पहिला साहित्य नीति शिक्षाको माध्यम थियो । सनातन शास्त्रका विचाहरुलाई कलात्मक रुपमा व्याख्या र विश्लेषण गरेर समाजमा नैतिक सन्देश दिन कविता लेख्ने, गेयसुलभ र स्मरण सहज बनाई नीति सन्देश प्रवाह गर्ने गरिन्थ्यो । नीति सन्देश दिने क्रममा भक्तिभाव र प्रकृति प्रेमलाई प्रस्तुति सहयोगी बनाइन्थ्यो । प्राचीन समयमा कानून भनेको शास्त्र थिए, तिनलाई पुस्ता पुस्तमा हस्तान्तरण गरी संस्थागत गरेर नै समाज व्यवस्था नीतिमय (सभ्य) बनाउन सकिने मान्यता थियो । कवि–स्रष्टाहरु त्यसै गर्थे । कविशिरोमणि लेखनाथ पौड्यालका कविताले शास्त्रीय साहित्यको यही प्रवृत्तिलाई अपनाएको छ ।
कविशिरोमणि लेखनाथ पौड्याल नैतिक शिक्षाका पनि शिरोमणि हुन् । उनका कविताको प्रधान विषय नै सुसंस्कृत–सुरम्य समाज, सभ्य संस्कार र असल मानिस हो । उनका फुटकर कविता, नव्यकाव्य, खण्डकाव्य, नाटक सबैको कन्द्रीयभाव नैतिक सन्देश हो । नैतिक सन्देश दिनु कवि कर्म नै सफलताको जग हो भन्ने मान्यता राख्दछन्, सामाजिक मूल्य मानक प्रवद्र्धन गर्न खोज्छन्, सामाजिक विश्वासमा मात्र विश्व पूर्ण हुने देख्छन् । उनका कवित्वको विश्लेषण तथा मूल्यांकन गर्दा सिर्जनाका विभिन्न मूल्य र सिद्धान्तमा रहेर गरिएका पाइन्छ । धेरै विद्वान विवेचकहरुले उनका विषयमा आफ्ना दृष्टिकोण राखेका छन् । मलाई भने उनका कविताका दुई पक्षलाई लिएर मूल्यांकन गर्दा उनको कविताको सम्पूर्णता भेटिन्छ जस्तो लाग्छ । पहिलो पक्ष नीति शिक्षा (नैतिक आचरण) हो, दोस्रो पक्ष चाँहि लालित्य (वा कलामाधुर्य) ।
नीति विषय वा नैतिकता केलाई भन्ने विषय प्रष्ट पार्नुपर्ने हुन्छ । कला, साहित्य, दर्शन लगायत समाजका सबै विधाबाट यसलाई सारमा समान रुपमा लिने गरिन्छ । कुनै पनि विषय वा व्यवहारलाई ठीक वा वेठीक भनेर मूल्यांकन गर्नसक्ने चेत जव व्यक्तिमा हुन्छ त्यतिखेर ठीक गर्ने जुन आन्तरिक शक्ति प्राप्त हुन्छ त्यही नै नैतिकता हो, नैतिकतालाई प्रवद्र्धन गर्ने विधि चाँहि नीति शिक्षा । नीति शिक्षा एउटा मानवीय दर्शन पनि हो । नैतिकताले व्यक्तिको चारित्रिक विकास, सामाजिक सद्भाव र सदाचारी जीवन जिउन ज्ञान, विवेक र सीप दिन्छ । सतआचरणको प्रज्ञा दिन्छ ।
आदि दार्शनिक सुकरातको अर्थमा व्यक्तिमा सद्गुणहरु हुनु, आदर्श हुनु नै नैतिक हुनु हो । नैतिकताले पवित्र आत्मालाई माग गर्दछ । स्वयम् परीक्षित हुने चेतनाले मात्र मानिस सही हुन्छ । इच्छाले व्यक्ति कोहीले पनि नराम्रो गर्दैन, तर अज्ञानताले सच्चाइबाट पर पुर्याउन सक्छ । जव व्यक्तिमा परीक्षित हुने चेतना हुन्छ त्यसपछि व्यक्तिनैतिक वा पवित्र हुन्छ । सुकरातका शिष्य प्लेटोले भनेका थिए मानिसको अन्तिम अभिष्ट भनेको समुन्नति वा सभ्यता हासिल गर्नु हो । जुन नैतिक आदर्शबाट मात्र सम्भव हुन्छ । क्षणिक सुख प्राप्तिको सट्टा सद्गुणी जीवन विताउँदा साँचो सन्तुष्टि प्राप्त हुन्छ । गलत काम जानजानी द्वेषबाट नभै अज्ञानताबाट उत्पन्न हुन्छ । प्लेटो मानव आत्मालाई तीन वर्गमा विभाजन गर्दछन्; कारण, भावना र भोक । भोक वा इच्छाले मानव आत्मालाई अशुद्ध बनाउन सक्छ । त्यसैले ज्ञान, उत्साहले भोक र इच्छामाथि नियन्त्रण गरी न्याय नैतिकता कायम गर्नु पर्दछ । आत्मशुद्धिले मात्र न्याय दिन्छ ।
द्याद्विवेदले आफ्नो कृति ‘नीति मञ्जरी’ मा नीतिको परिभाषा दिदै भनेका छन्–जसले कत्र्तव्य र अकत्र्तव्यको सम्यक नियमको निरुपण गर्दछ त्यो नै नीति हो । यो विधि र निषेधात्मक गरी दुई प्रकारको हुन्छ । यसको ज्ञान प्राप्त भएपछि मानिसको प्रवृत्ति धार्मिक कार्यमा बढ्छ र अधर्मयुक्त अनैतिक कार्यहरुमा बिरक्ति बढ्छ । स्वयम् लेखनाथ पौड्याल भने मानव अनुकस्ल चरित्र मर्यादालाई नैतिकता भन्न रुचाउछन् ।
नीति शिक्षाको पुञ्ज मानिएको गीताले समाज सञ्चालनका आधार शास्त्र (नीति), धर्म (आचरण) र कर्म (काम) लाई मानेको छ । अतिशय आशक्ति र तृष्णाले मानिसलाई आचारच्यूत गराउछ । नीति शिक्षा आत्मिक चिन्तन र परमसत्यको अन्तिम अभिष्टमा हुन्छ । अष्टाबक्र गीता भने आत्म वा अहम् ब्रम्हास्मी भनी सत्य एक हो, त्यही नैतिकता मान्दछ । सिद्धार्थ बुद्धका लागि अप्पो दीप भव वा आत्मिक सत्य नीति हो, जुन अष्टाबक्र समान छ ।
समय, परिवेश, शासन र समाजले पनि नैतिक आचरणका लागि मार्गनिर्देश गर्दछ । तर मार्ग निर्देश गर्ने पात्रको आत्मिक शुद्धता र चेतनाका आधारमा नीतिक आचरण अभ्यासमा आउने हो । मानवीय मूल्यका सार भने सँधै उही हुन्छन्, माया, करुणा, सद्भाव, सकारात्मकता, अहिंसा, विवेक । मूलतः नैतिक आचरण यिनै मूल्यबाट सिर्जित र निर्दिष्ट हुन्छ । असल सोचाइ, आसल बुझाइ र असल गराइ पछि नै जीवन र मानव समाज आदर्श बन्ने हो । त्यसो गर्ने शक्ति नै नैतिक शक्ति हो । जुन आत्मिक शुद्धताबाट मात्र प्राप्त हुन्छ । कविशिरोमणि लेखनाथ पौड्याल आत्मिक शुद्धता, आध्यात्मिक चिन्तन, परोपकार र बृहद सोचलाई नैतिक आचरणको आधार मान्दछन् । उनको मान्यतामा मानव बन्नका लागि चाहिने असल आचरण र मर्यादा नै नैतिकता हो । त्यसैले उनका कविता अविवेकी र तृष्णापूर्ण मानिसप्रति ‘तरुण तपसी’ मा काव्यात्मक व्यङ्ग्य गर्दछन्, जसको उद्देश्य असल मानिस हो:
‘मै खाऊँ, मै लाऊँ, सुख सयल वा मोज म गरुँ
म बाँचू, मै नाचूँ, अरु सब मरुन दुर्वलहरु
भनी दाह्रा धस्ने अवुझ शठदेखि छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरी मरी ।’
× × ×
दुःखी जाँदा हाँस्यो सहज–सुख वा शान्ति अभय
सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय ।
दुवैको एकै हो विलय, तर हाँसो फरक भो
कसैको त्यो हाँसो सुरपर कसैको फरक भो ।
तरुण तपसीमा एउटा रुख, चौतारोलाई पूरै जीवन दर्शनमा उतारेर कविले नैतिक आचरण सिकाइरहेका छन्, जसरी महाकवि कालीदासले मेघदूतमा बादललाई विम्व बनाएर प्रेमको सन्देशमा उतारेका थिए । तरुण तपसी कविशिरोमणिको सर्वोत्कृष्ठ कृति हो । यो एउटा ज्ञानको यात्रा, भनौ साछी हो, केवल युवा र वृक्षको कथा होइन । यसले जीवनका सवै आयामलाई प्रतीकात्मक प्रस्तुति गरेको छ । महान स्रष्टा बालकृष्ण सम जो यस काव्यका भूमिका लेख पनि हुन्, उनले भनेका छन् ‘तरुण तपसीका जम्मै श्लोक उद्धरणमा आउँछन् । किनभने लेखनाथीय कविताको प्रकृति नै यस्तो छ । विशेष गरेर तरुण तपसीमा लेखनाथको पूर्ण प्रकाश छ ।’
लेखनाथले ‘सत्य सन्देश’ का नाममा धरै सत्य सन्देश (नीति शिक्षा) को प्रवाह गरेका छन् । सुकरात–प्लोटोले भने झै ज्ञान सत्यको केन्द्र हो र त्यसैले मानिसलाई सत्यवादी बनाउछ । उनी भन्छन्:
‘चर्को ग्रीष्मर्तुमा त्यो
खलखलि पसिना काट्ने घाम राम्रो
बर्षामा मेघमाला
मलिन भल, हिलो, भेल, आहाल राम्रो ।
जो बेला जो व्यवस्था
प्रकृति नियमले प्राप्त भो, त्यै छ राम्रो
जो त्यो मान्दैन राम्रो
समझ अबुझ हो त्यो, त्यसैको नराम्रो । (सत्य सन्देश क)
× × ×
विद्याको, वयको, बुद्धि बलको
सौन्दर्यको मानको
प्रज्ञा कुल जातिका, इलमको,
ऐश्वर्यको, ज्ञानको ।
तातो ग्याँस मनुष्यको मगजको
सम्पूर्ण उत्रिदिए
पृथ्वीमा सब देवता घर घरै
आएर खेल्ने थिए ।’ (सत्य सन्देश ग)
आत्मिक आनन्द, अध्यात्मक चिन्तन र बुद्धवादी दर्शनको पृष्ठभूमिमा कविशिरोमणि लेखानाथका कविताहरुले मनुष्य जीवन र सभ्यताका लागि शिक्षा दिइरहेका छन् । आध्यात्मिक रुपबाट हेर्दा उनका कविताले समाज, जातिीयता, लैगिकता, कर्म, भोग, इच्छा लगायत जीवनवृत्तिका सबै आयममा सकरात्मक सन्देशहरु प्रवाह गरेका छन् ।
कविताले जीवन मूल्यलाई मार्गदर्शन र मनोरञ्जन दुवै दिनु पर्दछ भन्ने रोमन आदि कवि होरासको मान्यता जस्तै कविशिरोमणिका कविताले सामाजिक उपयोगिताका दुवै पक्षलाई संवोधन गरी सुसंस्कृत समाज बनाउने अभिष्ठ राख्दछन् । उतिबेला कवि होरासले तीन प्रकारका संदेशमार्फत रोमन समाजलाई गुण लगाएका थिए । पहिलो लोभ, लालच, नैतिक पतन र महत्वाकाङ्क्षाको आलोचना गरी नागरिक शिक्षा दिएका थिए । दोस्रो, संयमता र दृढताको वकालत गरी सरल, खुसी र आत्मनिर्दिष्ट जीवनको बाटो देखाएका थिए । तेस्रो, जीवन छोटो भएकोले सक्रिय आदर्श, कर्म गरेर वर्तमानमा बाँच्नु पर्दछ, भविष्यको चिन्ता भन्दा वर्तमानको कर्मपूर्ण जियाई महत्वपूण हो । यस विचारलाई ‘कर्पे डाइम’ पनि भनिन्छ । त्यस्तै भारतीय कवि थिरु भल्लुभार, आधुनिक नीति शिक्षाका प्रदायक कविहरु जीम पिम्बर्टिन, अल्फ्रेड लर्ड टेनिसनहरुले जसरी जीवनलाई सत्य र नैतिक आचारण्मा हिड्ने मार्गदर्शन गरेका थिए, लेखनाथका कविता पनि समान प्रवृत्तिमा छन् ।
दार्शनिक सुकरातले भने झै मन स्वच्छ भए मात्रै बाहिर स्वच्छ देखिन्छ । मानिसको मनको सापेक्ष्यमा संसार राम्रो वा नराम्रो देखिने हो । नराम्रो आफ्नै मानसिक प्रवृत्तिको उत्पादन हो भन्ने नैतिक सन्देश पौड्यालका कविताका केन्द्रीय भाव हुन् । उनले सत्य सन्देशमा भनेका छन् :
‘कालो मान्दाकिनीको जल, जलादिको मोतिका ज्योति कालो
कालो सौदामिनिको चहक, शरच्चन्द्रको कान्ति कालो ।
कैलाश–श्रेणी कालो, झलमल गरने सूर्यको विम्ब कालो
यो सारा सृष्टि कालो, मनभि छ भने दम्भ दुर्भाव कालो । (सत्य सन्देश, लालित्य, ५२)
बुद्धि–विनोद (खण्डकाव्य) मा कविशिरोमणि लेखनाथ पौड्यालले प्रश्नका शैलीमा सांसारिक कुराहरुको उद्घाटन गरेका छन् । मानिसको मन ज्ञानको ब्रम्हाण्ड भए सबै कुराको वोध युसले गर्छ भन्ने दृष्टिदर्शनमा मनलाई ज्ञानमय, विवेकमय, बुद्धिमय बनाउन उनको आग्रह छ ।
‘स्वयं निराधारविषे टनाटन
असंख्य ब्रम्हाण्ड खडा गरिकन
जगत जमायो कुन कर्मीले किन
तँलाई मालुम छ कि यो कुरा मन ?’ (बुद्धि–विनोद, श्लोक ३)
प्रश्नहरु यति फराकिला छन् कि ती मानिसका दैनिकीदेखि ब्रम्हाण्डको रचनासम्मका कुराको चिन्तन बुद्धि–विनोदले गर्दछ । यहाँ विनोदभन्दा पनि ज्ञान चिन्तन र नीतिनिर्देश छ ।
दृष्टिद्वेषले उज्याला सबै कुरालाई अध्याँरो बनाइदिन्छ । हिमलय शृङ्खलालाई पनि कालो देखाउछ, सूर्य, चन्द्र, सागर, महासगर, सबै नै कालो देखाउछ । त्यसैले चित्तशुद्धि संसारलाई सुन्दर बनाउने उपाय हो । मनको दृष्टि सफा भएपछि संसार उज्यालो देखिन्छ । मनलाई उज्यालो बनाएर संसार आफ्नो बनाउने आग्रहमा कविशिरोमाणि छन्:
‘सँधै हू उज्यालो, सँधै हू हसिलो
सबैको म हुँ मित्र जस्तै रसिलो
क्सैलाई काँही नपारुँ म मर्म
लिऊँ नित्य लोकोपकारी सुधर्म । (म कस्तो छु, लालित्य, पृ ५१)
कविको धारणा छ संसारको सिर्जना नै सुन्दर हो । जीवन एउटा अवसर हो । स्वच्छ मन लिँदा जीवन सुन्दरमय छ । मन मैलो छ त त्यसैको सापेक्ष्यमा संसार मैलो छ । कविको नीति शिक्षाको अभिष्ट आत्मशुद्धि, दृष्टि शुद्धि र सकारात्मक सोच हो ।
संवादलाई मुख्य विषय बनाइ लेखिएको ‘सत्य–कलि संवाद’ नैतिक शिक्षाको उपल्लो नमूना हो । सत्य र कलि आआफ्नो समयको विशेषता बताउँदै समाजलाई नीति शिक्षा दिइरहेका छन् ।
सत्य युग आदर्श र आत्मीय समाजको रुपमा चित्रित छ, जहाँ पृथ्वीलाई सबैको बक्षस्थल मानिन्थ्यो । देशी–विदेशी, कालो–गोरो, यो जात–त्यो जात, नर–नारीको भेदभाव थिएन । जीवनको एकमात्र लक्ष्य निर्वाण पद थियो । ऋषिहरु वर पिप्पलको वृक्षमुनि बसेर वेदानुकूल दर्शनको प्रचार हुन्थ्यो । सत्य युग सत्य वा आदर्शको पर्याय थियो । जव कलियुग आयो, भेदभाव बढ्दै गयो । सारा भूमण्डल वर्ग, सम्प्रदाय र कलङ्कमा विभाजित हुनथाल्यो । आफ्नो जीवनको लागि बल, पौरुष, प्रतिभा, समय खर्च गर्न थालियो । ऋषि हुनुपर्ने वैज्ञानिकहरु भौतिक आविस्कारमा सन्नद्ध भए ।
कलि भन्छ: लाखौथरी चलिरहेछन् धर्म पन्था
गामैपिछे दिनदिनै बढ्दो छ कन्था
लाखौ चुलापनि ठुला हरएक जात
को मेलमा अघिसरोस विवेकसाथ (सत्य–कलि संवाद, श्लोक, ७१)
सत्य भन्छ: त्यस्तो भयङ्कर जहाँ बढ्दो छु फुट
लक्ष्मी रहन्थिन कहाँ कसरी अटूट
हा ! अन्ध ! भारत ! बढ्दो छ कुबुद्धि जहाँ
यो बातले मकन भो हुनसम्म बाधा । (सत्य–कलि संवाद, श्लोक ७९)
यो संवादकाव्यमा सत्य र कलि दुई पात्रको माध्यमबाट भारत बर्षको इतिहास, संस्कृति, रहनसहन, बढ्दो अशान्ति र विग्रदो सामाजिक सद्भावको चित्रण गरिएको छ । दाजु सत्य भाइ कलिलाई सत्य र ज्ञानको उपदेश दिन्छ, भाइ कलि आफ्नो कालको चित्रण गर्दै दाजुको बचन पूरा गर्ने आशय राख्छ । आचार्य प्लेटोले ज्ञान निर्माणका आधार संवाद हो भन्ने निष्कर्ष आफूले स्थापना गरेको एकेडेमीमार्फत गरेका थिए, कविशिरोमणि लेखनाथ पौड्यालले पनि संवादकाव्यलाई त्यही रुपमा लिएको हुनसक्छ । पूर्वीय दर्शनबाट प्रभावित पौड्याल वैदिक–उत्तरवैदिक कालका वशिष्ठ–अरुन्धती, अगत्स्य, वाल्मीकिहरुका गुरुकुल/ऋषि आश्रमका ज्ञान परम्पराबाट प्रभावित छन् । संवादकाव्यले कलिमा सामाजिक सम्बन्ध, शक्ति संरचना, पारिवारिक परम्परा, धर्मसंस्कृतिमा विकासमा आएको ¥हास देखाउदै सत्य आचरण स्थापनामा आग्रह गरिएको छ ।
कविशिरोमणिको अर्को विशिष्ठ पक्ष लालित्यतर्फ विचार गरौ । विचारशील मीठा अभिव्यक्ति कविता भन्ने पौड्याल कवितालाई मीठो, विचरशील, शिल्पपूर्ण बनाउन चुक्दैनन् । यसो गर्न उनीसँग विशिष्ठ सामथ्र्य र साधाना छ । संस्कृत परम्पराको अभ्यस्तता र पूर्वीय दर्शनको अभिमुखीकरणबाट विचार र लालित्यलाई समागम गर्र्नेे सामथ्र्य विकास भएको छ । परिस्कारपूर्ण शब्द शिल्प, लालित्य, मिठास प्रस्तुति र अभिव्यक्ति सरलतालाई कविशिरोमणिले आफ्ना कविताशिक्षालाई पाठकसमक्ष सजिलै पुर्याउन अपनाएको विधि हो । उनको यो प्रवृत्तिलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले पछ्याउदै शीर्षस्थानमा पनि पुर्याए। पौड्यालका सबै कविता कुशल कारिगरीबाट कुँदिएका मूर्ति जस्ता सुन्दर छन् । शब्द लालित्यका कारण उनका कविताश्लोकले बोक्ने विचार सम्प्रेषण सहज पारेको छ । यसै कारण उनका नैतिक उपदेश भएका कविताश्लोकहरु मेला, विवाह र सामाजिक कार्यहरुमा समेत गाइनेगरी जनस्तरमा पुगेका छन् । प्रत्येक श्लोकले मनलाई छुन्छ र विचार मष्तिष्कसम्म सञ्चार हुन्छन् । सत्य–कलि संवाद, बुद्धि विनोद, तरुण तपसी र सत्य सन्देशका सन्देशहरु प्रस्तुति माधुर्यले बोधगम्य छन् ।
शास्त्रीय सन्धानमा रहेर सरल शब्द बुनौट र संरचना विन्यासले लेखनाथ लालित्यका कवि बनेका छन् । तरुण तपसीले बताएको प्रतीकीय अभिव्यक्ति शब्द लालित्य र प्रस्तुति सरलताले सबै वर्गका कविता छन् । कविहरु, साहित्य स्रष्टाहरु अलि जटिल र बौद्धिक हुने परम्पराले उनीहरु जटिल बन्दछन् र सबैका बन्दैनन्, यस सन्दर्भमा शास्त्रीय छन्दपरम्परामा सरल र लालित्यपूर्ण प्रयोग उतिबेला क्रान्तिकारी कार्य थियो । त्यो क्रान्तिकारिता कवितालाई सर्वसाधारणको मन, भनौ जनजीवनसम्म पुर्याउन, उनैले भने जसरी विचारशील मीठा अभिव्यक्ति बनाउन गरिएका शिल्पसन्धान थिए । त्यसैले तरुण तपसी बृक्ष चौतारोलाई प्रतीक बनाएर संसारको दृष्टि देखाउन भयो । सरल र मीठासको यौगिक नभएको थियो भने कविता सम्भव भएपनि कवि कलाजयी हुने थिएनन् । पाठकको मनमा बसेर नै कविहरु आफ्नो र आफ्ना कविताको महत्तासिद्ध गर्दछन् । त्यसैले पिंजराको सुगाले सबैको मनमा घर बनायो । सत्य सन्देश ज्ञानको बाणी बन्यो, बुद्धि विनोद विचारको स्तम्भ बन्यो, ऋतुविचार प्रकृतिको आराधना बन्यो ।
‘न ता शङ्का, सुर्ता भय, विरह व्यथा छ उनमा
न निन्दा, विद्वेष प्रभृत्ति अरु दुर्दोस मनमा
न देखियो कहीँ कटु बचनले दूषित गाथा
अहा कस्तो राम्रो अमृतमय त्यो जीवनकथा ।’ (तरुण तपसी, ३३)
कविशिरोमणिका छन्दमय कविता विचार अभिव्यक्तिका सुन्दर संरचनामा छन् । छन्द र शास्त्रीय विधानले भावाभिब्यक्तिलाई छेकेको होइन, सघाएको छ । छदले कवितालाई गेयात्मक, लयात्मक र तालबद्ध गरेको छ, शब्दले सरल र दुवैको यौगिकताले लालित्यमय बनाएको छ । उनका समयमा अर्का महान स्रष्टा बालकृष्ण सम लेखनाथका पदपद सङ्गीतमय देख्छन् । उनीभन्दा अगाडिका नेपाली भाषामा लेख्ने कविहरुमा भानुभक्तको शैली सरल र मीठो छ तर लेखनाथको स्पर्शले नेपाली साहित्यमा युग परिवर्तन भयो, त्यो संस्कृत जत्तिकै उच्च संस्कृत बन्यो । तरुण तपसीका श्लोकहरुमा लेखनाथको अन्र्तमन पनि प्रकृतिमय र कलापूर्ण अनि स्नीग्ध छ । ती उनको मन भएर अभिव्यञ्जन भएका छन् । तरुण तपसी लेखनाथको ऋषिमनको उदात्तीकरण हो । श्लोकहरुमा लेखनाथका बोली हुन कि वृक्षका भन्न सकिदैन । किनकी कविता र कवि एकै भएका छन् । कवितामा कवि छन्, कविमा कविता भएर ओर्लिएका छन्, कविता कवि भएको छ । वृक्ष कवि पनि हो, कविता पनि हो, जीवन र संसारको प्रतीक पनि हो । उनको पात्र (प्रतीक) वृक्ष र अनि एकाकार छन्, जसरी मायावनीमा जयशंकर, मुनादमनमा देवकोटा र गीताञ्जलीमा रविन्दनाथ छन् ।
‘ठूला साना प्राणी चुतुर विधिका सन्तति सब
सबैको साझा हो प्रकृति गुणको भोग्य–विभाव
सबै हासून् खेलून् सरल रसिलो जीवन धरी
धरालाई पारी प्रणय–रसले देव नगरी ।’ (तरुण तपसी, द्वितीय विश्राम, श्लोक छ)
नेपाली वाङ्मयका महान स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटा कविशिरोमणिलाई साहित्यका आदर्श र गुरु, शब्दका जादूगर, सच्चा कवि आध्यात्मिक साधक भएकाले कविशिरोमणिका सच्चा हकदार भनी उच्च प्रशंसा गर्दछन् ।
तरुण तपसीलाई कालिदासको मेघदूत र अङ्ग्रेजी एलिजीसँग तुलना गर्ने बालकृष्ण सम भन्दछन्–तरुण तपसीले एउटा वृक्षको रुदनलाई मात्र बुझेको छैन, उसले समस्त मानव जातिको आस्था, अहङ्कार, भावना, प्रेम र दौर्बल्य, उच्चता र नीचतालाई समातेर दर्शन गराएो छ । त्यति मात्र होइन भविष्यलाई समेत औल्याएर आधुनिक उच्छृखलातालई सावधान हुन सन्देश दिएको छ । त्यो पनि कति सुन्दर कलामा । तरुण तपसीको वृक्ष जिउदो महात्मा हो । यसले संसारको एउटा विम्ब, युगको सिंगो चित्र, उतारेको छ । त्यो पनि लालित्यमा । त्यो कलामाय वृक्ष वर्णनमा रहेर हामी संसारको यात्रा गर्नसक्छौ, बुझ्न र विचरण गर्न सक्छौ । तरुण तपसीले वृक्षलाई महात्मा बनाएर कवि आफै ऋषि तुल्य बनेको विद्वानहरुबो भनाइ एकदमै स्वाभाविक लाग्छ । तरुण तपसी, ऋतु विचार जस्ता कविताबाट कवि प्रकृतिलाई जीवनर जीवनलाई कविता बनाउने शास्त्रीय काव्य संरचनामा बेजोड देखिएका छन्, कालिदास जस्तै ।
लेखनाथीय प्रवृत्ति समस्त प्राणीमा करुणमा छ । मानवीय प्रवृत्ति समस्त प्राणीप्रति समेत उदार र मानवीय रहनु पर्दछ भन्नेमा छ । ‘पिंजराको सुगा’ मा पिंजरामा बन्द सुगाको आलापलाई आफूबोधमा समेटेर सुगाको हृदयविदारक विलौना कवितामा कुँदेका छन् ।
‘फलफूल खाइ नित्य रमाई
वनमा फिर्ने विचरालाई ।
विधिले पार्यो पिंजराभित्र
कर्म हरे ! चित्र ! हुन्छ विचित्त । (५)
कति फिरदो हूँ कति उड्दो हूँ
कति कति देशान्तर डुल्दो हूँ ।
दैव ! हेर ! किन वालकलाई
बन्धन पायो ब्यर्थ भुलाइ ।’ (पिंजराको सुगा, ६)
कवि फेरि सुगा भएको आफू पिंजराबाट मुक्त भएको महशुस गर्दछन् र उन्मुक्त भावनालाई पोख्न पुग्छन्:
‘हाय म हूँ त्यही द्विज शुकनामा
बन्द थिएँ जो उस पिंजरामा ।
विधिले अहिले उम्के बल्ल
किन्तु परेको छु अस्रल्ल ।’ (पिजराबाट छुटेको सुगा, १)
कविले प्रत्यक्षतः सुगाको कहानी बताएका छन्, मानव व्यवहारबाट सिर्जित भएको कहानी र मुक्त भएपछि उन्मुक्तता सहितको अस्रल्लता । प्रतीकीय अर्थमा सुगाको विम्बमा एउटा थुनिएको सिंगो समाज र त्यहाभित्रको मानव अवस्थालाई बताएका छन् । जसरी बताए पनि कवितामा जीवन र समाज छ, त्यसलाई बताउने लालित्य र कला छ । त्यसैले पाठक मनलाई स्पर्श गर्न सामथ्र्य छ ।
बालकृष्ण समले भने झै कविशिरोमणिले ढुङ्गा, मूढा, रुख, पात, डोको नाम्लो जे छोए पनि कविता हुन्छ । उनमा भएको जादूमयी लालित्य शक्तिले त्यो कवित्व दिएको छ । जे विषयमा कविता बुनेपनि केन्द्रीय भाव भने एकै छ, त्यो हो मानवीय मूल्य, नीति शिक्षा र आत्मिक शुद्धिको चिन्तन् । त्यसैले उनले नीतिशिक्षा र लालित्यमय प्रस्तुति शैलीलाई शुरु गरी त्यसैलाई नेतत्व दिई शीर्षमा पुर्याए। तरुण तपसी, सत्य–कलि संवाद, ऋतुविचार, बुद्धि विनोद, पिंजराको सुगा सबै कविता यसका जीवन्त साछी छन् । उनले मन पराएका कविहरु कालिीदास, लक्ष्मीप्रसाद देवकोटा, माधप्रसाद घिमिरे र मैथिली शरण गुप्ता यसै कारण उनले मन पराएका हुन् कि उनीहरुका सिर्जनामा अध्यात्मिक चिन्तन, प्रकृतिसम्मत मानव, बैचारिक स्पष्टता, कुसाग्र शब्दसंयोजन र मानव अन्तरमनलाई सहज रुपमा अभिव्यक्त छ ।
नेपाली कविताको माध्यमिक काल र आधुनिक कालका सेतु लेखनाथ पौड्यालका कविता दृष्टि माध्यमिक काललाई मात्र प्रतिनिधित्व गर्दैनन् । तिनले आधुनिक समाज, आधुनिक चिन्तनवृत्ति र आधुनिक कवितावृत्तिलाई प्रतिनिधित्व गरिरहेका छन् । शास्त्रीयता, शिष्टता र परिस्कारवाद उनको कवित्वको विशषता हो भने विचारगत विशेष्ता चाँही अध्यात्मचिन्तन, प्रकृति चित्रण र नीति शिक्षा । धेरैले भने जसरी उनी नेपाली कविता विधाका अभिभावकीय व्यक्ति हुन्, ऋषि व्यक्तित्व हुन् । आधुनिक चेतना र राष्ट्रिय भावनाका शीर्ष प्रयोक्ता हुन् । उनका कवितामा कही नछुट्ने विषय लालित्य माधुर्यता र नीति शिक्षा हो । त्यसैले कविशिरोमणि लालित्य र नीतिका पनि शिरोमणि हुन् ।
मैनाली निवास, क्षितिज मार्ग
शङ्मूल ।