काठमाडौं । पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. आज अर्थात् २०८२ जेठ ८ गतेबाट २४ औं वर्षमा प्रवेश गरेको छ । २८ जनाको संलग्नतामा ७ लाख पुँजी संकलन गरी २०५९ साल जेठ ८ गते विधिवत दर्ता भएको पोखरा रोयलले यो लामो यात्रामा साथ दिने सदस्यहरु तथा शुभचिन्तकहरुप्रति २३औं स्थापना दिवसका अवसरमा कृतज्ञता व्यक्त गरेको छ । साकोसका तर्फबाट अध्यक्ष रुद्र कुमारी गुरुङ (मैना) तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) भीम बहादुर गुरुङले स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको हो ।
स्थापना दिवसको केही दिन अघि साकोसले सार्वजनिक गरेको २०८२ बैशाख मसान्तको वित्तीय विवरणअनुसार हाल संस्थामा १० हजार २ सय १८ जना सदस्य छन् । संस्थाको कुल सम्पत्ति २ अर्ब ५८ करोड बढी छ । १५ करोड ३० लाख बढी शेयर पुँजी रहेको साकोससँग २१ करोड ३० लाख बढी स्वपुँजी अर्थात् संस्थागत पुँजी छ । २ अर्ब ५९ लाख बढी बचत रहेको साकोसले १ अर्ब ६८ करोड बढी ऋण लगानी गरेको छ । तरलता ३८.७२ प्रतिशत छ ।
साकोसका सिईओ गुरुङ अबको ध्यान भनेको सदस्यहरुलाई उत्पादनमा जोड्ने, आय आर्जनका बहुविकल्पहरु उपलब्ध गराउने, उद्यमशीलताका प्रयासहरुमार्फत क्रियाशीलता र रोजगारीका अवसरहरु सृजना गराउने र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने तर्फ सकेसम्म योगदान गर्ने रहेको बताउनुहुन्छ । त्यसकै लागि व्यवसाय विकास सेवा डेस्क (बीडीएस डेस्क) स्थापना गरिएको उहाँले जानकारी गराउनुभयो ।
प्रविधिप्रेमी पोखरा रोयल
अवस्थिति, सदस्यहरुको रुचि र संस्थाको निरन्तरको प्रयासका कारण पोखरा रोयल सहकारी प्रविधि प्रेमी सहकारीको रुपमा परिचित बनेको छ । साकोसले आफ्नो सेवालाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउने अभियानमा अघि बढेको छ ।
संस्थाको कारोबारलाई सुरक्षित, प्रविधिमैत्री र समयानुकूल बनाउन कोर बैंकिङ प्रविधिलाई अवलम्बन गरिएको छ । तथ्याङ्कहरुलाई क्लाउड प्रविधिमार्फत सुरक्षित गरिएको छ । सदस्यहरुका लागि कनेक्ट आईपीएस, ट्याब्लेट बैंकिङ सुविधासमेत उपलब्ध छ । रोयल स्मार्ट बैंकिङ सेवामार्फत बचत रकमको जानकारी, स्टेटमेन्ट, मोबाइल टपअप, बिल भुक्तानी, ट्रान्सफर, एटीएम र क्यूआर सेवा उपलब्ध गराइएको छ ।
सीईओ गुरुङका अनुसार हाल करिब २ हजार जनाले एटीएम सेवा, १ हजार ६९८ जनाले मोबाइल बैंकिङ, ३३३ जनाले एसएमएस सेवा र १५१ जनाले क्यूआर कोड प्रविधि प्रयोग गरिरहेका छन् । त्यसरी नै १ हजार २६० सदस्यले स्मार्ट परिचयपत्र बनाएका छन् ।
सहकारीलाई प्रविधिमैत्री बनाउनै पर्छ, सदस्यहरुलाई प्रविधि साक्षर बनाउनै पर्छ र सहज, सुरक्षित अनि प्रतिस्पर्धी सेवा उपलब्ध गराउनै पर्छ भन्ने व्यवस्थापकीय अठोटसहितको रणनीतिलाई विधिसम्मत् ढंगले सञ्चालकीय अनुमति प्राप्त भएकै कारण त्यो सम्भव भएको सिईओ गुरुङ बताउनुहुन्छ ।
सप्तरंगी सेवाहरु
नाफाभन्दा सेवामा समर्पित गर्ने अठोटका साथ अघि बढेको छ पोखरा रोयल साकोस । सदस्यको जीवनचक्रका सबै महत्वपूर्ण अवसर र घटना (सुख होस् वा दुःख) मा पोखरा रोयलले आफूलाई जोड्दै लगेको छ । यही नै सहकारीले आफ्ना सदस्यलाई गर्ने सेवा भएको सीईओ गुरुङ बताउनुहुन्छ ।
'जन्मदेखि मृत्युसम्म' सदस्यको सहारा बनेको पोखरा रोयलले सदस्यहरुलाई शिशुस्याहार राहत, स्वास्थ्योपचार, पेन्सनदेखि किरिया खर्चसम्म उपलब्ध गराउँदै आएकोमा सिईओ गुरुङ गर्वानुभूति गर्नुहुन्छ । रोयल फाउन्डेसन नामक छुट्टै सहयोगी संस्थामार्फत पनि सहकारी सामाजिक उत्तरदायित्वका गतिविधिहरु सञ्चालनमा छन् । रोयल फाउन्डेसनमार्फत साकोसले प्रतिसदस्य १० हजारका दरले मृत्यु राहत र ३ हजारका दरले सुत्केरी स्याहार रकम उपलब्ध गराउँदै आएको छ । सहकारीले सदस्यहरूको दुर्घटना बीमासमेत गरेको छ ।
पोखरा रोयल सहकारीले पेन्सनसमेत दिने गरेको छ । रोयल फाउन्डेसनमार्फत ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यहरूलाई वार्षिक रुपमा जनही ५ हजारका दरले पेन्सन उपलध गराउँदै आएको जनाएको छ ।
हाल पोखरा रोयल साकोससँग रोयल बचत, मासिक नियमित, लाभांश, नारी, ज्येष्ठ नागरिक, छुनुमुनु, संस्थागत, भ्रमण, बीमा, रेमिट्यान्स, आवधिक र मुद्दती बचत लगायत दर्जन बढी प्रकारका बचत खाता सञ्चालनमा छन् भने साकोसले व्यापार÷व्यवसाय, घर÷जग्गा, आवास/घर, औद्योगिक, शैक्षिक, कृषि, सवारीलगायत १० शीर्षकमा ऋण प्रवाह गर्दै आएको छ ।
नाफा भन्दा सेवामा जोड
पोखरा रोयल साकोसले सदस्यहरूलाई सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थाहरूसँग सम्झौता गरी सेवा प्रदान गर्दै आइरहेको छ । बुद्धचोकमै ग्यालेक्सी हस्पिटल, आविष्कार हस्पिटल अर्थोप्लास्टी एन्ड ट्रमा सेन्टर, न्यूरोडमा युनाइटेड रिफरेन्स ल्याबोरेटरी, लाइफकेयर डाइग्नोस्टिक्स, पद्मश्री हस्पिटल एन्ड एप्लाइड साइन्सेस सेवा दिइरहेको छ । यी संस्थाहरूबाट सेवा लिँदा सहकारीका सदस्यहरूले सहुलियतसमेत पाउँछन् । यसले गर्दा सदस्यहरुलाई सहकारीमार्फत विविध लाभ उपलब्ध भइरहने र संस्थाप्रति समर्पण भाव पैदा गर्ने विश्वास साकोसले लिएको छ
मिसनमा अर्जुनदृष्टि
‘सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना पुरा गर्न मिसनहरुमा आधारित सदस्यमैत्री, प्रविधिमैत्री, विश्वसनीय, सुरक्षित अनि पारदर्शी सेवालाई साकोसले जोड दिएको छ । कुनै न कुनै नयाँ कामहरु गर्ने, मुलुकभरका सहकारीहरुलाई उत्प्रेरित गर्ने र सहकारीको छवि सुधारमा विशेष जोड दिदैं आएको पोखरा रोयलले मिसन १०० नामक अभियान सञ्चालन गर्यो जसले सबैको ध्यानाकृष्ट पनि भयो ।
खासगरी कोभिड-१९ को समयमा सुरु गरेको यो अभियान साकोसको रणनीतिक मार्गचित्रको मुख्य हिस्सा नै बनेको छ । तरलता व्यवस्थापनका लागि संस्थाले मिसन १०० अभियानमार्फत बचत र तरलता वृद्धि गरेको थियो भने सुरक्षित र भरपर्दो लगानीका लागि पनि अभियान सञ्चालन गरेको थियो । यस्तै, सदस्य वृद्धि, सामाजिक उत्तरदायित्वमा प्रभावकारी भूमिका र छवि निर्माणका लागि सय दिने मिसनका विविध गतिविधिहरुले बिस्तारै प्रतिफल दिन थालेको सिईओ गुरुङले बताउनुभयो ।
सीईओ गुरुङका अनुसार बचत निक्षेपमा कम्तीमा १० प्रतिशतले वृद्धि गरिने यस सहकारीको योजना रहेको छ । अनिवार्य बचतको रकममा पनि वृद्धि गरिने योजना बनाएको छ । कुल ऋण लगानी कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने तयारी छ । ऋणको सदुपयोगिता जाँच गरिने र उत्पादनमूलक, आयमूलक र कृषि क्षेत्रमा ऋण लगानी केन्द्रित गरिने सहकारीको योजना रहेको सिईओ गुरुङले बताउनुभयो ।
सहकारी अवधारणामा रेस्टुराँ
यस्तै, पोखरा महानगरपालिका– १० को बुद्ध चोकमा साकोसकै महिला सदस्यहरुको सक्रियता र संलग्नतामा रोयल दिदीबहिनी किचन सञ्चालनमा छ । उक्त किचनमा ९९ जना महिलाको जनही २ लाख लगानी छ । सहकारीको अवधारणाबाट सञ्चालित रेस्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ ।
यीनै कामहरु गरेका कारण संस्थाको कारोबार मात्र होइन प्रतिष्ठा पनि बढेको आम सदस्यहरुको बुझाइ छ । संस्थाले विभिन्न समयमा उत्कृष्ट व्यवस्थापकदेखि सर्वाधिक कर तिर्नेमा समेत सम्मानित हुँदै आएको छ । पछिल्लो पटक पनि नेफ्स्कूनद्वारा घोषणा गरिएको नेपालको साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको समेत सिईओ गुरुङले प्राप्त गर्नुभएको थियो ।
अर्कोतर्फ, साकोसले सदस्य र कर्मचारीहरुलाई विभिन्न सम्मान तथा पुरस्कारमार्फत उत्प्रेरित गर्दै आएको छ । सदस्य, बाल बचतकर्ता, सेवा केन्द्र, बचत समूहको केन्द्रहरू र कर्मचारीलाई कारोबार तथा कार्य सम्पादनको आधारमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ भने प्रत्येक महिना उत्कृष्ट सदस्य घोषणा गरी सम्मान गर्दै आएको छ । यस्तै, कर्मचारीहरूमा पठन संस्कृति विकास गराउन पुस्तकालयमा अध्ययन अनुसन्धानको संस्कृति पनि बसेको सिईओ गुरुङ बताउनुहुन्छ ।
सहकारी अवलोकनको केन्द्र
पोखरा पुग्ने जोकोही सहकारीकर्मीको पहिलो रोजाइ पोखरा रोयल साकोस बन्ने गरेको छ । यति मात्र होइन, काठमाडौं बाहिर राम्र्रोसँग चलेका सहकारीहरुको अध्ययन अवलोकन गर्ने जोकोहीको रोजाइमा पनि पोखरा रोयल साकोस अनिवार्य पर्दछ । यो साकोसले बनाएको छवि भएको संस्थाका सूचना अधिकारी मिलन ढकाल बताउनुहुन्छ ।
साकोसले बेलायत, मलेसिया लगायतका मुलुकमा पनि कसिलो सहकारी सम्बन्ध बिस्तार गरेको छ ।

यस्तै, काठमाडौंको चन्द्रागिरि साकोससँग भगिनी सम्बन्ध स्थापित गरेको र यसमार्फत धेरै सिकाइ अनुभव, ज्ञान र सीप आदानप्रदान भएको सूचना अधिकारी ढकालले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्ताहरु अन्य सहकारीहरुका लागि पनि अनुकरणीय र उदाहरणीय बनेको छ । यस्ता सहकार्यले पोखरा रोयल सहकारीलाई देश भित्र र देश बाहिर प्रतिष्ठित बनाएको छ भने सदस्यहरुमा गौरवको अनुभूति भएको छ । यसले हामीलाई अझै बढी जिम्मेवारीबोध गराएको छ । हामी आगामी दिनमा यस्ता सम्बन्धहरुलाई मलजल गर्दै लाने छौं ।’
बलियो बिरासत
नेपाल सरकारको उदार अर्थनीतिलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त, मूल्य मान्यता र आदर्श बमोजिम स्थानीय नेपाली नागरिकहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकता परिपूर्ति गर्दै राष्ट्र निर्माणमा टेवा पुर्याउन २०५५ साल वैशाख ९ गते नेपालभर कार्यक्षेत्र रहने गरी रोयल सहकारी संस्थाको रुपमा काठमाण्डौको अनामनगरमा स्थापना भई २०५५ साल चैत्र १८ गते पोखरामा क्षेत्रीय कार्यालयको रुपमा स्थापना भएको सहकारी संस्था सञ्चालनकै क्रममा क्षेत्रीय एवं शाखा कार्यालयहरुलाई स्थानीयकरण गरी स्वायत्त संस्थाको रुपमा दर्ता गर्नुपर्ने भन्ने सरकारी नीतिका कारण तत्कालिन संस्थाको चौथो वार्षिक साधारण सभाको निर्णय बमोजिम सबै शाखा कार्यालयहरुलाई स्थानीयकरण गरी स्वायत्तता प्रदान गर्ने निर्णय भयो ।
सोही बमोजिम पोखरामा रहेको क्षेत्रीय कार्यालयलाई स्थानीय व्यक्तिहरुको सहभागितामा २८ जना सदस्य र ७ लाख पुँजी रहने गरी २०५९ साल जेठ ८ गते पोखरा रोयल सहकारी संस्था लिमिटेडको नामबाट तत्कालिन डिभिजन सहकारी कार्यालय कास्कीमा दर्ता नं. २५०–२०५८÷०५९ बाट विधिवत दर्ता गरिएको हो । संस्था सञ्चालनको क्रममा २०७६ कात्र्तिक २३ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभा बाट पोखरा महानगरपालिका वडा नं. ३० मोहरिया कास्कीमा रहेको शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण सभा पश्चात भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको २०७६ साल मंसिर २४ गतेको निर्णयानुसार दर्ता नं.२५०–२०५८÷०५९ बाट कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाभर कार्यक्षेत्र रहने गरी पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापित भएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com