Oct 31 2026 | २०८३, कात्तिक १४ गते

Oct 31 2026 | २०८३, कात्तिक १४ गते

Follow us

प्राइमिनिष्टर टु प्रोफेसर : जसिन्डा आर्डर्न  सिड्नी विश्वविद्यालयमा नियुक्त

प्राइमिनिष्टर टु प्रोफेसर : जसिन्डा आर्डर्न  सिड्नी विश्वविद्यालयमा नियुक्त

एजेन्सी । न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री डेम जसिन्डा आर्डर्न अष्ट्रेलियामा के गर्दैछिन् भन्ने लामो समयदेखिको कौतुहलताको अन्ततः खुलासा भएको छ। सिड्नी विश्वविद्यालयले उनलाई 'प्रोफेसर अफ प्र्याक्टिस' पदमा नियुक्त गरेको छ। उनी विद्यार्थीहरूलाई समानुभूतिपूर्ण नेतृत्व  सामाजिक एकता र नागरिक विश्वासका विषयमा मास्टरक्लास दिनुका साथै मेन्टरको रूपमा कार्यरत रहनेछिन् ।

विश्वविद्यालयका अनुसार आर्डर्नले सिड्नी पोलिसी ल्याब र उपकुलपति कार्यालयसँग नजिक रहेर विश्वव्यापी तथा मूल्यमा आधारित नेतृत्वका नयाँ दृष्टिकोणहरू विकास गर्न काम गर्नेछिन्। साथै, समानता, समावेशीकरण र कल्याणमा केन्द्रित रहँदै विश्वव्यापी स्वास्थ्य चुनौतीहरू सामना गर्ने नयाँ उपायहरूको खोजी गर्नेछिन्। यद्यपि, यो पूर्णकालीन शिक्षण भूमिका भने होइन।

राजनीतिबाट प्राज्ञिक क्षेत्रतर्फ
राजनीति छाडेर प्राज्ञिक क्षेत्रमा प्रवेश गर्ने आर्डर्न पहिलो राजनीतिज्ञ भने होइनन्। यसअघि सन् २०१३ मा अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्ड एडिलेड विश्वविद्यालयमा मानार्थ प्रोफेसर नियुक्त भएकी थिइन्। त्यस्तै, न्युजिल्याण्डका पूर्वउपप्रधानमन्त्री ग्रान्ट रोबर्टसन पनि राजनीतिबाट सन्यास लिँदै ओटागो विश्वविद्यालयको उपकुलपति बनेका थिए।

प्रधानमन्त्री पद छाडेपछि आर्डर्नले हार्वर्ड विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयमा समेत फेलोसिप भूमिका निर्वाह गरिसकेकी छन्। त्यहाँ उनले राजनीतिलाई केवल दुई विकल्प 'एस वा नो' (गर्छु गर्दिन)को रूपमा हेर्नुको खतराबारे व्याख्यान दिएकी थिइन्। उनी हाल अनलाइनमा हुने हिंसात्मक उग्रवाद र आतंकवाद उन्मूलनका साथै सुरक्षित एवं मानव-केन्द्रित आर्टिफिसियल इन्टेलिजेन्सको विकासमा समेत सक्रिय छिन्।

JA.jpg

समानुभूतिपूर्ण नेतृत्वको नयाँ अध्याय
आफ्नो नयाँ भूमिकाबारे बोल्दै आर्डर्नले विद्यार्थी र विश्वविद्यालयसँग मिलेर काम गर्न, अनुभवहरू साट्न र समुदायको सेवाका लागि उपायहरू खोज्न आफू उत्सुक रहेको बताएकी छन्। 'पद छाडेपछि मेरो ध्यान विशेष गरी नेतृत्वको सवालमा केन्द्रित भएको छ—हामीले विश्वव्यापी चुनौतीहरू सामना गर्न कस्तो नेतृत्वलाई बढावा दिनुपर्छ भन्नेमा म सोचिरहेकी छु,' आर्डर्नले विज्ञप्तिमा भनेकी छन्।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी आर्डर्नले क्राइस्टचर्च आतंकवादी आक्रमण, ह्वाकारी ज्वालामुखी विष्फोट र कोभिड-१९ महामारी जस्ता राष्ट्रिय संकटका बेला न्युजिल्याण्डको नेतृत्व गरेकी थिइन्। आफ्नो कार्यकालमा उनी समानुभूति र दयाभावलाई जोड दिने प्रगतिशील नेताको रूपमा विश्वभर चर्चित भइन्। उनलाई कुनै समय 'विश्वको एन्टि-ट्रम्प' समेत भनिएको थियो। सन् २०२३ मा उनले अचानक पदबाट राजीनामा दिने निर्णय गर्दा पूरा विश्व स्तब्ध भएको थियो।

विश्वविद्यालयका उपकुलपति प्रोफेसर मार्क स्कटले आर्डर्नको 'साहस र नम्रता' को प्रशंसा गर्दै उनको उपस्थितिले विश्वविद्यालयको जनस्वास्थ्य र सार्वजनिक नीति सम्बन्धी कामलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे। 'डेम जसिन्डाले न्युजिल्याण्डलाई ठूला संकटहरूबाट पार लगाउनुभयो। उहाँको नेतृत्वले समानुभूति र दृढ संकल्प एकअर्काका विरोधी होइनन्, बरु पूरक हुन् भन्ने प्रमाणित गरेको छ,' स्कटले भने।  (सिड्नी मर्निङ हेराल्डबाट अनूदित)

9Tzi8ywRz924XE3uHaD6DZ3Ef+IdbOiYlvIROR5vlqUeRrexTocZGobKRJ9od_gnk3B_CeKTmTAsIjj6Q0YaYf1sjXinHBO9Jp51H9XfbUkMPbZGMgn_Ds0fAvkHQEc9A9IDm3E4DffeTPqclN2+ofwQZaYwzYR0KtFbRmXEtarYwggKUoBlzsnZNBYF3BVgfoCh9rfywiGQ3LL26BBj8Q.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार