Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Follow us

सिवाईसीको १७औँ समृद्धि दिवस अन्तर्गत गल्कोटमा उत्साह, विस्तारित मञ्चमा १९ नयाँ शेयर सदस्य र १२ बाल बचतकर्तालाई स्वागत

सिवाईसीको १७औँ समृद्धि दिवस अन्तर्गत गल्कोटमा उत्साह, विस्तारित मञ्चमा १९ नयाँ शेयर सदस्य र १२ बाल बचतकर्तालाई स्वागत

गल्कोट, बागलुङ । सदस्यको विश्वास, सहकार्य र आर्थिक समृद्धिको यात्रालाई थप मजबुत बनाउँदै सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङले आफ्नो १७औँ समृद्धि दिवसको अवसरमा गल्कोट इलाकास्तरीय विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ। सिवाईसीले २५ वटा सदस्य सेवाकेन्द्रलाई समेटेर सातवटा इलाका समन्वय केन्द्रस्तरमा असोज २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने विस्तारित मञ्च कार्यक्रमअन्तर्गत आज असोज २७ गते गल्कोटस्थित गल्कोट स्क्वायर होटलमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा करिब २५० जना शेयर सदस्य तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता थियो।

गल्कोट इलाका समन्वय केन्द्रका संयोजक रामबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेल रहनुभएको थियो भने सहकारी प्रशिक्षक तथा सहकारी विज्ञ प्रेमनाथ वाग्ले विशिष्ट अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा गल्कोट इलाका समन्वय केन्द्रअन्तर्गतका गल्कोट, काँडेबास र दगा सदस्य सेवाकेन्द्रका संयोजकहरू, गाउँ तथा टोल उपसमितिका संयोजकहरू, कर्मचारी र शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा १९ जना नयाँ शेयर सदस्य र १२ जना बाल बचतकर्तालाई स्वागत गरिएको थियो। नयाँ सदस्यहरूको आगमनले संस्थाप्रतिको विश्वास र सहकारी अभियानप्रतिको आकर्षणलाई थप उत्साह दिएको सिवाईसीले जनाएको छ। बाल बचतकर्तालाई गरिएको स्वागतले बालबालिकामा सानै उमेरदेखि बचत गर्ने बानीको विकास गराउने र आर्थिक अनुशासन सिकाउने महत्त्वपूर्ण सन्देश दिएको छ। यसै अवसरमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएकी गल्कोट सदस्य सेवाकेन्द्रकी सह–संयोजक कमला बस्नेत खड्कालाई सम्मान गरिएको थियो।

कार्यक्रममा गल्कोट, काँडेबास र दगा सदस्य सेवाकेन्द्रका प्रमुखहरूले आ–आफ्नो सेवाकेन्द्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका प्रबन्धक नवराज काफ्लेले सिवाईसी साकोसको समग्र प्रगति, उपलब्धि, वर्तमान अवस्था र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो। साथै, उक्त कार्यक्रममा सदस्यहरूको आवश्यकता, सुझाव र अपेक्षालाई समेट्दै संस्थाका सेवा तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल गरिएको थियो।

कार्यक्रममा सहकारी प्रशिक्षक वाग्लेले वित्तीय साक्षरता, संशोधित सहकारी ऐन–नियम तथा नियामकीय मापदण्डसम्बन्धी प्रशिक्षण सञ्चालन गर्नुभएको थियो । प्रशिक्षणमा सहकारी नियमन प्राधिकरण, इजाजतपत्र तथा नवीकरण प्रक्रिया, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण, सञ्चालक बन्न आवश्यक योग्यता, नगद कारोबारको सीमा, राष्ट्रिय परिचयपत्र, सदस्य पहिचान फाराम तथा आयस्रोत खुलाउने व्यवस्थाबारे जानकारी गराइएको थियो। साथै, मोबाइल बैंकिङमा आफ्नै नाममा दर्ता भएको सिम प्रयोग गर्ने, डिजिटल बैंकिङ सुरक्षित रूपमा सञ्चालन गर्ने, नियमित बचत गर्ने र आर्थिक स्रोतको उचित व्यवस्थापन गर्ने विषयमा पनि सहभागीलाई सचेत गराइएको थियो।

WhatsApp Image 2026-10-13 at 22.17.04.jpeg

कार्यक्रममा संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले गरिब तथा विपन्न समुदायलाई समेत सहकारीको पहुँचमा ल्याउने उद्देश्यका साथ सिवाईसी साकोस स्थापना गरिएको बताउनुभयो। उहाँले “हुनेखानेको पैसा हुँदा खानेसम्म पुर्‍याउने, हुँदा खानेलाई हुनेखाने बनाउने” सोचका साथ ८० जना सदस्यबाट संस्था सुरु गरिएको र पहिलो दिनमै ८० लाख रुपैयाँको कारोबार भएको स्मरण गर्नुभयो। संस्थाले न्यूनतम एक हजार रुपैयाँदेखि शेयर सदस्यता प्रदान गर्दै सानो पुँजी भएका व्यक्तिलाई समेत सहकारीमा आबद्ध हुने अवसर दिएको उल्लेख गर्दै उहाँले सदस्यहरूको सुख–दुःखमा साथ दिन मृत्यु राहतलगायत सामाजिक सुरक्षा तथा राहतका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। नियमित र स्वस्फूर्त बचतले आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्‍याउने भन्दै उहाँले सदस्यहरूलाई बचत गर्ने बानी विकास गर्न, समुदायमा वित्तीय साक्षरता फैलाउन र संस्थाका गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

WhatsApp Image 2026-10-13 at 22.30.30.jpeg
undefined

अध्यक्ष पौडेलले संस्थाको १७औँ वार्षिक साधारणसभालाई लक्षित गरी तीन चरणमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। पहिलो चरणमा सेवा केन्द्र उपसमिति तथा इलाका समन्वय उपसमितिका बैठकमार्फत आवश्यक निर्णय गरिएको, दोस्रो चरणमा असोज महिनाभर सातवटा विस्तारित मञ्चमार्फत सदस्यका सुझाव संकलन भइरहेको र तेस्रो चरणमा मङ्सिर महिनामा सेवा केन्द्रस्तरमा इकाइ साधारणसभा सम्पन्न गरेपछि संस्थाको १७औँ वार्षिक साधारणसभा आयोजना गरिने उहाँले बताउनुभयो।

WhatsApp Image 2026-10-13 at 22.15.28.jpeg
undefined

यसैगरी, अविरल वर्षापछिको बाढीबाट प्रभावित शेयर सदस्यहरूले राहत प्राप्त नगरेको अवस्था भएमा आवश्यक विवरण संकलन गरी राहत वितरणका लागि सिफारिस गर्न उहाँले कर्मचारी तथा सेवा केन्द्र उपसमितिलाई निर्देशन दिनुभयो। सुत्केरी पोषण तथा शिशुदर्शन सुविधालाई थप प्रभावकारी बनाउने र बालबालिकामा सानैदेखि बचतको महत्त्व सिकाउने विषयमा पनि उहाँले जोड दिनुभयो। कार्यक्रममा काँडेबास सदस्य सेवाकेन्द्रका संयोजक श्री पवित्र बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गर्दै व्यक्तिगत समस्याका बाबजुद कार्यक्रममा उपस्थित भएका शेयर सदस्य तथा सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा गल्कोट इलाका समन्वय केन्द्रका संयोजक रामबहादुर खत्रीले सदस्यहरूको सहजतालाई ध्यानमा राखेर पायक पर्ने स्थानमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले विस्तारित मञ्चमा देखिएको सदस्यहरूको उत्साहजनक सहभागिताप्रति खुसी व्यक्त गर्दै प्रशिक्षणबाट प्राप्त वित्तीय साक्षरता तथा बचतसम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न सबै सदस्यलाई आग्रह गर्नुभयो।

WhatsApp Image 2026-10-13 at 22.22.41.jpeg

नयाँ शेयर सदस्य तथा बाल बचतकर्ताको स्वागत, सेवाकेन्द्रको प्रगति समीक्षा, वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण र सदस्यका सुझाव संकलनसहित सम्पन्न यस कार्यक्रमले सिवाईसी साकोसप्रतिको अपनत्व र सहकार्यलाई थप बलियो बनाउने विश्वास लिइएको छ। सदस्यहरूको सक्रिय सहभागितालाई आधार बनाउँदै आर्थिक समृद्धि, बचत संस्कार र दिगो सहकारी अभियानलाई अघि बढाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको छ।

WhatsApp Image 2026-10-13 at 22.13.54.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार