Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
पापमोचनी–एकादशी

आज पापमोचनी एकादशी, विष्णुको पूजा आराधना गरी मनाइदै

आज पापमोचनी एकादशी, विष्णुको पूजा आराधना गरी मनाइदै

काठमाडौं । आज पापमोचनी एकादशी । जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज यो एकादशीको व्रत गर्ने प्रचलन छ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा आराधना गरी मनाइन्छ ।

यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताउनुभएको थियो । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बस्नुभएको थियो ।

मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाउनुभयो । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाउनुभयो । स्वर्ग जान मेधावी ऋषिलाई बिन्ति गर्न लाग्नुभयो र ऋषि मोहमा पर्दै ‘तिमी आजै आएकी हौँ । अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछि जाउली’ भन्न थाल्नुभयो । ती दुवैको ५५ वर्ष, नौ महिना, तीन दिनसम्म रमण गर्दै बितेछ ।

अप्सराले जान्छु भनेपछि ऋषिले सन्ध्या गरुञ्जेल बस भनेको कथा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । ऋषिले ध्यान गरेर हेर्दा तिनीसँग ५५ वर्ष बितेको र आफ्नो जपतप, तपस्या, आचार, विचार सबै कर्म लुप्त भएको देखेर ‘स तां शशाप मेधावी त्वं पिशाची भवेति च’ अर्थात् तँ पिशाचिनी होइजा भनेर श्राप दिएको प्रसङ्ग ग्रन्थहरुमा छ ।

चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ । त्यस एकादशीको व्रत गर्दा समस्त पाप नाश हुन्छ भनेको सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको व्रत गर्नुभएको थियो । मञ्जुघोषा अप्सराले पनि व्रत गरेर श्रापबाट मुक्त भई स्वर्ग जानुभयो । मेधावी ऋषि पनि फेरि पुण्यवान् हुनुभएको कथा पनि वर्णन गरिएको छ ।

सम्पूर्ण मानवले जानी नजानी गरेका पाप नाश गर्न यो व्रत लिनुपर्ने विधान छ । यसबाट पाप नाश भई यो माहात्म्य श्रवण मात्र गर्नाले पनि एक हजार गाई दान गरेको फलका साथै धेरै पुण्य प्राप्त हुने विश्वास गरिन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार