Oct 28 2026 | २०८३, कात्तिक ११ गते

Oct 28 2026 | २०८३, कात्तिक ११ गते

Follow us
बडादसैँ विशेष साहित्य

खलिल जिब्रानः प्रकृति, प्रेम र स्वतन्त्रताका पलायन पुजारी

खलिल जिब्रानः प्रकृति, प्रेम र स्वतन्त्रताका पलायन पुजारी

प्रेम यस्तो शक्ति हो जसले मुकुटलाई समेत क्रसमा टाँग्छ, जसलाई स्वामित्व होइन स्वतान्त्रता चाहिन्छ भन्ने महान अरवी–अमेरिकी कवि खलिल जिब्रान द्वेधता (डुवालिटी) का कवि हुन् । भौतिक विज्ञानमा बलमा प्रतिबल, क्रियामा प्रतिक्रिया हुन्छ भनेजस्तै जिब्रान मानव जीवनलाई परस्पर विरोधी शक्तिमा देख्छन्, जुन आफ्नै जीवनको उतार चढावका कारणको पनि निष्कर्ष थियो । उनले मानव अस्तित्वमा रहेका परस्पर विरोधी शक्तिहरु खुसी र दुख, जीवन र मृत्यु वा प्रेम र पीडा शत्रु होइनन्, एउटै एकीकृत समग्रका अविभाज्य भाग हुन् भन्ने दृष्टिकोण देखाए । मानवीय मस्तिष्क आफै द्वैधतामा पूर्ण रहन्छ, प्रकृति आफै द्वैधतामा रहन्छ, समय दिन र रातको द्वैधतामा रहन्छ । जिब्रानको यहि विचार द्वैधताको दर्शन हो । काव्यिक प्रयोगमा भने उनी मूलतः स्वच्छन्दतावादी (रोमान्टिक) हुन्, आध्यात्मिकता, रहस्य र आदर्शले स्वछन्दतालाई पछ्याइरहेको छ । अरवी साहित्यमा नयाँ युगका प्रणेता मानिएका खलिल जिब्रान एकसाथ कवि, लेखक, आख्यानकार र दृश्य कलाकार थिए । 

शब्दसँग खेल्ने स्रष्टा जिव्रान विचारसँग पनि विद्रोह गर्दछन् । शब्दलाई शक्ति दिन्छन् र शब्दको शक्तिमा संसार देख्छन् । उनको विख्यात कृति ‘दी प्रोफेट’ ईश्वरीय अस्तित्वका लागि बाटो देखाउछ, पवित्र सन्देश दिन्छ र मानवतालाई प्रकाशन गर्दछ । प्रेम, विवाह, बालबच्चा, काम मृत्युको अर्थ संसार सामु राखेर करोडौ मानिसको सोच्ने तरिका नै बदलिदिन्छ । ‘दी म्याडम्यान’ मा समाजले दिएको नकावलाई उतार्नु असली स्वतन्त्रता हो भन्ने सन्देश दिन्छ, काव्यात्मक व्यङ्ग्यका साथ । ‘दि ब्रोकन विंग्स’ ले समाजको ढोंगी, झुठापन, पैसाको भोक र झुठा इज्जतले साँचो प्रेमको प्वाँख काटिदिन्छ भन्ने देखाउँछ । आजीवन अविवाहित रहेका जीव्रानको आफ्नै भोगाइको निष्कर्ष पनि यसमा छ । अरवी समाज प्रेम र पारिवारिक सम्बन्धमा निकै कठोर छ र त्यसको मार जिव्रानमा पनि छ । ‘ए टिएर एण्ड स्माइल’ मा प्रेम, करुणा र समर्पणका मर्मस्पन्दनको काव्यिक प्रस्तुति छ । 

‘स्याण्ड एण्ड फोम’ मा ससाना विषयलाई गहन चित्रणका साथ उतारिएको छ, ‘द निम्स अफ दी भ्याली’ मा ससाना कथामार्फत सामाजिक ढोंग र अत्याचारको आलोचना छ । ‘स्पिरिट अफ रिवेलिएन’ भने समाजको आलोचना मात्र होइन, विद्रोह नै हो । उनका सबै कृति अब्ब्ल छन् तर दि प्रोफेट उनको पर्याय बनेको छ । अमेरिकी–लेवनानी स्रष्टा हन् तर अरवी साहित्यका मानक मानिन्छ । उनका सबै कृतिको प्रधान विषय प्रेम, मानवता र अध्यात्मा हो । यिनै शक्तिशाली दर्शन मार्फत उनका सिर्जनाले विश्वव्यापी प्रेरणा र प्रेमको प्रतिध्वनि दिइरहेका छन् । 

स्वच्छन्दतावादी स्रष्टाहरु प्रकृतिसँग औधी रमाउँछन् । खलिल जिब्रान स्वच्छन्दतावादी कवि हुन्, हरेक कुरालाई प्रकृतिका सापेक्षमा हेर्छन र मानिस र प्रकृतिको सापेक्षिक सम्बन्ध अन्वेषण गर्दछन् । प्रकृतिले धेरै कुरा आफैले व्यवस्थित गर्छ । विरुवाहरु बढ्ने नियम कसैले बनाएको होइन, कसरी चर्ने भन्ने कुरा जनावरलाई कसैले सिकाएको छैन, नदीहरु बग्ने, हावा फैलने, दिन रात, मौसम र यामहरु आफै व्यवस्थित छन् । प्रकृतिका यिनै सिधापन, सादापन र सिद्धान्त हेरेर मानिस विचार, भावना, सौन्दर्य, आनन्द र साहसहरु आफै पैदा गर्दछ । खलिल जिब्रान प्रकृतिलाई गुरु मान्दछन्, जसरी लक्ष्मीप्रसाद देवकोटा, रविन्द्रनाथ ठाकुर, जयशंकर प्रसाद, विलियम वर्डस्वर्थ, टि एस कलरिज, इमिली डिकिन्सनहरु देखिएका छन् । 

जसरी प्रकृतिले बनाएका विधिहरु सादा र स्वच्छ छन्, मानिसले बनाएका विधिहरु स्वच्छ छैनन् । मानिसले बनाएका नियमहरुले आफ्नै आनन्द र आजादीलाई कैद गर्छ, निजत्व अपहरण गर्छ, कृतिम र बन्धित परिसीमाको जीवन बाँच्न वाध्य बनाउँछ । प्रकृतिले जन्माएका मानिसलाई समाजले अर्कै बनाइदिन्छ । प्रकृतिले मानिसलाई धेरै कुरा दिएको छ  । धन, कर्म, काम, पुण्य सबै एउटै फलफूलको बृक्षले दिन्छ । प्रकृति गुरु पनि हो, आमा पन िहो । खलिल पनि एनी ¥याण्ड, सिमाने डे विभ्वाएर र भर्जिनिया उल्फ जसरी मानिस र समाजको सम्बन्ध स्वच्छ नभएकोमा दुखी छन् । आफ्ना भोगाई र अत्मिक चिन्तनलाई शब्दमा उतारिएकाले ती अन्तरवोधी छन्, शब्द र भावमा आफै डुबेका छन् । 

नियम र रितिले प्रकृतिका समान सिर्जना मानिसलाई सानो ठूलो, धनी गरिब, बुझेको नबुझेको, कालो सेतो, महिला पुरुष, के के के के मा विभाजन गर्छ । यसले स्वतन्त्रता र स्वभाविकतालाई थुनिदिन्छ र मानिस दुलोभित्र यात्रा गर्छ । समाजले जीवन सरल बनाउनु पर्ने हो तर एकपछि अर्को जटिलता थप्दै जान्छ । प्रकृतिको सादगी माथि समाज खिलापमा छ । प्रकृतिका कुरालाई द्वैधतामा बाँड्ने (विफ्यूरिकेटेड लाइन अफ फल्ट) पक्षपाती दृष्टिकोण नै गलत हो भन्ने जिव्रानको मत छ । प्रकृतिको खिलापका कारण मानिस दुख र विपत्तिमा पुग्छ । जव व्यक्ति किताव हेर्छ उ बेबकुफ र बेइमान बन्छ । असली नियमा कितावमा शहोइन, आफ्नै समझामा हुन्छ, जुन जन्मदै प्रकृतिले दिएको हुन्छ । 

खलिल जिब्रान स्वतन्त्रताका पक्षपाती छन् । निजत्व र स्वतन्त्रतामा रमाउँछन् तर उनका अर्थमा कोही पनि मानिस पूर्णस्वतन्त्र छैन । समाज, परिवार र विरासतले मानिसलाई आग्रही र अर्कै बनाइ दिन्छ । अस्तित्ववादी लेखक फ्रान्ज काफ्कामा देखिएको बुबा असर जस्तै उनका पिता खलिल शाह जिव्रानको व्यवहार र भयानक पीडा दिएको थियो । खलिल शाह जिब्रान कर अधिकृत भैकन जुवा, रक्सी लगायतका गलत आदतमा रहेकाले आमा, आफू, भाइ र बहिनी माथि भावनात्मक चोट पुगेको थियो । घरमा आर्थिक अभाव थियो, पारिवारिक वातावरण तनावपूर्ण रहन्थ्यो । अन्ततः सरकारी रकम मस्यौटका कारण उनलाई सजाय दिइएको थियो । बुबाको पृष्ठभूमि उनीहरुको परिवारको पहिचानलाई प्रभावित पारिरहेको थियो । बुबाको आदतका कारण उनले निष्कर्ष निकाले कि कोही पनि पूर्ण स्वतन्त्र हुँदैन । जिव्रानको जीवनभरि नै घरायसी पृष्ठभूमिले प्रभाव पारिनै रह्यो । उनका लेखाइमा अरवीसमाज, त्यहाभित्रको असमानता र पीडामा जकडिएको अनुभूत स्पर्श छ । त्यो निकै गहिरो छ, जहाबाट उनी काव्यिक–बैचारिक अन्वेषण गर्दछन् । 

सच्चा शक्ति अरुलाई अधिनमा राख्ने वा प्रभावमा पार्नेमा हुँदैन, आफ्नो गलत आदत नियन्त्रण गर्ने जिम्मेवारीमा रहन्छ । उनका अनुसार जीवनमा भयानक समस्या आउदा दुख मनाएर होइन, स्वीकारेर नै त्यसबाट उठ्न सकिन्छ । काम गर्नुपर्छ । आफ्नमे भाग्य बदल्ने यो मात्र एक तरिका हो । मनैदेखि स्वीकारेर काम गर्नाले मात्र मानिस भाग्यमानी हुन्छ । काममा प्रेम छैन भने त्यो गुलामी हो । पिताका कारण घरपरिवारमा देखिएको तनावपूर्ण वातावरणबाट उनले आफूले सिकेको र अरुलाई सिकाएको कुा नै दुखको सामाना गर, प्रेमले काम गर र जीवनलाई आफ्नो बनाउ हो । 

निजत्वको सन्दर्भमा खलिल जिब्रानको विचार थियो, प्रत्येक मानिससँग अलग रुपमा सोच्ने समझ हुन्छ, जसलाई आफ्ना कुरा बताउने पूरा हक हुन्छ । यो हक प्राकृतिक हो । बालबालिकालाई सुन्ने होइन, हेर्नुपर्छ भन्ने दृष्टिकोण खलिल जिब्रानको छ ।  विद्यालय कारखाना होइन, जहँ सबै बस्तु एकै ढाँचामा उत्पादन हुन्छ । शिक्षण अनुष्ठान र शिक्षकले व्यक्तिको निजी सोच र स्वतन्त्रतामा अरुको विचार लाद्ने कामले वैयक्तिक स्वतन्त्रता साँघुरिन्छ । शिक्षकको काम छात्रको दिमागमा जवर्दस्ती कुरा कोच्नुमा छैन । प्रत्येकसँग आफ्नै समझ पहिल्यै छ, त्यो समझामा पुग्न मद्दत गर्नुमा मात्र शिक्षकका महत्व छ । पहिल्यैदेखि आफूसँग नभएको कुरा कसैले सिकाउन सक्दैन, चेतना जगाउने काम मात्र शिक्षाले गर्दछ । विचार लादेर व्यक्ति शिक्षित हुँदैन, विरुप बन्दछ । धेरैजसो चिन्तक र शिक्षाविद जिब्रान जसरी नै शिक्षालाई स्वाभाविक समझ विस्तार गर्ने विधि मान्दछन् न कि स्वतन्त्रताका सीमा खिच्न शिक्षा चाहिएको हो । 

स्रष्टाहरु स्वतन्त्रता, चेतना र निजत्वका पक्षपाती हुन्छन् । स्रष्टामा रहेको अधिचेतनले उन्मुक्तताको अन्वेषण गर्दछ । मुस्लिम समाजमा त्यो अझै आवश्यक भएको जिब्रानका सिर्जना चिन्तनमा देखिन्छ । उनका अनुसार समाजको ढाँचा खोक्रो र ढौगी छ । 

मानिस दुखमा संवेदनशील हुन्छ । दुखले उसलाई सताउछ, सुखको सम्झना भन्दा दुखको संवेदनाबाट उ ग्रसित छ । त्यही दुख र विपदको वरिपरि रहेर जीवनलाई हेर्ने दृष्टिकोण अस्तित्वबादीको हुन्छ । आफ्ना कृति र चिन्तनमा खलिल जिब्रान अस्तित्ववादी देखिन्छन् । उनको जीवन हेर्ने दृष्टिकोण दुखबाट विकास भएको छ । लागतारको दुखले मानिसलाई मृत्युवोध गराउँछ, जीवन बाँच्ने साहस पनि दिन्छ । दुख जीवनको एक स्वभाविक अवस्था हो, । मानिसभित्र दुखले त्यस्तो तागत दिन्छ कि कैयन ठूला दुखमा पनि उ अघि बढ्न सक्छ । उनको जीवन त्यसरी नै दुखले साहस सिर्जना गरेर बाँचेको थियो, मृत्युबोधमा टुङ्गिएको छ । मृत्यु प्राकृतिक नियम हो । तर मृत्युपछि पनि मानिस आफूलाई माया गर्नेहरुसँग सम्झना, स्मृति र घटनाहरुमा रहिरहन्छ । 

खलिल सरल र बोलीचालीको भाषामा लेख्छन् । सरल भाषा शैलीमा लेख्दा आफ्ना विचारहरु सजिलै आम जनताकोमा पुयाउन सकिन्छ भन्ने उनको मान्यता थियो । प्रकृति र मानिसको सम्बन्ध बताउन पनि सरल भाषा शैली नै चाहिन्छ । सरलताका कारण उनी आम मानिस र प्रकृतिका स्रष्टा बनेका छन् । न्यूर्योकमा रहँदा आप्रवासी र अरवीहरुको स्वर फैलाउन उनले अल महाजीरमा लेख्दा उनी सरलतामै प्रस्तुत हुन्थे, सरलतामा प्रस्तुत हुन अरु स्रष्टालाई आग्रह गर्थे । उनका सबै कविता, आख्यान र गैरआख्यानहरु सरल र संवोधी छन् । कठिन भाषा प्रयोग गरेर सबैको बन्न सकिदैन भन्नेमा उनी सावधान थिए । लेखनमा व्याकरणको चिन्तावेगर दिलको कुरा लेख्न खलिलको आग्रह छ । शास्त्रीय लेखन प्रवृत्तिलाई यो अर्को चुनौती थियो । उनले न्यूयोर्कमा रहँदा कलम लिग गठन गरी अरवी लेखनलाई सरल र नवीन बनाउन संगठित अभियानमा रहे । विचार नयाँ र प्रस्तुति पनि नयाँ तर शैली सरल भएपछि मात्र साहित्य सबैको र सँधैको हुन्छ भन्ने मान्यतालाई आफ्नै नेतृत्वमा अघि बढाएका थिए । त्यतिबेला अरवी लेखकहरु पुराना कथा लेख्थे, राजा रानीका विषयमा लेख्थे, बनावटी कुरा लेख्थ, जटील लेख्थे, सर्बसाधारणसामु पुग्दैनथे । त्यसपछि उनलाई महशुस भयो –भाषा कुनै सजाउने विषय होइन, नियममा बन्द गर्ने विषय होइन । भाषाको मतलव एकका कुरा अर्कोसम्म पु¥याउने माध्यम पाउनु हो । कुनै पनि भाषा आफ्नै समय, समाजको सुखदुख बताउन, दुख निराकारण गर्न सघाउदैन भने त्यसको के मतलव । यस अवस्थमा भाषा विस्तारै मर्छ । साथै एउटा लेखकको अभिष्ट समाजको ऐना देखाउनु हो, न कि पुराना समयको सपना भुलाई राख्ने विषय । साहित्य जिन्दगीको साथसाथ बदलिनु पर्दछ । समाजलाई असल असल कुरा सिकाउने मानिस महान होइन, सामान्य मानिस हो । स्रष्टा सामान्य मानिस हो । 

खलिल जिब्रान आध्यात्मिक थिए तर उनको आध्यात्मिकता पूजा पाठमा थिएन । आध्यात्मिकता कुनै मन्दिर वा पूजा पाठ धर्मस्थलको पर्खालमा होइन, यो व्यक्तिको आत्मिक खोज हो । अध्यात्मिक हुन कुनै विचौलियाको सहारा चाहिदैन, भगवान त्यस्तो व्यक्ति होइन जो आकाशमा रहेर अरुको सुख पापको हिसाव राख्छ, सजाय दिन्छ । भगावान एक सच्चाइ हो, अच्छाइ र मानवीयता हो । उनका अर्थमा आफ्नो काम इमान्दारीसँग गर्नु र प्रकृतिलाई आदर गर्नु आध्यात्मिकता हो । अध्यात्मिकतामा जिब्रानको दर्शन त्यतिखेरको अरवी विश्वका लागि एउटा क्रान्तिकारी विचार थियो । 

जीवनका हरेक पल नयाँ छन्, जीवनलाई बताउने तरिका पनि नयाँ छ । समयको गतिसँग समाज बदलिएन भने पोखरीको जमेको पानी जस्तो गतिशीन हुन्छ । गतिहीनतामा स्वच्छता छैन । वगेको पानी जसरी आफै सँग्लिदै, फेरिदै गतिशील हुनु जीवन हो । स्रष्टाहरु त हरबखत सँग्लिनु पर्छ । स्रष्टा लेख्दा लेख्द्रै सामाजिक विचारको अभियानमा रहनु पर्दछ । सँच्चै उनी जीवनभर एउटा अभियानमा रहे । व्यक्तिगत रुपमा उनको जीवनको शुरु र उत्तराद्र्ध निकै दुरुह रह्यो तर उनको विचार दृष्टिकोण एउटा आदर्श अभियमन थियो । 

लेख्ने अभ्यासमा उनी आफ्नै शैली अपनाउँथे । कविताका हरफहरु लेख्दै, मेट्दै, सच्याउँदै परिस्कृत पार्ने उनको बानीले उनका लेखाइका हरफहरु शब्द शब्द कुँदिएर लालित्यमयी बनेका छन् । उनका लघुकथा पनि सुक्तिमय काव्यका रुप हुन्, कविताहरु कोमल भावास्पर्श हुन् । उनी लेख्दालेख्दै कल्पना गर्थे आफूले लेखिएको कुरा जीवनमा आउदैन भने त्यो लेखाइको के मतलव ? सर्वसाधाणको जीवनमा आउदैन भने त्यो लेख्नु निरर्थक हो । 

