्वेच्छिक अवकाश योजना अघि बढाएको हो । उक्त योजना अनुरुप करिब ४० कर्मचारी कटौती गर्ने योजना रहेकोमा त्यो भन्दा बढी उक्त कार्यक्रममा सहभागी भएका हुन् । १६९ कर्मचारी रहेको संघमा ७१ जना बिदा भएसँगै अब ९८ जना बाँकी रहेका छन् ।

स्वेच्छिक अवकाश योजनामा एक वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । अवकाशमा जाने कर्मचारीले सेवा गरेको प्रत्येक वर्षको एक महिनाको तलब बराबरको दरले अवकाश सुविधा/उपदान पाउनेछन् ।

वित्तीय कारोबार बञ्चितीकरणमा जानुपर्ने भएपछि  नेफ्स्कूनले सेवा केन्द्र पनि घटाउँदै लगेको छ । हाल सञ्चालनमा रहेका सेवा केन्द्रमध्ये थप आठवटा बन्द गरी १८ मा सीमित गर्ने संघले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार