‘मानिसको जीवन चेस खेल सरह हो, विजय प्राप्तिका लागि रणनीतिक सोच सहितको चाल चल्नैपर्छ । त्यसैले जीवनलाई चेसम्याच पनि भनिन्छ ।’ चेसका सम्बन्धमा यो प्रचलित भनाइ हो । नेपालीमा बुद्धिचाल भनिने चेसमार्फत जीवनका विभिन्न कठिनाईहरुको सामना कसरी गर्ने, रणनीतिक सोच कसरी विकास गर्ने, बुद्धिमतापूर्ण निर्णयमा कसरी पुग्ने, धैय र आत्मसंयम कसरी अपनाउने अनि यी सबै विकास गरी सफलताको स्वाद कसरी चाख्ने भन्ने कला विकास हुन्छ । रस बस्दै जाँदा पारंगत भइन्छ । त्यसैले यो तीक्ष्णता अभिवृद्धि गर्ने खेलसँग मुलुकको सहकारी अभियानको पनि स्वाद बस्दैछ ।
सोही कारण मुलुकको सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघ नेपालले बैशाख २५ र २६ गते ललितपुरमा ‘दोस्रो ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता’ आयोजना गर्दैछ । संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
तयारी अन्तिम चरणमा
प्रतियोगिताको तयारी जोडतोडका साथ चलिरहेको नेपाल बुद्धिचाल महासंघका प्रवक्ता एवम् सहकारीकर्मी राजु ताम्राकारले धिप्री डटकमलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘आजसम्म १ सय जनाको नाम दर्ता भैसकेको छ । हामीले १ सय ५० जनाको टार्गेट राखेका छौं । समयसीमा भित्र त्यो संख्या पुग्ने विश्वास गरेका छौं । अन्य प्राविधिक र व्यवस्थापकीय कामहरु पनि भैरहको छ ।’
प्रतियोगितामा नेशनल च्याम्पियन रुपेश जैसवाल, महिला च्याम्पियन सिन्दीरा जोशी, नेशनल बी च्याम्पियन विनीता कपालीसँगै ८ टप महिला खेलाडीहरु सहभागी हुने पक्का भैसकको र छिमेकी भारतबाट पनि ५ जना खेलाडीहरु आउने ताम्राकारले उल्लेख गर्नुभयो । उहाँले ७७ वटै जिल्लाको सहभागिता रहने दाबी गर्नुभयो ।
अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा खुल्ला प्रतियोगिता भएका कारण स्वदेशी मात्र नभई विदेशीहरुका लागि सहभागिताको अवसर प्रदान गरिएको उहाँले बताउनुभयो । नेपालका प्रायः सबै राष्ट्रिय खेलाडीहरु र सहकारी, विमा लगायतका क्षेत्रबाट पनि सहभागिता रहने कार्यक्रम अत्यन्तै रोचक हुने विश्वास महासंघले लिएको छ । बिहान १० बजेदेखि शुरु हुने खेल बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको समापनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी प्रमुख अतिथि रहनुहुनेछ भने उद्घाटन राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले गर्नुहुने महासंघले जनाएको छ ।
के हो र्यापिड फिडे ?
छैटौँ शताब्दीमा भारतबाट सुरु चेस नेपालमा पनि लोकप्रिय छ । यसलाई हिन्दीमा शतरञ्ज भन्छन् । खेलाडीले बुद्धि लगाएर खेलिने यो खेल संसारभर प्रख्यात छ । चेस प्रतियोगिताका ३ वटा विधामध्ये र्यापिड फिडेलाई क्रिकेटको वन डे जस्तो मानिन्छ ।
अन्य दुई विधाहरुमा ३ मिनेटको ब्लिट्ज र ६० मिनेटको क्लासिकल भन्ने हुन्छ भने र्यापिड फिडे १५ मिनेटको हुन्छ । यो समयसिमा भनेको सामान्यता एक चाल चल्नको लागि उपलब्ध हुने समय हो । तीन विधामध्ये क्लासिकललाई पुरानो शैलीको खेल मानिन्छ जुन एउटा खेल साधारणतया १० घन्टामा सकिसक्नुपर्ने हुन्छ । अर्कोतर्फ र्यापिडमा भने क्लासिकल भन्दा कम समय उपलब्ध हुन्छ । र्यापिड फिडे करिब १ घन्टामा सकिन्छ । मध्यम गतिमा खेलिने र्यापिड खेलको लागि हरेक खेलाडीले १५ मिनेट पाउने छ भने प्रत्येक चालमा १० सेकेण्ड थपिनेछ।
९ चरणमा हुने प्रतियोगितामा समान अंक जोड्नेहरुबीच स्पर्धा अघि बढ्ने र अन्त्यमा सबैभन्दा बढी अंक जोड्ने व्यक्ति नै विजयी हुने गर्दछन् । सहभागी सबैजनालाई एकैपटक खेलाइने यो खेल स्विस म्यानेजमेन्ट सफ्टवेयरबाट सञ्चालन गरिने ताम्राकारले बताउनुभयो ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को लेखा सुपरिवेक्षण समितिका पूर्व संयोजक समेत रहनुभएका ताम्राकार भन्नुहुन्छ, ‘चेस खेललाई दिमागको जिम्न्यास्टिक भनिन्छ । यसलाई आर्ट अफ अन्यालिसिस पनि भनिन्छ । चेस लघु जीवन हो । त्यही लघु जीवन बोधको अवसर पनि हो यो प्रतियोगिता ।’ सहकारीकर्मीहरुमा पनि यो बौद्धिक खेलप्रति रुचि बढ्दै गएको बताउनुभयो ।
२ वर्ष अघि पहिलो संस्करणको सफलताबाट उत्साहित भएर यो दोस्रो संस्करण आयोजना गरिएको हो । प्रवक्ता ताम्राकारले भन्नुभयो, ‘हामी यो प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तर गर्दै लानेछौं । सहकारी अभियानसँगको साथले पनि हामी खुसी छौं ।’
२०८० सालको जेठ १५ गते सम्पन्न भएको पहिलो संस्करणमा काठमाडौंका युवा खेलाडी सुदीप तामाङ विजयी भएका थिए । उक्त संस्करणमा १११ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगिताको मुख्य प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स रहेको छ ।
पुरस्कार राशिमा वृद्धि
यस पटक प्रतियोगिताको पुरस्कार राशिमा पनि उल्लेखनीय वृद्धि गरिएको ताम्राकारले जानकारी गराउनुभयो । प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै, विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् ।
त्यस्तै, दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र ७ लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन् । तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्ष अवधिको जीवन बीमा पाउनेछन् ।
प्रतियोगितामा समग्रमा उत्कृष्ट १० खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । साथै, उत्कृष्ट क्रमशः तीन महिला खेलाडीले समेत नगर पुरस्कार प्राप्त गर्ने छन् । पहिलो हुनेले ७ हजार, दोस्रोले ६हजार र तेस्रो हुने महलि ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट अनरेटेड (रेटिङ नभएका खेलाडी), उत्कृष्ट यु–१६ (१६ वर्षमुनी), यु–१८ (१८ वर्षमुनी) खेलाडीहरू, उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट विमा खेलाडीलगायतलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
'बुद्धिको खेलमार्फत सहकार्य र नेतृत्वको प्रवर्द्धन' को यो प्रयासमा हातेमालो गर्न महासंघले सबै सहकारीकर्मीहरुलाई आग्रह गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com