कर्म र सोचका संमिश्रण जीवन हो । मानिस जे सोच्छ, जे गर्छ त्यै बन्छ । आफै सोच र जीवनको निर्णय नगर्ने मानिस आफ्नै लागि पनि अपराधी हो । साथै आफ्नो जीवनको लालसाको शिकार छोरीछोरीलाई बनाउन नहुने उनको विचार थियो । उनीहरुको लागि यो बन, यो गर भन्ने होइन, स्वतन्त्र निर्णय गर्नसक्ने माया दिनु अभिभावकको कत्र्तव्य हो । कठोर अभिभावकबाट जीवन बरवाद भएका फ्रान्ज काफ्का यसका उदाहरण हुन् । 

संसार अविरल अगिबढ्छ । संसारको गतिशीलतालाई समाएर मानिस मानिस बन्छ । तर मानिस भिन्न ठाउमा पुग्दा भिन्न भिन्न चेहरा देखाउँछ । आफूलाई पूरै भुल्छ । आफूभित्र के छ पूरै भुल्छ र दाश बन्छ । कुनै सम्बन्धमा एक मालिक र अर्को दाश त्यो कायम हुन सक्दैन । त्यो त सम्बन्ध नै होइन । प्रेमका विषयमा आचार्य ओशो, दार्शनिक सिमाने डे विभ्वाएर र कथाकार अमृता प्रीतमसंग उनको दृष्टिकोण समान छ । प्रेमले बन्धन होइन, स्वतन्त्रता दिनुपर्छ । प्रेमको मतलव कसैमा समर्पण र दाशत्व सिर्जना होइन, आत्मिक स्वतन्त्रता सहितको सहजता हो । 

खलिल जिब्रानको धेरै पहिचान भएपनि उनको परिचय कवि हो, अन्य विधामा भन्दा कवितामा उनी खुखेका छन् । पीडामयी पृष्ठभूमि भएका कविहरु आफै कविताका पंक्तिमा पोखिएर मनको विरेचन गर्दछन् । आफै कविता बनेर जीवन दृष्टि दिन्छन् । उनको कविता आँसु र खुसीका समिश्रित दोभान हुन् । जिब्रान भन्दछन गहिरो दुख नदेख्ने व्यक्ति खुसीको साँचो अभिष्ट महशुस नै गर्न सक्दैन । जति बढी दुख हुन्छ मानिसभित्र बस्तु (अवस्था) बुझ्ने क्षमता त्यति नै गहन हुन्छ । दुखले मानिसभित्र एक खाली भाग (स्पेस) सिर्जना गर्दछ, त्यही खाली भाग खुसीले भरिन्छ । उनको कविता ‘अ टिएर उण्ड अ स्माइल’ खुसी र दुखका सम्मिश्रण र अुनुभूतिका विरोधाभाषमा पनि छन् । उनी भन्छन्:

‘मनको पीडा म अरुलाई साझा गर्न चाहन्न
अरुको खुसीका लागि, 
अनि म दुखले आमन्त्रण गर्ने आँसु पउने छैन
मेरा हरेक भागबाट खुसीमा परिणत हुन, 

म मेरो जीवन आँसु र खुसीमा रहोस भन्ने चाहन्छु । 

आँसुले मेरो हृदय धुन्छ र ममा समझ बढाउछ
जीवनका रहस्य र लुकेका कुराहरुको, 
मेरा आफ्ना सन्तानसरह नजिक ल्याउने मुस्कान र
ईश्वरीयतासम्म पुग्ने मेरा महत्तम भावनाका प्रतीक हुन् । 

टुटेका हृदयसँग मलाई एकतावबद्ध गर्न आँसु
मेरो अस्तित्वका लागि आनन्दको संकेतक खुसी । 

......  .........  .........

साँझसँगै फूलका पत्रहरु बन्द हुन्छन्
अनि उनको चाहनालाई अँगालो हालेर सुत्छ । 
विहानीको आगमन भेट्नलाई आफ््ना ओठहरु खोल्छिन्
सूर्यको चुम्बन । 

फूलको जीवन चाहना र प्राप्ति हो 
आँसु र मुस्कान । 

समुद्रको पानी बाफ बन्छ, उड्छ 
बदल बन्छ र एकसाथ आउँछ । 

बदलको जीवन विदाई र भेटघाट 
आँसु र मुस्कान ।

अनि यसरी आत्मा अलग हुन्छ 
पदार्थको संसारमा गतिवान आत्मा 
अनि दुखको पहाडमाथि बादल जस्तै पार हुन्छ 
अनि मृत्युो हावासँग भेट्न आउने आनन्दका मैदानहरु 
अनि जहाबाट आएको त्यही फर्कन्छ । 

प्रेम र सौन्दर्यको सागरतिर.....भगवानतिर ।’ 

खलिल जिव्राना कवितामा प्रेम, प्रकृति, निराशा र मुक्तिका भावहरु रहन्छन् । सत्यको स्रोतको रुपमा आत्मिक तनाव छ जसलाई काव्यात्मक लय दिइएको छ । उनी जीवनदेखि निराश हुन लाग्छन्, फेरी साँझ र विहानसंग जीवनको यात्रालाई दाज्छन् र जीवनका असजिला पक्षलाई स्वाभाविक पाटा सम्झन्छन् । साँझमा फुलका पत्रहरु बन्द भएर विहानको प्रतीक्षा मीठो भएको छ, विहानै सूर्यको कलिलो किरणसँग चुम्वन गर्दछ । बादल वाफ बन्छ, र फेरि पानीमा झर्छ । तर महासागर प्रेम र परमात्मामा मिलन भएर मुक्तिमा टुङ्गिन्छ । खलिलका कविता एकसाथ सुन्दरताको पद र विरोधाभाषी घोषणा हुन् । आत्मासँग प्रत्यक्ष सम्वाद गर्दछन्, अप्रकाशित सुन्दरतालाई कैद गर्दछन्, पीडाबाट भाग्दैनन्, सतही खुसीको पछि लाग्दैनन्, दुखलाई सम्मान गर्दै आत्मालाई शुद्धीकरण गर्दछन् । त्यसैले उनका कविता आँसु र आनन्दका सुन्दर अभिव्यञ्जना कहलिन्छन् । उनका कविताले उनको जीवनलाई वोक्दछन्, जस्तो कि उनी भन्छन् ‘म थकित र निराश भएर बाँच्नुभन्दा तृष्णा र चाहनामा मर्न मनपराउँछु’ । अर्को महत्वपूर्ण विशेषता जिब्रान प्रकृतिसँग स्वच्छन्द नाँच्छन् र आफूलाई बताउन प्रकृतिलाई वारेस गर्दछन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्तै । बर्षाको गीतमा उनी भन्छन्: 

‘जव म रुन्छु पहाडहरु हाँस्छन्,
जव म आफूलाई कोमल बनाउँछु
फूलहरु खुसी हुन्छन्
जव म झुक्छु, सबै कुरा प्रफुल्लित हुन्छन्’ । 

खलिल जिब्रानका कविता सवैले सुन्न सक्छन्, तर संवेदनशीलले मात्र बुझ्ने गर्दछन् । उनका काव्याभिव्यक्ति सरल शब्दभित्रका गहिरा सागर हुन्, जहाँ एकसाथ प्रेम, प्रकृति र परमात्मासंग सम्मिलन छ । उनी लेखक, कवि र दृश्य कलाकार भएकाले होला उनका सिर्जनामा मानवीय चिन्तन र कोमल भावनाका भावचित्र हुन् । कविता पढ्दापढ्दै प्रकृतिको स्वच्छा सादा दृश्यचित्र अगिल्तिर आइदिन्छ । 

(@mainaligopi)

मैनाली निवास, क्षितिज मार्ग, 
शङखमूल ।                                                     महाअष्ठमी, २०८३

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार